बेल्जियममा वीर गोर्खालीका समाधिस्थल: एक पल्ट छुने र ढोग्ने ठुलो इच्छा मनमै

बेल्जियममा वीर गोर्खालीका समाधिस्थल: एक पल्ट छुने र ढोग्ने ठुलो इच्छा मनमै

जानु काम्बाङ लिम्बू  |  साहित्य  |  असार २७, २०७७

केही वर्षअघि बेल्जियम आएको बेला नै मैले जर्मन, फ्रान्स, लग्जम्बर्ग र हल्यान्ड घुमिसकेको थिएँ तर नजिकको तीर्थ हेला भनेझैं बेल्जियमभित्रका धेरै प्रसिद्ध ठाउँ भने घुम्नै बाँकी नै थियो ।

बेल्जियमको इपर सहर जहाँ पहिलो विश्वयुद्धताका बम पड्केर एकै ठाउँमा लाखौंलाख मान्छेहरुको संहार भएको थियो । यसपल्ट पहिलो विश्वयुद्धले इतिहासमा नराम्ररी कोतरेको यही इपर सहर घुम्ने योजना थियो । 

भाइहरू बसेको ठाउँ लुभेनबाट इपर पुग्न डेढ घण्टा मात्र लाग्ने रहेछ तर भाइ, बुहारी र नानीहरू समेत काम गर्ने हुनाले फुर्सद नामको चिज उनीहरूबाट धेरै टाढा थियो । म लुभेन आइपुगेको ७ दिनपछि एउटा शुक्रबार बल्ल भाइ र बुहारी दुवैको छुट्टी मिल्यो । मनमा इपर पुग्ने औडाह त थियो नै, फेरि यत्रो दिनपछि आएको एउटा छुट्टी पनि के खर्च गरिदिनु होला भनेर चुपचाप पनि थिएँ म । तर, बुहारीले नै 'जाऊँ दिदी केही छैन' भनेपछि त सजिलो भइहाल्यो ।

बिहान ९ बजेतिर घरबाट निस्कियौं हामी । म, बुहारी रोजी, सानो भदाइ रिजेन्स् अनि भाइ त गाडी कुदाउने भैहाल्यो । अघिल्लो दिन निकै खुलेको थियो तर त्यसदिन हल्का मसिनो जुम्रे झरी पर्दै थियो । यसले रोक्नै त के सक्थ्यो हाम्रो यात्रालाई ! तै हामी हुइँकिरहेको कारको अगाडि सिसालाई जुम्राका बाक्लो लिखाले झैँ ढम्म ढाकिदिन्थ्यो । र, त्यसलाई हटाउन भाइले इपर पुगेन्जेल नै वाइपर चलाइरहनु पर्‍यो । 

थुप्रै चुच्चा, चुच्चा थुतुनोधारी एउटा ठूलो बिल्डिङअगाडि थुप्रै कारहरूसँगै हाम्रो कारलाई पनि पार्क गर्‍यौं । त्यो बिल्डिङ म्युजियम रहेछ । म्युजियम पनि पस्ने कि भन्दै थिए भाइहरू तर मलाई समाधिस्थल नै हेर्ने हतार थियो । म्युजियम वरिपरिका दोकानमा बिक्रीमा राखिएका पप्पी फूलले समाधिस्थल नजिकै रहेको भान गराइरहेको थियो । मात्र ३ वटा रातो पत्ता भएको यो साधारण पप्पी फूल जसलाई लडाइँको प्रतीक फूल भनेर चिनिन्छ संसारमा, एक मनले भन्यो, ‘पप्पी तिमी कति भाग्यमानी !’ अर्को मनले भन्यो, ‘होइन, तिमी कति अभागिनी ?’

