हजार बढी फलफूलका विरुवा वितरण

हजार बढी फलफूलका विरुवा वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  असार २५, २०७७

कैलाली । कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ । “घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण गरेका हौँ”, कृषिशाखाका प्राविधिक टोपबहादुर विष्टले भन्नुभयो, “प्रतिकिसान दुई बोट आँप र एक बोट लिची वितरण गरिएको छ ।”

यहाँका किसानले परम्परागत खेती गर्ने गरेका छन् । किसानलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना गाउँपालिकाको रहेको विष्टको भनाइ छ । “यस वर्ष किसानलाई शतप्रतिशत अनुदानमा ५०० बोट लिची र ६०० बोट आँप वितरण ग¥यौँ”, विष्ट भन्नुहुन्छ, “यहाँका अधिकांशको खेती र बारी छ । रकम दिए किनेर लगाउँदैनन्, बिरुवा दिए अनिवार्य लगाउँछन् भनी विरुवा नै दिएका हौँ ।” गाउँपालिकाले गत वर्ष पनि फलफूलका बिरुवा वितरण गरेको थियो । यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पनि फलफूल खेती विस्तारलाई प्राथमिकता दिएको छ । सिँचाइ आयोजना कृषितर्फको सहयोगमा सञ्चालित फलफूल तथा बगैँचा निर्माणका लागि यस वर्ष ३१ हेक्टरमा थप केराखेती र १० हेक्टर क्षेत्रफलमा फलफूलअन्तर्गत आँप, कागती र लिचीखेती कार्यक्रम सञ्चालन भएको छ ।  आयोजनाले किसानको मागअनुसार बेर्नामा ५० प्रतिशत र उत्पादन बढाउनका लागि सुक्ष्म तत्वमा ७५ प्रतिशत अनुदान सहयोग गरेको छ । आयोजनाले पनि किसानलाई फलफूलमा आत्मनिर्भर बनाउने योजना बनाएको छ । “कैलालीको टीकापुर क्षेत्र केरामा भने आत्मनिर्भर छ । अन्य फलफूल बाहिरी जिल्ला तथा भारतबाट आउने गरेको छ”, किसान अगुवा लालवीर चौधरी भन्नुहुन्छ, “आयोजनाको सहयोगले यहाँका किसानले मेहेनत गरेमा फलफूलमा पनि आत्मनिर्भर बन्न सकिन्छ ।”