सडक पुग्याे बरेखानीमा

सडक पुग्याे बरेखानीमा

लोकसंवाद संवाददाता  |  समाज  |  असार २५, २०७७

बागलुङ । सडक नभएका कारण कृषि उपज बिक्रीका लागि समस्या भोग्दै आएको बरेखानीका कृषकलाई राहत भएको छ । बागलुङको गलकोट नगरपालिका–९ बरेखानीमा पहिलोपटक सडकको पहुँच पुग्दा गाउँलेहरु खुशी भएका छन् । गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य हुँदै आएका स्थानीयवासी मोटरबाटो पुगेपछि हर्षित भएका हुन् । 

कृषि उपजका लागि निकै उर्भर मानिएको बरेखानीका कृषकले उत्पादन गर्दै आएको तरकारी बजार पठाउन नसक्दा बारीमै कुहिने अवस्थाको सडक आएसँगै अन्त्य भएको युवा कृषक मित्रलाल गौतमले जानकारी दिनुभयो । भौगोलिकरूपमा गलकोट नगरपालिकाको केन्द्र हटिया बजारबाट धेरै टाढा नभए पनि सानो बस्ती भएका कारण यहाँ हालसम्म सडकको पहुँच पुग्न सकेको थिएन । 

सङ्घीय सांसद देवेन्द्र पौडेलको क्षेत्र विकास कोषको रु १० लाख र गलकोट नगरपालिकाको रु चार लाख ५० हजार लागतमा बरेखानीमा सडक पु¥याइएको हो । भौगोलिक हिसाबले धेरै टाढा नभए पनि हालसम्म सडकको पहँुच पुग्न नसकेको बरेखानीमा बजेट अभावका कारण यसअघि सडक गाउँ नपुग्दै अलपत्र परेको थियो । 'अहिले सडकको ट्र्याक खोल्ने, ग्याविन लगाउने, पाइप राख्ने तथा कच्ची नाली निर्माण गरिएको छ”, मित्रलाल गौतमले भन्नुभयो, “केही थप बजेट भएमा दैलोमै सवारी आउनेछ, कृषि उपजलाई बजार पठाउन सहज हुनेछ ।'

कृषिगाउँका रूपमा परिचित बरेखानी गाउँमा पहिले २० घर थिए । राज्यको उपेक्षा, अभाव र असुविधाका कारण बसाइँसराइ बढ्दै गएपछि अहिले आठ घरमा मात्र मानिस बस्दै आएका छन् । सबैले तरकारी उत्पादन गर्ने भएका कारण यस गाउँलाई तरकारी गाउँका रूपमा समेत चिनिने गरिएको छ । 'गलकोटको अन्य भागमा भन्दा यहाँ धेरै मात्रमा तरकारी उत्पादन गर्न सकिन्छ', अर्का कृषक लीलाम्बर गौतमले भन्नुभयोे, 'बोकेर तरकारी बेच्न नसकिने अवस्था थियो, अब सडक आएको छ, निकै सहज हुनेछ ।'

नगरपालिका भए पनि दुर्गमजस्तो लाग्ने बरेखानीमा विद्यालयसमेत छैन । विसं २०४० मा स्थापना भएको प्राथमिक विद्यालय विद्यार्थीको अभावमा चार वर्ष अगाडि बन्द भएको छ । पैदलयात्रामार्फत गाउँ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समयभन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो आएपछि सडकको पहुँच पुर्‍याउन लामो समय लागे पनि अहिले आएर सफल भएको गलकोट नगरपालिकाले जनाएको छ । बरेखानीका आठ घरपरिवारले अहिले काउली, बन्दा, अदुवा, गाँजर, मुला, गोलभेँडा उत्पादन गर्दै आएका छन् । बरेखानीका प्रत्येक घरमा व्यावसायिक मौरीपालनसमेत गरिँदै आएको छ । 

वर्षेनी सडक पुर्‍याउनका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि भौगोलिक समस्याका कारण सडक विस्तारका लागि हाल ट्र्याक खोल्न सफल भएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । वर्षेनी सडकमा लगानी गर्दासमेत नमिलेको भूबनोटका कारण हालसम्म सडक पुर्‍याउन सकिएको थिएन । अहिले झण्डै एक किलोमिटर नयाँ ट्र्याक तथा ५०० मिटर पुरानो सडक मर्मतपछि गाउँमा सडक पुगेको हो ।