मान्छेहरुको बाक्लै चहलपहल थियो कार पार्कअगाडि रेस्टुरेन्टहरूमा । त्यो देखेर सानो भदाइले केही खाने रहर गर्‍यो । हामीलाई पनि दिसापिसाप लागिरहेकाले एउटा रेस्टुरेन्टभित्र छिर्‍यौं । रेस्टुरेन्टको बाहिर ‘खाना नखाएर पाइखाना मात्र प्रयोग गरे ५० सेन्ट युरो लाग्ने’ अफर भनुम् कि चेतावनी पत्र टाँसिएको थियो । त्यो देखेर मलाई मनमनै हाँसो पनि उठ्यो । 

भाइ र बुहारीले खाने कुरो अर्डर गर्न थाले म रेष्टरुम (पाइखाना)तिर लागेँ । कुर्सी टेबलको पछि ठूलो ऐनाको भित्ता रहेछ । त्यो ऐनाले यता बसेर खाना खाइरहेका मान्छेलाई धेरै पर देखाउँदो रहेछ । पाइखाना खोज्दै जाँदा म झन्डै त्यो सिसामा ठोक्किएँ । साँगुरो कोठालाई ठूलो देखाउने चलाखीपूर्ण तरिका रहेछ त्यो ।

रेष्टरुमबाट म आउने बितिक्कै खाना आउन सुरु गर्‍यो । दुई थाल ठूल्ठूलो पिजा, बुहारीको लागि एक माना क्रिम हालेको पास्ता । बल्ल पो हेरें रेस्टुरेन्ट त इटालियन रहेछ । म उस्तै चिज खान नसक्ने मान्छे बल्लैले चिज हटाउँदै दुई टुक्रा पिजा खाएँ । चिसो हटाउन ग्रिन टी पनि मगाएँ ।

एकछिन आराम गरेर हामी स्मारकको गेटतिर लाग्यौं । गेटको पहिलो खम्बामै हाम्रा वीर गोर्खाली योद्धाहरूको नाम कुँदिएको थियो । त्यहाँ तेसैगरी ब्रिटिस साम्राज्यका लागि लडेका अन्य देशका योद्धाहरुको नाम पनि थियो । त्यो बिल्डिङको सबै भित्ताहरू पहिलो विश्वयुद्धमा मर्ने मान्छेहरूको नामले भरिएको थियो ।

सबैको दाँजोमा गोर्खालीहरू कम, तेसपछि इन्डियन पर्दा रहेछन् । अन्य देशका त गन्न नसकिने हजारौं हजार नामहरु रहेछन् । समय अभावले सबै ठाउँ घुम्न र सबै नाम पढ्न नसके पनि मैले मेन गेटमा यी गोर्खाली नामहरू भेटें जसले वीरगति प्राप्त गरेका थिए । फाेर्थ गोर्खा राईफल्सबाट जमदार नैनसिं राना, कलर सर्जेन्ट गञ्जसिं गुरुङ, नायक मानबहादुर गुरुङ, रतिभान पुन, लेसनायक ऐमानसिं गुरुङ, हरकसिं गुरुङ, रञ्जित गुरुङ, राइफलमेन बलेसुर राना, बेलबहादुर गुरुङ, बुधिबल गुरुङ, धनवीर गुरुङ, दिलु पुन, दुर्गराज गुरुङ, गजवीर गुरुङ, गजवीर थापा, गार बहादुर गुरुङ, कालु गुरुङ, करणसिं गुरुङ, केसवीर गुरुङ, लोहासुर राना, मानवीर थापा, मनिकरण गुरुङ, मनराज गुरुङ, मोतिलाल थापा, पहलसिंङ गुरुङ, रण बहादुर बूरा, रतनवीर राना, सरुगे थापा, तुलाराम पुन, वजिरसिं गुरुङ, बुग्लेर देओखै राना गरी जम्मा ३१ जना त्यस खम्बामा आ-आफ्नो नामले अमर थिए ।

जिपिएसलाई पछ्याउँदै हामी ठूलो खुल्ला ठाउँमा अवस्थित समाधिस्थल पुग्यौं । जहाँ हरेक बर्ष नोभेम्बर ११ तारिक ११ बजेर ११ मिनट जाँदा ठूलो मेला लाग्ने गर्छ । त्यसदिन संसारका मान्छे भेला भएर युद्धमा वीरगति प्राप्त गरेका वीरयोद्धाहरुलाई सम्मान गर्छन् । सैनिकहरू परेड खेल्दै सलामी दिन्छन् । यो दिनलाई पहिलो विश्वयुद्ध बिराम भएको दिन मानिन्छ । पुरानो भनाइ अनुसार लडाइँ सकिएको एक वर्षपछि उही युद्धमा मर्ने मान्छेहरूको चिहानमाथि रातो पप्पी फूल फूलेको थियो रे ! त्यसैले यो दिनलाई पप्पी डे पनि भनिन्छ ।  

