बरालको बिर्ता ग्वाल्टारमा कुलाको पानीको बाँडफाँटमा राम मन्दिरका ‘गोठाले राजा’को निसाफ !

फर्कलान् र ती दिनहरू

बरालको  बिर्ता ग्वाल्टारमा कुलाको पानीको बाँडफाँटमा राम मन्दिरका ‘गोठाले राजा’को निसाफ !

हरिविनोद अधिकारी  |  साहित्य  |  असार २७, २०७७

ग्वाल्टार, ग्वालटार, ग्वालीटार, ग्वालाटार, गोलटार, गोल्टार जे भने पनि अहिलेको गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर ३ को मुख्य बस्ती भएको ठाउँ हो ।  जहाँ गाउँपालिकाको  कार्यालय पनि छ अहिले ।  लेख्दा ग्वालटार वा ग्वाल्टार लेखियो तर यसलाई दिङ्दिङ् अन्तर्गत भनिन्थ्यो । यो ग्वाल्टार पक्कै पनि पहिले पनि उर्वर भूमि थियो र यहाँ खेतीपातीको राम्रो प्रबन्ध थियो होला । महाभारतको उत्तरी काखमा बसेको अनि सुनकोसीको किनाराभन्दा अलिमाथि अवस्थित यो ठाउँ मनोरम छ । साँच्चै गोलो टार छ, उर्वर छ र मनोरम छ । 

अझ रामेछापको पुरानो सदर मुकामबाट दक्षिणतिरको मनोरम फाँट पनि यही हो जुन महाभारतको काखमा छ र ग्वाल्टारभन्दा माथि तरेली तरेलीको पहाड बन्दै च्याङ्लुङ्, कात्तिकै, भदौरे, ओख्ले अलि पश्चिमतिर सुदामे हुँदै सान्ने अनि रानीखोलाको टाउकोमा ल्यान्द्र्याङ ठाकुरको अग्लो पहाड छ । पारीतिर गोलन्जोर ठाकुरको पहाड छ । तर गाउँपालिकाको नाम भने गोलन्जोर ठाकुरको नामबाट राखिएको रहेछ । 

सायद ! ७ ओटा गाउँ विकास समितिको संयुक्त नाम राख्नुपर्दा नयाँ नाम राखियो होला किनभने अहिलेको गोलन्जोरमा डुडभन्ज्याङ, बितिजोर, भुवनेश्वरी, वाशेश्वर, रतन चुरा, तीन कन्या र भीमेश्वर गरी सात ओटा गाउँ विकास समितिहरूको समष्टिगत रुपमा एउटै नाममा कसैको पनि सहमति भएन होला । मलाई थाहा छैन ।  कुन प्रक्रियाबाट नामकरण भयो होला ।  तर गोलन्जोर एउटा ठुलो पहाडको या चुचुरोको नाम हो, जहाँ सायद शिवजीको मन्दिर छ । 

हामी मोही पार्दा धूप हाल्थ्यौँ जसमा गोलन्जोर ठाकुरलाई अनिवार्यरुपमा नौनीको धूप दिन्थ्यौँ । घरमा रोटी पकाउँदा होस् या खीर पकाउँदा होस् । गोलन्जोर ठाकुरलाई चढाएर मात्र खान्थ्यौँ । त्यसैले गोलन्जोर नामलाई कसैले पनि विरोध गरेन होला र आफ्नो गाउँ वा ठाउँको नाम नपरेपछि गुमनाम ठाउँको नाममा नै सहमति भयो होला । तर अहिले त्यो ग्वाल्टार गोलन्जोर गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ । 

ग्वाल्टारको बिर्तामा बराल वंशको र कार्की वंशको हक देखिन्छ । तर शुकदेव बराललाई सेन वंशी राजा शुभ सेनले आफ्ना काजीको लागि कुशबिर्ता दिएको पाइन्छ । भएको के रहेछ भने तत्कालीन काजी दामोदर कोइरालालाई उनकी छोरी शुकदेव बराललाई दिनका लागि राजाले भनेछन्  । तर दामोदर पाध्याले गरिब शुकदेवलाई छोरी नदिने भनेछन् । दुर्योधनले कर्णलाई अङ्ग देशको राजा बनाएजस्तै गरी राजाले पनि शुकदेवलाई धनी बनाउनका लागि एक अहोरात्रमा जत्ति भूमिमा उनले घुम्न सक्नेछन्, ती ठाउँको स्वामित्व उनलाई दिने भनेछन् । वि सं १७४४ मा शुभ सेनले उनले एक अहोरात्रमा जति घुमे त्यति भाग दिएछन्, सायद त्यसपछि शुभ सेनका काजी दामोदर उपाध्यायले शुकदेव उपाध्यायलाई छोरी दिए होलान् । 

