लकडाउन अवधिमा आत्महत्याको यो रूप : गलत सूचना र अनावश्यक भ्रमले निम्त्याएको महामारी !
असार २६, २०७७

पृथ्वीमा मानिस मात्र नभएर हरेक प्राणीले बाँच्नको लागि संघर्षं गरिरहेको हुन्छ । बाच्ने क्रममा आई पर्ने अनेक दुःख, कष्ट, विपत्तिमा सुरक्षित साथ बाँच्ने प्रयत्न गरिरहेको हुन्छ । सकेसम्म काललाई पनि पछि धकेल्न पाए हुन्थ्यो भन्ने धेरैको सोचाई हुन्छ तर यसै बिचको अर्को तितो सत्य पनि छ,   आत्महत्या !

आजभोलि दिनहुँ जस्तो आइरहने आत्मा हत्याको खबरले धेरै मानिसको मन विचलित गराएको हुनुपर्छ । हुन त आजभोलि मात्र होइन आत्महत्याको इतिहास पनि पुरानो नै हो  । पश्चिमी संसारमा प्राचीन रोम र ग्रिसको उत्पीडनले गर्दा दासहरूले आत्महत्या गर्ने गर्ने भन्ने इतिहासमा पढ्न पाइन्छ । नेपालको इतिहासमा पनि ललितपुरका मल्ल राजा विश्वजित मल्ल र भीमसेन थापाले पनि ६४ वर्षको उमेरमा आफू माथि भएको षडयन्त्र र अमानवीय व्यवहार असह्य भएर आत्महत्याको प्रयास गरी जेल भित्रै मृत्युवरण गरेको इतिहास छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर बर्सेनि दश लाख भन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको  आँकडा सार्वजनिक गरेको पाइन्छ ।

नेपालमा लकडाउनको ६८ दिन सम्ममा मात्र एघार सय भन्दबढिले आत्महत्या गरेको तथ्याङ्क केन्द्रीय प्रहरी विभागले नै सार्वजनिक गरेको थियो । यो तथ्याङ्कलाई हेर्दा नेपालमा दैनिक १६ जनाले आत्महत्या गरेको देखिन्छ । विगत तीन वर्षको तथ्याङ्कको तुलनामा लकडाउनको अवधिमा आत्माहत्याको दर एक्कासी बढेको देखिन्छ ।

आत्महत्या भनेको अप्राकृतिक रुपमा आफ्नो जीवन आफै समाप्त पार्नु हो । मुस्किलले विशेष संयोगवश प्राप्त शरीरलाई त्याग गर्नु त्यति सजिलो कुरा भने होइन । सायद ! आत्महत्या गर्नु अघि उक्त व्यक्तिले हजार पटक सोचेको हुनुपर्छ । आत्महत्याको घटनाले समाजमा दिनप्रतिदिन गम्भीर रूप लिइरहेको छ । किन यस्तो भइरहेको छ त ?

यसले समाजमा कसरी महामारीको रूप लिई रहेको छ ? एउटा व्यक्तिको आत्महत्याले परिवार, समाज, देश र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत के कस्ता असर पारेको हुन्छ ? हरेक व्यक्ति सम्बन्धको जालोमा झेलिएको हुन्छ भन्ने कुरामा कसैको दुइमत हुन सक्दैन । सँगै अधिकार र कर्तव्यको सीमारेखा कोरिएका हुन्छन् । जब व्यक्तिले निर्धारित सीमा रेखा मिच्न पुग्छ तब सम्पूर्ण जालो भित्र त्यसको प्रभाव तत्काल देखिन्छ ।

देशमा बढ्दै गएको भ्रष्टाचार, राजनीतिक खिचातानी, अस्थिरता समाजमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, कुसंस्कार, चोरी डकैती र व्यक्तिमा नष्ट हुँदै गएको अनुशासन, नैतिकता, इमानदारिताको कारण बढ्दै गएको आर्थिक अभाव, पारिवारिक सद्भावको कमिले हरेकमा मानसिक अशान्ति, तनाव एक्लोपनको महसुस हुँदै गइरहेको छ । बढी महत्त्वाकाङ्क्षा, देखासिकी, देखावटी जीवनशैली, धन कमाउने होडबाजी, अधैर्यता, असंयमता र इन्टरनेटको गलत प्रयोगले मानसिक असन्तुष्टि, क्रोध र भ्रष्ट बुद्धिको विकास हुँदै गएको पाइन्छ । 