त्यसैगरी अर्को खम्बातर्फ फस्ट केजीओ गोर्खा रैफल्स (द ‘मलौन’ मलाया रेजिमेन्ट) हवल्दार मानधोज थापा, पदमधोज गुरुङ, लेसनायक बलबहादुर गुरुङ, राइफलमेन आसवीर गुरुङ, बखतबहादुर गुरुङ, चन्द्रवीर गुरुङ, चन्द्रवीर राना, जहरसिं थापा, कुलवीर थापा, लालवीर गुरुङ, मनिराज पुन, माथ्वर चन्द, नरसिं घर्ती, पहलमान राना, पुनाराम बुराथोकी, शिवचन्द्र आले, टीकाराम राना, तुलवीर गुरुङ गरी जम्मा १८ जना वीरगति प्राप्त गोर्खाली नामहरु  समावेश थिए । 

पहिलो विश्वयुद्धको बेला २५ भन्दा बढी देशहरुमा ब्रिटेनले उपनिवेश कायम गरेको थियो । ती मध्ये भारत पनि एक थियो । पहिलो विश्वयुद्ध लड्न ब्रिटेनको तर्फबाट १३ लाख आर्मी भारतबाट मात्र आएका थिए । ती १३ लाख लडाकुहरूमा कति नेपाली थिए ? आज यी नामहरू पढी रहँदा गुमनाम ती लडाकुहरुप्रति माया पलाएर आयो । मैले पढेका यी नामहरु नै यकिन गणना हो भन्नेमा मलाई पटक्कै विश्वास लागेन । 

विभिन्न खाले युद्धमा कुन देशका कति मरे, कति घाइते भए र कति हराए ? यी नाम पढिरहँदा थाहै नपाई आँखा रसायो । जे होस्, यस्ता नरसंहारक युद्धमा ज्यान गुमाई पृथ्वीको यो गोलार्द्धमा जुगजुग अमर भई बसेका हाम्रा वीर गोर्खाली पुर्खाका नामलाई मनैदेखि सलाम गरें मैले । दिलैबाट श्रद्धा सुमन व्यक्त गरें । र, यो नियात्रा लेखिरहँदा मेरै बाजे र ठूलो बाबुको पनि मलाई याद आयो । मेरो बाजे र उहाँको जेठो छोरा नेप्टे लिम्बुले दोस्रो विश्वयुद्ध लडेका थिए रे ! राणा शासनको बेला, दोश्रो विश्वयुद्ध लड्न मान्छे अपुग हुँदा उमेर पुगेका सबै छोरालाई भर्ती लाउनै पर्ने जङ्गी उर्दी थियो रे ! मेरो बाजे र उहाँको छोरा बर्माबाट लड्दैजाँदा छोराले इटाली पुगेर वीरगति प्राप्त गर्‍या रे ! युरोपसम्म लड्दै आएका बाजे सख्त घाइते भएर नेपाल घर फिरेका रे ! यो इपर युद्धस्मारकमा जस्तै मेरो ठूलो बुबाको नाम पनि इटालीको कुनै युद्धस्मारकमा कुँदिएको होला । मलाई त्यो प्रिय नाम खोज्दै कुनै दिन त्यता पनि जान असाध्यै मन भयो ।

बुहारी पारिपट्टि तरेर अर्को तर्फका नामहरू हेर्दै रहेछिन् । 
‘दिदी हेर्नुस् त यहाँ पनि रैछन् नेपाली नामहरू ?’

