चिया निकासीमा समस्या

चिया निकासीमा समस्या

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २६, २०७७

इलाम । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने ‘स्वचालित’ ढङ्गले चिया निकासी हुन सकेको छैन ।

चैतको शुरुआतदेखि नै अन्तर्राष्ट्रिय बजारका लागि ठूलो परिमाणमा चियाको माग आउँथ्यो । त्यसपछि उद्योगीले चियाको ‘सिम्बोल’ पठाउँथे र चिया निकासी शुरु हुन्थ्यो । तर, यस वर्ष भने असार मसान्त हुन लाग्दासमेत चिया पठाउन सकस परेको छ । भारतबाट निकासी हुने चियामा समस्या हटे पनि नेपालकै अन्तर्राष्ट्रिय विनास्थलबाट पठाउने  चियामा भने समस्या रहेको चिया उद्योगी शरद सुब्बा बताउनुहुन्छ । 

'हामी चीनलगायत तेस्रो मुलुकमा तयारी चिया पठाउँछौँ । तर, यो वर्ष अन्तर्राष्ट्रिय ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन ।' सुब्बाले भन्नुभयो, 'एक ठाउँमा सिम्बोल पठाए पनि कोरोनाका कारण चिया पठाउन भने सकेको छैन ।' त्यसो त चिया निकासीमा उद्यमीले सधैँ झन्झट खेप्नु नै पर्छ । कहिले भारतले नाका बन्द गर्दा त कहिले अन्तर्राष्ट्रिय बजारबाट माग नआउँदा, चिया निकासीमा समस्या पर्छ । 

यस वर्ष पनि भारतले काँकडभिट्टा नाका केही दिन बन्द गर्दा उद्योगीले समस्या भोग्नु पर्‍याे । अहिले भारतले नाका खोलेको भए पनि अन्तर्राष्ट्रिय बजारबाट माग आएको छैन । भारतको मुख्य बजार नयाँ कलकत्तामै कोरोना सङ्क्रमण बढेपछि अहिले चिया जान रोक लागेको अर्का उद्योगी तथा बिक्रेता गोपाल कट्टेल बताउनुहुन्छ । 'मैले त अस्तीको दिनमात्र यो सालको पहिलो चिया पठाए', कट्टेलले भन्नुभयो । सिजनकै समयमा कोरोना महामारी आइलागेपछि धेरैजसो उद्योगीले चिया पठाउन अझै पनि सकेनन् । चिया निकासी गर्न भन्सारमा समेत धेरै प्रक्रिया पुर्‍याउनु पर्नाले पनि सकस भएको देखिन्छ ।
     
यता, अर्का उद्योगी उदय चापागाईं भने निकासी खुले पनि अन्तर्राष्ट्रिय बजार पुर्‍याउन समस्या पर्ने गरेको बताउनुहुन्छ । 'एकचोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो ।' चापागाईंले थप्नुभयो, 'तर, अहिले अवस्था सामान्य भइसक्यो ।'