हालसम्मको तथ्याङ्कलाई हेर्दा १५ देखि ३५ बर्ष उमेर समूहका व्यक्तिले बढी आत्महत्या गरेको देखिन्छ । त्यसै गरी १५ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका बृद्धबृद्धाले पनि आत्महत्या गरिरहेका हुन्छन् ।मान्छेले किन आत्महत्या गर्छ ? कारण यही हो भन्न कठिन छ । एउटै कुरालाई हेर्ने दृष्टिकोण स्थान, समय र परिवेश अनुसार फरक पार्दछ । हरेकको सोचाई, बुझाई, व्यवहार फरक हुन्छ यसै अनुरूप आत्महत्याको कारण पनि व्यक्ति पिच्छे फरक हुन सक्छ ।

मान्छेलाई जीवनमा कुनै न कुनै समस्याले सताइरहेको नै हुन्छ ।  एक न एक पटक यस्तो भयावह परिस्थिति आइपर्छ जो कसैले  पनि आत्महत्याको सोच बनाउन पुग्दछ । 

२०२० को सुरुवातसँगै विश्वभर कोरोना भाइरसको सङ्क्रमण देखा पर्‍यो । तीव्र रुपमा फैलिएको कोरोना भाइरसले महामारीको रूप नै लियो । विश्व समुदायसँग रोकथामको निम्ति बन्दाबन्दीको विकल्प थिएन । बन्दाबन्दीको कारण कलकारखाना, उद्योग,व्यापार,व्यवसाय,बजार ठप्प भए,अधिकांश मानिसको रोजगारी गुम्न पुग्यो । श्रमिक र  मजदुरको वर्गको अकल्पनीय रुपमा चुलो निभ्यो । सङ्क्रमणको भयसङै भोक, रोग र शोकले मान्छे तनावग्रस्त बन्दै गएका छन् । अनिश्चित भविष्य, प्रतिकूल समय, बेरोजगारी, व्यवसायमा घाटा, ऋणको बोझको कारण पारिवारिक कलह समेत बढिरहेको छ । मानसिक तनाव, अशान्ति र अभावकै कारण धेरैले लकडाउनको अवधिमा आत्महत्या गरेका छन् । कोरोनाको विषयमा समाजमा फैलिएको नकारात्मक, गलत सूचना र अनावश्यक भ्रम सिर्जना भएका कारण समेत कतिले ज्यान गुमाएका छन् ।

आजको समयमा मानिसमा अनुशासन, नैतिकता, इमानदारिता नष्ट हुँदै गइरहेको छ । प्रविधिको गलत प्रयोगका कारण बालबालिका र युवा वर्ग विकृतिमा फसिरहेका छन् । अहिलेका बच्चाहरू यति धेरै जिद्धि बन्दै गइरहेका छन् कि ! उनले भनेको कुरा पुरा नगर्दिए गलत बाटो रोज्ने धम्कीसम्म दिन्छन् ।  यसको डरले पनि अभिभावकले आफ्ना बच्चाको माग पुरा गर्दिन बाध्य हुनु परिरहेको छ । एउटा वर्गका बच्चाहरूले दुःख, अभावको महसुस नै गर्न पाएका हुँदैनन् ।  जसका कारण पनि बढी जिद्धि हुने गर्छन् ।

यसका लागि अभिभावकले भए पनि कहिले काँहि आफ्ना सन्तानलाई दुःख र अभावको अनुभूति गराउनु पर्छ  । यसबाट उनीहरूमा धैर्यता र सहन गर्न सक्ने क्षमताको विकास हुन्छ । कतिपय बालबालिकाले भने अनिवार्य आवश्यकता पुरा गर्ने अवसर पनि पाएका छैनन् । जसका कारण उनीहरूले निराशा,एक्लोपन र अभावले गर्दा गलत बाटो रोज्न  बाध्य छन् । भौतिक सुख सुविधा पाए पनि कतिले समयमा बाबा आमाको उचित स्याहार र स्नेह पाएका छैनन् । दुधे बच्चा छोडेर विदेश पलायन हुने आमाहरूले होस्टेल तथा सहयोगीको साथमा आफ्ना बच्चा छोड्न गरेको पाइन्छ । यस्ता बच्चाहरूमा प्राय एक्लोपन, निराशा र रूखो व्यवहार बढी नै  देखिने गरेको छ  । परिवारको साथ, माया नपाएकोले उनीहरू अधिकांश समय साथीसँग बिताउनु पर्ने हुन्छ ।  बिस्तारै साथी सङ्गतले उनीहरू कुलतको बाटो रोज्न पुग्दछन् । पछि पश्चात्ताप रुवरुप आत्महत्या गरेका थुप्रै उदाहरणहरू हाम्रो समाजमा रहेको पाउँछौ । 