यतापट्टिका नामहरूलाई मोबाइलमा खिचेर पारितिर लागें म पनि । साँच्चिकै उता पनि उति नै नेपाली नामहरू रहेछन् । उतापट्टिका नामहरू हेरेर थोरै देख्ने मन यताका नामहरू थपिएपछि झन् गर्‍हुङ्गो भयो । अचानक त्यो स्मारक बडो विरह लाग्दो लाग्न थाल्यो । 

हामीजस्तै अन्य देशका पर्यटक पनि आ-आफ्नो देशका योद्धाका नाम हेरिरहेका थिए । हामी उत्तरपट्टिको भर्‍याङ उक्लिँदै गयौं, म पछाडि थिएँ । 

‘ओ ! माई गड ? यहाँ त झन् सब अस्ट्रेलियन सोल्जर्सहरू पो रैछन्’ ।  

रिजेन्स् करायो । उसको पछिपछि मैले पनि हेर्दै गएँ । त्यो भर्‍याङको दुवै तर्फको भित्ता अस्ट्रेलियन आर्मीहरूको नामले भरिएको थियो, तल भूइँमा पप्पी फूलहरू चढाइएको थियो । आफ्नो ज्यान दिएर विश्वको इतिहास रच्ने वीरहरूलाई नमस्कार ! मैले चढाउने उही शुद्ध नेपाली नमस्कार बाहेक केही थिएन, विरहले मन भक्कानियो । 

माथि तलामा उक्लेर वरिपरि टहलियौं । फोटो खिच्यौं । आँगनमा ठूलो ताम्रपत्र जस्तो फलामको पाता फिँजाइएको थियो । त्यसमा युद्धमा संलग्न देश, युद्धमा मर्ने र घाइते हुनेका नामावली कुँदिएको रहेछ । त्यहाँ नेपालीहरूको छुट्टै नाम थिएन, ब्रिटिसहरूको सङ्ख्यामा जोडेर हेर्‍यौं । त्यहाँ मर्ने र घाइते हुनेका सङ्ख्या यसरी तालिकामा सुरक्षितसँग राखिएको थियो ।

१) फ्रान्सको (मर्नेहरू १२, ००००० र घाइतेहरू ४०, ०००००) 
२) बृटिस एम्पायर (मर्नेहरू १०,००००० र घाइतेहरू २०,०००००)  
३.) बेल्जियम (मर्नेहरू १३, ८०० र घाइतेहरू ४४,७००) 
४) जर्मनी र अस्ट्रिय (१, ५०,००००० र घाइतेहरू ३,५०००००० ) 

युद्धमा मारिएका र घाइते भएका यो आँकडाले स्मारकस्थल नै थर्थरी काँपेजस्तो मलाई भान भयो । त्यहाँ केही फोटोहरू खिचिसकेर अर्कोतर्फ जानका लागि तल ओर्लिएर बाटो काट्दै माथि उक्लियौं । त्यहाँ उतापट्टि अस्ट्रेलियनहरूको जस्तै क्यानडीयनहरूको नामावली लामालस्कर भित्ताभरि कुँदिएको थियो । 

पहिलो र दोस्रो विश्वयुद्ध दुवैमा सबैभन्दा धेरै विध्वंस युरोपमै भएको थियो । त्यो त विश्व इतिहास साक्षी छ । सारा संसार संलग्न यी युद्धमा वीरगति पनि संसारभरिकाले नै पाएका रैछन् । यी नामावलीले सम्झाउने हिजोको युरोप र आजको युरोपलाई हेर्दा विनासपछि नै विकास हुन्छ कि क्या हो जस्तो पनि लाग्यो । उसै पनि युद्ध बिनाको संसार छैन । विश्व इतिहास पढ्दा पनि युद्धपछि नै युरोपले कायाँपलट लिएको भेटिन्छ । तर के परिवर्तनका लागि युद्ध अपरिहार्य हो त ? यी युद्ध स्मारकमा उल्लेखित नामका चिहानहरुले के भन्छ ?

भनिन्छ, आजको विश्व नै पहिलो र दोस्रो विश्वयुद्धकै परिणाम हो । दोस्रो विश्वयुद्धले देश, सिमाना, शक्ति, अधिकार र सत्तालाई थपघट तथा फेरबदल गरेको पाइन्छ । दोस्रो विश्वयुद्धपछि यसअघि उपनिवेश फिजाएर अर्काको देशमा शासन चलाउँदै आउने ब्रिटेनलाई घुमिफिरी रुम्जाटार भने झैं युरोपमै फर्काई दियो । यसरी ब्रिटेन अरू देशहरूलाई चहारी रहँदा उता अमेरिका र रुस शक्तिसाली देश भएर निस्किए । 

