खुँखार ‘डन’ र ‘मोस्ट वान्टेड’ विकास दुबेमाथि सडक जाम गरी, मिडियाको आँखा छलेर 'इन्काउन्टर' !

खुँखार ‘डन’ र ‘मोस्ट वान्टेड’ विकास दुबेमाथि  सडक  जाम गरी,  मिडियाको आँखा छलेर 'इन्काउन्टर' !

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २६, २०७७

काठमाडौं । भारत विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक मानिन्छ । त्यहाँका कतिपय व्यवहारलाई हेर्ने हो भने लोकतन्त्र केबल शब्दमा मात्रै भएको अनुभूति हुन्छ । 

पछिल्लो समयमा विकास दुबेको ‘इन्काउन्टर’ ले भारतमा कानुनी शासनको उपहास भएको चर्चा सुरु भएको छ । उत्तर प्रदेशमा ८ प्रहरीको हत्यामा संलग्न विकास दुबेले २०७७ साल असार २५ गते बिहीबारमात्रै आत्मसमर्पण गरेका थिए । तर उनको शुक्रबार बिहानै ‘कथित इन्काउन्टर’ मा मृत्यु भएको छ । 

कानपुरको जीएसभीएस मेडिकल कलेजका डाक्टर आरबी कमलका अनुसार विकास दुबेलाई लागेका चार गोली मध्ये ३ वटा उनको छातिमा र एउटा हातमा लागेको थियो । यसैबाट ‘इन्काउन्टर’ दुबे भागेका कारण उनलाई पक्राउ गर्ने नियतबाट नभइ उनको हत्या गर्ने मनसायबाट भएको प्रष्ट हुन्छ । 

घटनाले ‘इन्काउन्टर’ पुष्टि गर्दैन ?

उत्तर प्रदेशको कानपुरमा ८ प्रहरीको हत्याका अभियुक्त विकास दुवेले बिहीबार मध्यप्रदेशको उज्जैनमा आत्ममर्पण गरेका थिए । उनले आत्मसमर्पण गर्नुको पछि प्रहरीको ‘इन्काउन्टर’बाट बच्नु नै मुख्य कारण रहेको देखिन्छ । तर बाँच्ने आशामा आत्मसमर्पण गरेका व्यक्तिलाई कानुनी बाटो समेत अवलम्बन नगरी सिधा गोली हानेर हत्या गरिएको छ । 

प्रहरीले कानपुरबाट १७ किलोमिटर टाढा भौती भन्ने स्थानमा गाडी पल्टिएपछि उनी भाग्दै झाडीबाट फायरिङ गरेको दाबी गरेको छ । तर, बिहीबार नै आत्मसमर्पण गरेको व्यक्तिले कसरी गोली चलाउन सक्छ ? या उसको साथमा हतियार कहाँबाट आयो ? भन्ने प्रश्न स्वभाविक रुपमा उठेको छ । 

कानपुरमा ८ प्रहरी मारिएको ७ दिनपछि उनी बिहीबार नाटकीय ढंगले मध्य प्रदेशको उज्जैनबाट पक्राउ परे । दुवेले महाकालेश्वर मन्दिर पुगेर २५० को भीआईपी टिकट काटेको र त्यसमा आफ्नो नाम ‘विकास दुवे’ नै लेखाएका थिए । 

अपराधको कुनै जात, धर्म र देश हुँदैन । तर अपराधीलाई सकुशल पक्राउ गरिसकेपछि उसलाई सजाय कानुनले दिने हो । तर ‘फेक इन्काउन्टर’ को सिर्जना गरिएको हत्याले लोकतान्त्रिक र कानुनी शासनको नै उपहास भएको तथा प्रहरीले जानाजान उनको हत्या गरेको भन्दै प्रहरीको भूमिकामा प्रश्न उठेको छ । 

उनी फरार अपराधीमात्रै थिएनन्, खुंखार ‘डन’ र ‘मोस्ट वान्टेड’ सूचीमा राखिएका र सूचना दिनेलाई इनाम समेत घोषणा भइसकेका व्यक्ति प्रहरीले सजिलै समात्न सक्ने स्थानमा नजाने कुरालाई भारतकै मिडियाहरुले उल्लेख गरेका छन् । 