आजको युवा पुस्तामा देखिएको अपरिपक्व प्रेम आत्महत्याको जटिल कारण बन्दै गइरहेको छ । क्षणिक मनोरञ्जनका लागि गाँसिएको प्रेमले पूर्णता नपाउँदा या परिवारको स्वीकृति नहुँदा,त्यसै गरी वैचारिक मतभेद सिर्जना हुन् साथ कतिले सामाजिक सञ्जालमा आएर अपमान गरिदिन्छ जसका कारण सामाजिक अपमान र तिरस्कार सहन नसकेर आत्महत्या गरेका समाचार दिनप्रतिदिन बढिरहेका छन् ।

सामाजिक सञ्जाल मार्फत छोटो समयमा प्रेम सम्बन्ध गाँस्नेहरूको पिडा पनि कम छैन, क्षणिक क्रोध, आवेश र प्रतिशोध स्वरूप लाइभ आएर आत्महत्या गर्न थाल्ने  घट्नाहरु बढ्दो क्रममा छन् । यसको नक्कल गरेर अझ धेरैले यो बाटो नअपनाउला भन्न सकिन्न । त्यसै गरी कुनै व्यक्ति प्रतिको अगाध प्रेम,आस्था र विश्वासको कारण उसको वियोगमा पनि कतिले यस्तो निर्णय लिएका हुन्छन् । केही समय अघि भारतको मध्य प्रदेशमा बलिउड अभिनेता सुशान्त सिंह राजपुरको निधनको खबरले विक्षिप्त बनेकी २० वर्षीय युवती र १४ वर्षका बालकले आत्महत्या गरे । त्यस्तै कति बालबालिकाले अरूको नक्कल गर्ने क्रममा पनि ज्यान गुमाउँदै आएका छन् ।

समग्रमा हेर्दा आर्थिक, सामाजिक र व्यक्तिगत कारण प्रमुख छन् जसलाई व्यक्तिले विशेष ठानेको हुन्छ । यसैले व्यक्ति मानसिक समस्यामा गुज्रिरहेको हुन्छ । यसर्थ आत्महत्याको मूल कारण पनि मानसिक समस्या नै हो । निराशा, चिन्ता, भय, जीवन प्रतिको अवमूल्यन, जीवनमा कुनै उद्देश्य नै नदेख्नु, आशा भरोसा मरेर जानु मानसिक समस्याका कारण हुन यो विषेशत १५ देखि ३५ वर्ष उमेर समूहमा देखिने समस्या हुन । सन्तानबाट अपेक्षा अनुरूप माया, स्याहार नपाएर, अपमानित भएको पिडा सहन नसकेर वा शरीरमा असाध्य रोगको पिडाका कारण वा उपचार खर्चको अभावमा कतिपय बृद्धबृद्धाले पनि आत्महत्या गर्ने गरेका छन् ।

अधिकांश आत्महत्याका घटनालाई हेर्दा आर्थिक अभाव, पारिवारिक कलह, झगडा, सामाजिक तिरस्कार अवहेलना र आफ्नो प्रिय व्यक्तिसँगको बिछोड वा वियोगका कारण मानसिक समस्या भएका व्यक्तिहरू सरिक भएको देखिन्छ । कारण जे भए पनि दिन प्रतिदिन बढिरहेको आत्महत्याले समाजमा महामारीको रूप लिई सकेको छ । मानव समाजलाई हल्लाउने यस्ता घटनाको कारण खोजी गर्ने विषयमा कसैको खासै ध्यान पुग्न सकेको छैन । यसलाई गम्भीर समस्याको रुपमा हेरिएको छैन तर यसले समाजमा पुर्‍याएको क्षति कुनै महामारी भन्दा कम आङ्कलन गर्न सकिँदैन । 