जापानले पर्ल आर्वरमा बम खसालेपछि विश्वयुद्धमा तानिएको अमेरिकाले फेरि हिरोसिमा र नागासाकीमा अणु बम खसाल्दै, अन्त्यमा रुजवेल्टको नेत्रिप्वले चर्चिल र स्टालिनलाई समेट्दै जर्मनीको बर्लिन समेत कब्जा गरिदिएको थियो । यसरी आफ्नै घमण्डले बादशाह हिटलरले बङकरभित्रै आत्महत्या गर्नु पर्‍यो । शायद दोस्रो विश्वयुद्धमा जर्मनले हार बेहोर्नु नपरेको भए, हिटलर बन्थ्यो विश्व बादशाह र संसार पनि उसले देखेको नक्सा जस्तै हुन्थ्यो ! तर, उसको हारले विश्वको नक्सा बदलिएर आजको वर्तमान विश्व बन्यो । 

यो संसार बन्नुमा खासगरी युरोप बन्नुमा मेरा पुर्खाहरूको पनि ठूलो योगदान छ भनी मैले दावी गर्न मिल्ला कि नमिल्ला ? युद्धबाट ध्वस्त युरोपले मानव सभ्यताको विकासक्रममा युद्धविरामपछि झन् सभ्य, शिष्ट र सुसंस्कृत समाजको निर्माण गरेको देखिन्छ ।

यतिखेर हामी १९१४ देखि १९१८ सम्म ४ बर्ष लामो पहिलो विश्व युद्धको दसी प्रमाण बोकेर बसिरहेको मैन गेट बिल्डिङबाट सुरु भएको पुरानो युद्धकालीन बङकरमाथि हिंड्दै थियौं । पानीको दहमाथि बनेको त्यो लामो बङ्करमाथि पर्यटकहरू हिँड्दै वारपार गर्न सक्ने पर्यटकीय बाटो निर्माण गरिएको रहेछ । त्यो बङ्करको दायाँपट्टिको इलाकामा ठुला—ठुला होटलहरू अवस्थित थिए । दुई तिरको आँगन उस्तै र एकै साइजका थिए । 

उतापट्टि युद्धमा मर्नेहरूको सङ्ख्या र देशहरूको तालिका थियो भने यतापट्टि त्यै मेन गेट बिल्डिङको दुरुस्त सानो नमुना घर बनाएर राखिएको रहेछ । त्यो छाडेर हामी अब बङ्कर माथिको पदपथ पछ्याउँदै अघि बढ्यौं । त्यहाँ सिधै अगाडि हेर्ने बित्तिकै गर्वले छाती धक्क फूल्ने एक वीर गोर्खाली प्रतिमा देखियो । प्रथम विश्वयुद्वमा बेल्जियमको इपरमा वीरगति प्राप्त गरेका वीर गोर्खा सैनिकहरूको सम्मानमा कमनवेल्थ वार ग्रेभ कमिसनसँगको सहकार्यमा यो स्मारक स्थापना गरिएको रहेछ । नेपाल सरकारको तर्फबाट नेपाली दूतावास बेल्जियमले निर्माण गरेको उक्त प्रतिमा नेपाली कलाकार पञ्चरत्न डङ्गोलले तयार गरेका रहेछन् । धातुबाट निर्मित २.५ फिट अग्लो पूर्णकदको गोर्खा सैनिकको प्रतिमा १.७५ मिटरको ढुङ्गाद्वारा त्यो स्तम्भ निर्माण गरिएको रहेछ, त्यो स्तम्भमा अङ्ग्रेजीमा पनि ‘ईन् मेमोरी अफ् द नेप्लिज् नेसनल्स हु लस्ट देयर लाइभ्स फाइटिङ् एज गोर्खा सोलजर्स इन द फर्स्ट वर्ड वार १९१४—१८’ भनी कुँदिएको छ । उक्त स्तम्भमा उभिएर फोटो खिच्ने काम हामीले पनि भुलेनौं ।

गोर्खालीहरूको नाम रहेको त्यो स्मारकस्थल मात्र हेरेर पुगेन हामीलाई, अब उनीहरूको पार्थिव देहलाई राखिएको विशाल समाधिस्थल पनि खोज्नु थियो । त्यो बङ्कर माथिबाट रमिता हेर्दै हेर्दै पल्लै छेउ पुग्यौं तर, त्यहाँ कुनै समाधिस्थल थिएन । 