विकासका दुई साथी बिट्टु र सुरेशलाई पनि पक्राउ गरेको छ । तर, उनीहरूका बारेमा धेरै केही जानकारी दिइएको छैन । दुवे आफैं मन्दिर परिसरमा धेरै बेरसम्म घुमेको तस्बिर पनि बाहिर आएको छ । प्रहरीले उनलाई गिरफ्तार गरेर लैजाँदासम्म पनि उनी चिच्याइरहेका थिए, ‘म विकास दुबे हुँ, कानपुरवाला ।’ 

विकास दुवेलाई पक्राउ गरेपछि महाकाल थानामा लगियो । त्यस क्रममा उनले मिडियासँग कुराकानी गर्ने कोसिस गरेका थिए । त्यहाँ पनि उनी चिच्याए, ‘म विकास दुबे हुँ, कानपुरवाला ।’ प्रहरीले विकासलाई बोल्न दिएनन् । यसबाट के प्रष्ट हुन्छ भने उनी आफू पक्राउ परेको र प्रहरीले गैर न्यायिक रुपमा गर्नसक्ने हत्याका बारेमा पूर्णतया सचेत रहको पुष्टि हुन्छ ।  

प्रहरीले उनलाई थानामा लगेर धेरै समयसम्म सोधपुछ गरेको दैनिक भास्करले उल्लेख गरेको छ । जसका उद्देश्य भनेको यति सहज रुपमा आत्मसमर्पण गर्ने दुवै वास्तविक हुन् या होइनन् भन्नेमा प्रहरी नै सुरुमा अन्योलमा परेको  कारण प्रष्ट हुन चाहन्थ्यो । 

प्रहरी स्रोतका अनुसार विकास दुबेलाई उज्जैन प्रहरीले कुनै अज्ञात स्थानमा लगेको थियो, जहाँ उत्तर प्रदेश प्रहरीलाई सुम्पिने कुरा भएको थियो । उनी पक्राउ परेको घटनालाई लिएर मध्य प्रदेशको राजनीतिमा विभिन्न टिकाटिप्पणी समेत भएको थियो ।  

मुख्यमन्त्री शिवराज सिंह चौहानले भने, ‘जसलाई महाकाल मन्दिरको शरणमा गएमा पाप मेटिन्छ भन्ने लाग्छ, उनीहरूले महाकाललाई चिनेकै छैनन् । हाम्रो सरकार कुनै पनि अपराधीलाई माफ दिने पक्षमा छैन ।’

प्रदेश भाजपाले ट्वीट गर्दै भनेको छ, ‘विकास दुबे उज्जैनबाट गिरफ्तार भएका छन्, उसलाई मध्य प्रदेशमा अब शिवराज चौहानको सरकार छ भनेर कसैले बताएन । जसले मध्य प्रदेशमा घुस्ने दुस्साहस गर्‍यो । युपी प्रहरीका सबै ८ सहिदलाई नमन, तिम्रा अपराधी अब पक्राउ परे ।’

उता कांग्रेसले भनेको छ, ‘मध्य प्रदेश अपराधीको शरणस्थल बन्यो, विकास दुबे पनि उज्जैनमा नै लुकेका थिए ।’ त्यसो त उनी पक्राउ परेको घटनाबारे प्रहरी र प्रदेश सरकारले समेत धेरै कुरा नखुलाएर घटनालाई संदिग्ध बनाएको थियो । 

जसबाट उनीमाथि कानुनी कारबाही हुने सम्भावना कम बनेको थियो । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेस यादवले नै विकास दुवेलाई ल्याउँदै गरेको गाडी पल्टिएको घटना संदिग्ध रहेको उल्लेख गरेका छन् । 

विकास दुवेलाई पक्राउ गरेपछि बिहीबार मध्य प्रदेश प्रहरीले अदालतमा पेश गर्ने बताइएको थियो । तर जब रात पर्दै गयो, तब तस्बिर बदलिँदै गयो । बिहीबार दिनभरी उनलाई एसटीएफले चार्टर्ड विमानबाट कानपुर लैजान बताइएपनि साँझमा सडकमार्गबाटै लगिने खबर आयो । 

