बिन्दु अधिकारी ढकाल | साहित्य | असार २७, २०७७
मेरो घरबाट उत्तर नाका
यस्तो छ साथी खाका
सम्झ,
रेखोपाखो खेतीपाती छ उसको यता
रनघन चौबाटो
खुल्ला रहने चउर हो ।
तामझामले पालेका गाईभैंसी
भरी–भरी गोठ
दुहुनुको वास्तविकता
सम्झ, त्यो यथार्थ
उस्कै चाहिँ आवश्यकता हो ।
किसान हुनुको कर्म
किसान हुनुको मर्म
किसान हुनुको धर्म
किसान हुनुको ढंग
असारपन्ध्र झैं चटारो मलाई
तर हैन, हतार छैन
उता, उत्तरी नाका
लादिन खरो झटारो यता ।
सुन है साथी,
त्योभन्दा पनि उदेक त
मलमाटो पानीको जोहो
छाटकाटले गोडमेलका बिरुवा
चाँजो न पाँजो
वाउसे न रोपार
तैपनि मानौँ,
अजिँङगरको आहारा दैव !
हे वसुधा !
बताइदेऊ छेउकुना उकुसमुकुस कुरा
दृष्टी नजर कता हो कता
हेक्का छ/ छैन फन्का
आकाश पाताल कन्सुत्ले चालको धक्का ।
अचम्म,
यस्तो हाउभाउ
देखेर नि साथी
तमास सकस भो दिनचर्या ।
सोइढोले झैं हो–हल्ला पनि खोइ
के के हो ठट्टा...
उछिनपाछिन चर्को आवाजका कुरा–
कुकुरको पुच्छर बाङगो भनेर
दैनिक अपवाह र हल्ला ।
उत्तरबाट दक्षिण सिमा
मौका सिर्फ मौका ....
धनकुटा, हाल काठमाडौं