घडी आफ्नै गतिमा घुम्दै थियो, हामीलाई वास्तै नगरी दिन उस्तै गरी ढल्दै थियो । मेरो मन भने समाधिस्थल नहेरी नजाने भन्छ । 

‘ठीकै छन् त लु, जाऊँ म पुर्‍याउँछु जसरी नि !’ मेरो अनुहार पढेछ क्यारे भाइले । समाधिस्थल पुर्‍याइछोड्ने भयो उसले । उसको पछिपछि लाग्यौं हामी । कार पार्क पुगेपछि उसले जिपिएस सेट गर्दै गुगलबाट सर्च गर्न थाल्यो समाधिस्थल । खासै टाढा रहेनछ जम्मा ४ मिनट लाग्ने रहेछ ।

जिपिएसलाई पछ्याउँदै हामी ठूलो खुल्ला ठाउँमा अवस्थित समाधिस्थल पुग्यौं । जहाँ हरेक बर्ष नोभेम्बर ११ तारिक ११ बजेर ११ मिनट जाँदा ठूलो मेला लाग्ने गर्छ । त्यसदिन संसारका मान्छे भेला भएर युद्धमा वीरगति प्राप्त गरेका वीरयोद्धाहरुलाई सम्मान गर्छन् । सैनिकहरू परेड खेल्दै सलामी दिन्छन् । यो दिनलाई पहिलो विश्वयुद्ध बिराम भएको दिन मानिन्छ । पुरानो भनाइ अनुसार लडाइँ सकिएको एक वर्षपछि उही युद्धमा मर्ने मान्छेहरूको चिहानमाथि रातो पप्पी फूल फूलेको थियो रे ! त्यसैले यो दिनलाई पप्पी डे पनि भनिन्छ ।  

दुःखको कुरा हामी समाधिस्थल पुग्न त पुग्यौं तर प्रवेशद्वार बन्द भइसकेको रहेछ । मलाई वीर गोर्खालीहरूको चिहान एक पल्ट छुने र ढोग्ने ठूलो इच्छा थियो । समाधिस्थल देखेर मनभरि ढकमक फुलेको लालीगुराँस पनि बन्द गेटले मनमै ओइलाइदियो । उही मनमै ओइलिएको लालीगुराँस मनमनै लडाइँको इतिहास छातीमा खिलेर पप्पी फूल फुलाउने देशलाई चढाएँ, सलाम गरें । अनि, मेरो देशको सम्झनामा एक थुँगो पप्पी फूल टिपेर युद्धमा लड्दालड्दै सहादत प्राप्त वीर गोर्खाली महापुरुषहरुलाई हार्दिक श्रदाञ्जली चढाउँदै बिदा भएँ । 

समय निकै घर्किसकेको थियो । हामीलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतकी अध्यक्ष बहिनी दीपा लिम्बु राईले आफ्नो घर हुँदै फर्कने निम्तो पनि गर्नुभएको थियो । दिपा बहिनीहरू अझै सर्भिसमै भएकोले भर्खर जर्मनबाट सरुवा भएर बेल्जियमको मौंस भन्ने ठाउँमा आइपुगेका थिए । हामी बहिनीको घर खोज्दै मौंस नेटो क्याम्प पुग्दा बेलुकीको ४ बजेको थियो । बहिनीले खादा ओढाएर ढोकैमा स्वागत गर्दा पो थाहा भयो हामीले त नानीहरूका निम्त्ति कोसेलीसम्म पनि किन्न भुलेछौँ । खालि हात पुगेर सरम लागिरहेको थियो । फेरि बहिनीले खाने कुरोको बिस्कुन लगाई दिँदा त लाजले फक्क्ताङलुङ (कुम्भकर्ण) नै ढले सरी भयो । तै मेन्जो नारा सिरेप् सिरेप् (सर्माउँदै) गर्दै दिदी र दाइलाई हार्दिक आतिथ्यताका लागि धन्यावाद दिँदै, हाम्रो अन्तिम गन्तव्य लुभेनतिर फक्र्यौं । 

ताप्लेजुङ, हाल युके ।