बाढीबाट प्रभावितको उद्धारका लागि बाह्रबीसेमा हेलिकप्टर

बाढीबाट प्रभावितको उद्धारका लागि बाह्रबीसेमा हेलिकप्टर

लोकसंवाद संवाददाता  |  समाज  |  असार २५, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौँ लगिने जानकारी उहाँले दिनुभयो । सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।