रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट

रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार २६, २०७७

 सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने बताउनुभएको छ । लोकवार्ता विज्ञान विभागका विद्यार्थीसँगको आजको भेटघाटमा कार्यक्रममा उपकुलपति प्रा डा सिंहले योग्य, क्षमतावान् र दूरदृष्टि साथ काम गर्नसक्ने व्यक्तित्वबीचको खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गरिने जनाउनुभयो । विश्वविद्यालयको विकास एवं हितमा सहयोग पुर्‍याउने हेतुले दुवै पदका लागि दर्खास्त आह्वान गरिएको उहाँले बताउनुभयो । 'यसरी रजिस्टार र डीन पदमा प्रतिस्पर्धाबाट नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयमा पहिलो घटना हो', उहाँले भन्नुभयो, 'जुन मध्यपश्चिम विश्वविद्यालयले गरेको छ ।'
    
विश्वविद्यालयले आफ्नो वेबसाइटमा आवश्यक मापदण्डसहित रजिस्ट्रार र डीनको दर्खास्त आह्वानको सूचना जारी गरेको छ । उहाँले यसअघि राजनीतिक शक्तिका आधारमा नियुक्ति गरिँदै आएको प्रणालीलाई तोड्दै आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई मात्र छनोट गर्ने बताउनुभयो ।
    
उहाँका अनुसार मप विश्वविद्यालयको पदाधिकारी नियुक्तिका क्रममा आउने जस्तासुकै दबाबसँग जुधेर अगाडि बढ्ने र विश्वविद्यालयको भ्रष्टाचारलाई शून्यमा झार्ने एवं पारदर्शिता कायम गर्नेतर्फ अधिकतम जोड दिइने बताउनुभयो । मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री)बाट हुने र सोही ऐनको दफा २६ बमोजिम डीनको नियुक्ति कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने व्यवस्था छ ।