त्रिवि कर्मचारी संघ इकाइ समितिद्वारा  रामचन्द्र, सूर्तीदेवी र रामनन्दनकाे  विदाइ

त्रिवि कर्मचारी संघ इकाइ समितिद्वारा  रामचन्द्र, सूर्तीदेवी र रामनन्दनकाे  विदाइ

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७७

सुनसरी । त्रिवि कर्मचारी संघ इकाइ समिति पूर्वाञ्चल क्याम्पस, धरानले आफ्ना पूर्वकर्मचारीहरूलाई विदाइ तथा सम्मान गरेको छ ।

समितिले लामो समयदेखि क्याम्पसमा रही सेवा गर्ने पूर्वकर्मचारी रामचन्द्र दाहाल, सूर्तीदेवी डुम र रामनन्दन झालाई खादा, दोसल्ला र सम्मानपत्र प्रदान गरी विदाइ गरेको हो ।

उहाँहरूलाई क्याम्पस प्रमुख ओमप्रकाश ढकाल, समितिका अध्यक्ष भद्रबहादुर तामाङलगायतले खादा, दोसल्ला र सम्मानपत्र प्रदान गरी विदाइ गर्नुभएको थियो । समितिले क्याम्पस हातामा स्थापना गरिएको ‘कर्मचारी चिया पार्क’को डिजाइन गर्न सहयोग गर्ने आर्किटेक्चर इन्जिनियर मिमाङ हाङ किराँत, समितिका विभिन्न कार्यक्रमहरूलाई समाचारकारूपमा प्रकाशन गर्न सहयोग गर्ने पत्रकार सागर आत्रेय, क्याम्पसको उन्नयनमा सकारात्मक सहयोग गर्ने क्याम्पस प्रमुख ओमप्रकाश ढकाल र क्याम्पसका कर्मचारी तथा शिक्षक एवं उनीहरुको परिवारलाई कोरोनाको महामारीको समयमा रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी निःशुल्क प्रदान गर्ने मारवाडी सेवा समाजका अध्यक्ष अनिल अग्रवाललाई मायाको चिनो प्रदान गरेको थियो । 

विदाइ समारोहमा बोल्दै क्याम्पस प्रमुख ढकालले आफ्ना कर्मचारीलाई सेवा अवधि सकेर पनि सम्झना गरेकोमा समितिलाई धन्यवाद ज्ञापन गर्दै विदाइ भएका कर्मचारीहरुको भावी जिन्दगी सुखमय होस् भन्ने कामना गर्नुभयो । इकाइ अध्यक्ष तामाङले क्याम्पसमा रही लामो समय कार्यालयको काममा दत्तचित्त भएर लागेका कर्मचारीलाई विदाइ गर्न पाउनु समितिका लागि सौभाग्य भएको भन्दै आगामी दिनमा अझै प्रगति र उन्नतिको पथमा अग्रसर भएको देख्न पाइयोस् भन्ने सुभकामना प्रदान गर्नुभयो । 

कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै पूर्वकर्मचारी रामचन्द्र दाहालले कर्मचारी संघ इकाइ समितिले आफ्नो कार्यकालपश्चात पनि सम्झेर सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्राध्यापक संघका सभापति देऊकुमार राउत, कर्मचारी संगठनका अध्यक्ष पदमबहादुर थापामगर, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघका कार्यवाहक सभापति चक्रबहादुर चुहानलगायतले त्रिवि कर्मचारी संघ इकाइ समितिले क्याम्पसको उन्नतिका लागि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्दै आएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।