एसटीएफको गाडी सडकमार्ग हुँदै निस्किएपछि मिडियाका गाडी समेत पछि लागे । मध्यप्रदेशबाट निस्किएको टोलीले बाटोमा खाना खायो । सञ्चारकर्मीको टोली पनि त्यही रोकियो । 

त्यसबेला नै प्रहरीले मिडियाकर्मीलाई प्रहरीको गाडी नपछ्याउन भनेका थिए । राति करिब ३ः१५ मा झांसी बोर्डरमा एसटीएफको टोलीले मिडियालाई छल्ने कोशिस गरेका थियो । तर सञ्चारकर्मीको गाडीसँगै अघि बडिरह्यो ।

बिहान करिब ६ बजे कानपुर पुग्नुअघि प्रहरीको टोली अघि बढ्यो र सञ्चारकर्मीको टोलीलाई सचेन्डी प्रहरीले रोक्यो । मिडियाकर्मीले आफूहरुलाई रोकेको विषयमा कुरा गर्दा सबैका लागि बाटो रोकेको जवाफ दियो । त्यसपछि सडकमा अरु सवारी पनि रोकिए । त्यसको १५ मिनेटपछि नै विकास दुवेलाई लिएर जाँदै गरेको एसटीएफको गाडी पल्टिएको खबर आयो । त्यसपछि स्थानीय प्रहरी र मिडियाकर्मी अघि बढे । करिब ३० मिनेटको बाटो पार गरेपछि गाडी पल्टिएको ठाउँमा टोली पुग्यो । एसटीएफको गाडीलाई पिछा गरिरहेको गाडीलाई रोकेर अघि बढाएपछि गाडी पल्टिएको भन्ने प्रहरीको भनाईले ‘इन्काउन्टर’ पूर्व नियोजित भएको भन्दै प्रश्न उठाइएको छ । 

विकासको मृत्युपछि छुटे पत्नी र छोरा

उत्तर प्रदेशको कानपुरभन्दा १७ किलोमिटर टाढा भौतीमा ‘इन्काउन्टर’ मा विकास दुवे मारिएपछि उनकी पत्नी ऋचा र उनका नाबालक छोरालाई भने रिहा गरिएको छ । 

कानपुरका एसएसपी दिनेश कुमार प्रभुले ऋचाको प्रहरी हत्यामा संलग्नता नपाइएको र घटनाका समयमा उनी त्यहाँ नभएको उल्लेख गरेको छ । उनको घरमा काम गर्ने महेश नाम गरेका व्यक्ति अझै छुटेका छैनन् । 

विकास दुवे बिहीबार बिहान ९ बजे उज्जैनको महाकाल मन्दिरबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई महाकाल थाना, पुलिस कन्ट्रोल रुम, नरवर थाना र पुनः प्रहरी तालिम केन्द्रमा लगेर सोधपुछ गरिएको थियो । त्यसपछि उनलाई कानपुल ल्याउन लाग्दा राति ८ बजे पत्नी ऋचा, छोरा र काम गर्ने व्यक्तिलाई पक्राउ गरिएको थियो । 

भारतमा यसरी पक्राउ गरेर प्रहरीले सिधा गोली हानी हत्या गरेको पहिलो घटना हैन । यसअघि गत २० मंसिर, २०७६ मा हैदराबादमा एक पशु चिकित्सकको बलात्कारपछि हत्यामा संलग्न चार जनालाई समेत १४ दिन न्यायिक हिरासतमा रहेका बेला अनुसन्धानका लागि भन्दै हैदराबादभन्दा ५० किलोमिटर टाढा लगेर हत्या गरिएको थियो । 

अपराधको कुनै जात, धर्म र देश हुँदैन । तर अपराधीलाई सकुशल पक्राउ गरिसकेपछि उसलाई सजाय कानुनले दिने हो । तर ‘फेक इन्काउन्टर’ को सिर्जना गरिएको हत्याले लोकतान्त्रिक र कानुनी शासनको नै उपहास भएको तथा प्रहरीले जानाजान उनको हत्या गरेको भन्दै प्रहरीको भूमिकामा प्रश्न उठेको छ । 

एजेन्सीको सहयोगमा