देशमा बढ्दै गएको भ्रष्टाचार, राजनीतिक खिचातानी, अस्थिरता समाजमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, कुसंस्कार, चोरी डकैती र व्यक्तिमा नष्ट हुँदै गएको अनुशासन, नैतिकता, इमानदारिताको कारण बढ्दै गएको आर्थिक अभाव, पारिवारिक सद्भावको कमिले हरेकमा मानसिक अशान्ति, तनाव एक्लोपनको महसुस हुँदै गइरहेको छ । बढी महत्त्वाकाङ्क्षा, देखासिकी, देखावटी जीवनशैली, धन कमाउने होडबाजी, अधैर्यता, असंयमता र इन्टरनेटको गलत प्रयोगले मानसिक असन्तुष्टि, क्रोध र भ्रष्ट बुद्धिको विकास हुँदै गएको पाइन्छ । 

आजको अस्तव्यस्त दैनिकीले मान्छेले आफूलाई नै बिर्सिएको छ । आफ्नो शरीर र मनलाई स्वस्थ राख्न नित्य गर्नु पर्ने कर्म विपरीत चलिरहेको छन् । हामीले पहिलो प्राथमिकता आफूलाई दिएर नियमित अनुशासन पूर्वक कार्य गरेमा मानसिक तनाव कम हुन्छ । यसको लागी सामान्य व्यवहारमा ध्यान दिएर त्यसलाई निरन्तरता दिए मात्र पनि मन शान्त र खुसी राख्न सकिन्छ ।

मनका पिडा,तनाव, गुनासो जोसँग सहज हुन्छ खुलेर शेयर गर्नुपर्छ । दैनिक, सङ्गीत, खेल, मनोरञ्जन,उत्सवमा रमेर हाँस्ने बानी गर्नु पर्दछ । धेरै सोच्ने र अरूको आलोचना गर्ने बानीले मस्तिष्कमा नकारात्मक तरङ्ग उत्पन्न हुन्छ ।त् यसैले केही न केही काममा आफूलाई व्यस्त राख्नु पर्दछ । अप्ठ्यारो परिस्थिति र नमिठो विगत लाई प्रेरणाको रुपमा लिने गर्नु पर्छ ।

आफूलाई आत्मसात् र आत्मसम्मान गर्ने, अरूसँग तुलना नगर्ने आफूलाई अरु भन्दा फरक र विशेष भएको महशुुस गर्ने । दैनिक व्यायाम, पोसिलो खाना,जडीबुटी युक्त आहार सेवन गर्दै योग अभ्यास तथा ध्यानका माध्यमबाट सहजै मानसिक स्वस्थता हाँसिला गर्न सकिन्छ । अरूको रिस, डाह, अहङ्कार त्यागेर आफ्नो हैसियत अनुसार आफूसँग भएको कुरामा गौरव गर्दै त्यसैमा रमाउने बानीको विकास गर्नु पर्दछ ।

यसरी हामीले आफ्नो मनलाई हर समय शान्त र खुसी राख्ने प्रयत्न गर्नु पर्छ । दिन प्रति दिन वाह्य वातावरण विकृत बन्दै गइरहेको छ । जताततै डर त्रास र असुरक्षित वातावरण सिर्जना भइरहेको छ । हामी अरूको मनबाट मात्र होइन आफ्नै मनसँग पनि असुरक्षित छौ, कि कति बेला हामीबाटै गलत निर्णय हुन पुग्छ पत्तो हुँदैन । यसर्थ हरदम सकारात्मक सोचका साथ मनलाई शान्त खुसी र प्रसन्न राख्नु पर्छ । 

जीवन जीउने क्रममा विभिन्न दुःख कष्ट अवश्य आउँछन् । कहिले काहीँ समयले मानिसलाई यस्तो कठिन परिस्थितिमा उभ्याई दिन्छ । त्यो क्षण मानिसले आफूले सामना गर्नु पर्ने  परिस्थिति भन्दा मृत्युलाई सहज सम्झन्छ ।  तर मानव जीवन समस्त प्राणी मध्येको सर्वोत्कृष्ट रचना हो ।

न त यो जीवन हामीले चाहेर सिर्जना भएको हो  न चाहेर नै सिर्जना गर्न सक्छौ । यो त ईश्वरको उपहार हो ।  यसलाई निर्धारित समयसम्म सुरक्षित राख्नु हाम्रो कर्तव्य पनि हो । यो अमूल्य जीवनलाई समय नपुग्दै समाप्त गर्नु महापाप हो । आत्महत्या गर्ने कमजोर मनस्थितिबाट माथि उठ्न सबैले मानव जीवनको महत्त्व बुझ्नु त्यति नै जरुरी छ ।