बन्दाबन्दीले विद्यालय  नखुलेपछि विद्यार्थी अन्योलमा

बन्दाबन्दीले विद्यालय  नखुलेपछि विद्यार्थी अन्योलमा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार २५, २०७७

बनेपा । तेमाल गाउँपालिका–३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि बन्दाबन्दीले विद्यालय बन्द भएपछि नयाँ कक्षामा भर्ना भएर नयाँ किताब लिएपनि विद्यालयमा पुगेर पढ्न नपाएको निखिलको गुनासो छ । घर नजिकैको कालीदेवी प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत निखिलले विद्यालयमा गएर पढ्न मन लागेपनि पढ्न नपाएको बताउनुभयो ।

' भर्ना भएर नयाँ किताब त पाइयो तर विद्यालयमा गएर पढ्न पाइरहेको छैन,' उहाँले भन्नुभयो, 'शिक्षकले त पढ्नु भनेर भन्नुभएको छ, हामीले कसरी पढ्ने रु कहिलेकाही नेपाली, गणित र अङ्ग्रेजीको अलिअलि पढ्ने गरेको छु ।' पढ्न लेख्न त बिर्सेको छैन तर विद्यालय गएर पढ्न मन लागेपनि जान नपाएको उहाँले बताउनुभयो । नयाँ शैक्षिक सत्र शुरु भएर करिब तीन महिना बितिसकेको भए पनि बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि हिजो आज घाँस काट्ने र घरको काममा लागि रहेको उहाँले बताउनुभयो । 

सोही विद्यालयका कक्षा ३ मा अध्ययनरत अर्का विद्यार्थी अमिर दोङको पनि चाहना उस्तै छ । कक्षा कोठामा रमाइलो गरेर पढ्ने मन भए पनि विद्यालय सञ्चालन नभएका कारण घरमा बस्ने र खेलेर समय बिताउने गरेको उहाँले बताउनुभयो । घरमा नै खेल्ने, बस्ने र बेलाबेलामा आमा बुबाले अराएको काम गर्दै आउनुभएको छ । निखिल र अमिर अध्ययन गर्ने विद्यालय बन्द मात्रै छैन, सो विद्यालयमा गाउँपालिकाले भारतलगायत तेस्रो मुलुकबाट गाउँ फर्केकाका लागि क्वारेन्टिन बनाएर राखिएको छ । 

जहाँ उहाँहरुको लागि बस्ने, खाने, आराम गर्ने स्थल बनाएको छ । त्यसको लागि खाना, खाजाको ब्यवस्था गर्ने र सरसफाइ लगायतको काममा खटिने स्वयंसेविकाको बस्ने ठाउँ बनाएको छ ।  विद्यालयमा पढ्न नपाएको मात्रै होईन, मुख्य गेटबाट समेत प्रवेश गर्न पाइदैन । वडा नं। ३ का वडाध्यक्ष विष्णुबहादुर तामाङले अहिले विद्यालयमा भारतबाट फर्किएका एक जना बसिरहेको बताउनुभयो । गाउँपालिकाले हरेक वडामा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेपछि विद्यालयलाई क्वारेन्टिन बनाएको उहाँको भनाइ छ । 

तेमाल गाउँपालिकाभित्र निर्माण गरेको १०५ वेडको क्वारेन्टिनमध्ये सबैजसो विद्यालयको भवन प्रयोग भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले पालिकाभित्रमा स्थापना गरेको ९ स्थानको क्वारेन्टिनमध्ये अधिकांश क्वारेन्टिन विद्यालयमा भएको बताउनुभयो । जनचेतना मावि, सर्वोद्धार मावि, कालीदेवी प्रावि, तेमाल मावि, पोखरी नारायणस्थान मावि, पुरानो स्वास्थ्य चौकी भवन, राधाकृष्ण मावि, नर्सरीडाँडा र तित्रेटारको विद्यालयमा नौ/नौ वेडको क्वारेन्टिन रहेको छ । बाँकी ६ वेडको स्वास्थ्य चौकी भवनमा रहेको छ ।

वडा नं ६ सिंगटीछाप पर्सेलका कालीदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक सार्कीमान तामाङले भने पालिका शिक्षा शाखाले प्रधानाध्यापकको बैठक राखेर वडा शिक्षा समितिले आ–आफ्नो सापेक्षतामा शिक्षासम्बन्धी गर्न सकिने गतिविधिहरु गर्न निर्देशन दिने काम भएको बताउनुभयो । तर कतिपय मावि विद्यालयका शिक्षक पालिका बाहिरका भएको कारण टोलटोलमा शिक्षण गतिविधिहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको शिक्षकको भनाइ छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख केदार ढकालले भने विद्यालयका शिक्षक सक्रिय नै भइरहेको बताउनुभयो । 'हामीले गत शुक्रबार मात्रै प्रधानाध्यापकको बैठक राखेर विद्यालय र विद्यार्थीको  बारेमा जानकारी लिने काम गरेका छौँ', उहाँले भन्नुभयो, 'विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर टोल/टोलमा जम्मा गर्ने र गृहकार्य दिने काम गर्न निर्देशन दिएका छौँ ।' भिड जम्मा नहुने गरी विद्यार्थीलाई निगरानीमा राख्ने र पढाउने अभ्यास गर्न सबै विद्यालयका प्रधानाध्यापकलाई समय/समयमा विद्यालय खोल्न आग्रह गरेको ढकालले बताउनुभयो ।