त्यो बेलामा घोक्सिलामा मुख्य केन्द्र बनाएर आफूले घुमेको र राजाबाट पाएको बिर्ता चलाउँदा एउटा अर्को पनि घटना भएछ । राजा एक पटक घुम्न आउँदा बराल्नी बज्यैले अमलाको पातको टपरी बनाएर सबै कुरा राखेर राजालाई स्वागत गर्नुभएछ । तर त्यो ठुलो टपरीमा गोरस रहेनछ । राजाले सोधेछन्—बज्यै, सबै कुरा छ, मह छ, सखर छ, चामल छ, च्युरा छ, कागतीको अचार छ तर गोरस त छैन नि ! कुराउनी छैन, दही छैन, घिउ छैन ।

अनि बज्यैले बडो चतुर्‍याइँकासाथ भन्नुभएछ—महाराज, गाई पाल्ने ठाउँ छैन, गौ चरण छैन अनि कहाँबाट हुनु र गोरस ? अनि राजाले सोधेछन्—कहाँ छ त बज्यै गौ चरण ? अनि बज्यैले भन्नुभएछ—अलि पूर्वतिर एउटा टार छ, त्यो टार पनि यी बरालहरूलाई भए गौ चरण हुन्थ्यो र गोरस खान पाइन्थ्यो । राजाले दिएछन् । अचम्म के रहेछ भने माथिल्लो भेग शुकदेवलाई र तल्लो भाग सुनकोसीको तिरमा काजीका सन्तान कोइरालालाई राजाले दिएकाले ग्वाली राख्ने ठाउँमा जान अहमका कारणले सुनकोसीको खतरा बाटोमा डुङ्गाद्वारा आवत जावत गरिँदो रहेछ । पछि कोइराला र बरालका बिचमा सम्झौता भएर बरालहरूले ग्वाल्टार घोक्सिलाका भागहरूमा आफ्नो भोग भाग गराएका थिए रे ! 

ग्वाल्टारको विकासको क्रममा मध्य पहाडी राजमार्गको निर्माणको क्रममा त्यो कुलो मासियो । पानीका लागि सिमेन्टको कुलो बन्यो र पानी प्वाल पारेर बाँडिन थालियो । अहिले ग्वाल्टारको त्यो ऐतिहासिक धाराको कुनै चिनो पनि छैन जबकि त्यसलाई बचाउन सकिन्थ्यो । अब त त्यो बचाउन सकिँदैन । मेरो खेत मुहानमा थियो जखन्थानमा र पानी मैले जति पाउँथेँ, त्यति नै मेरो साथी गणेशको खेत थियो गोल्माथानमा, मेरो भाइ विष्णुको खेत थियो आठबिसेमा, पानी बराबरी बाँडिन्थ्यो । त्यो अचम्मको र वैज्ञानिक तरिकाको बाँडफाँट थियो । चाहे त्यो जयप्रकाश मल्लको न्याय थियो या ती बालक गोठाले बुद्धिमान राजाको विचार थियो । 

सायद ! बराल वंशसम्बन्धी अनुसन्धानमा यी कुराहरू छन् । तर मैले यहाँ सम्झन लागेको ग्वाल्टारको पुरानो चलन कुलाको पानीको बाँडफाँटका विषयमा हो । सायद १७४४ मा गुरुलाई बिर्ता दिएका शुभ सेन महाराजले केही वर्षपछि नै ग्वाल्टार पनि जब गौ चरणका लागि दिए, पक्कै नै त्यहाँको उर्वर भूमिमा बाली नाली लागेकै थियो होला ।  

बुझिन्छ, त्यो बस्तीमा माझीहरूको बस्ती थियो र लेखतिर कार्की काजीहरूको बस्ती थियो होला । बस्नेत, थापा, पाँडेहरूको राजनीतिक विवादसँगै राजनीतिको मारमा परेका थापाहरू पनि ग्वाल्टारमा थपिए होलान् । कार्कीहरू पनि दुई प्रकारका छन् ग्वाल्टारमा । सुतारहरुको बिर्ता हुनुपर्छ लेखतिर । यसबारेमा मैले जे सुनेको हुँ, त्यो कुरामात्र पुराना यादमा समेटेको हुँ । भन्न त मानिसहरूले भन्लान्, यति कुरा पनि अनुसन्धान नगरी या नबुझी किन लेखेको त ? 

मेरो इच्छा के हो भने मेरा अन्तरकुन्तरमा कतै बसेका यादहरूलाई समाज अघिल्तिर पस्केको मात्र हुँ । जब सत्ताबाट प्राप्त जग्गामा बस्तुभाउ पाल्न थालियो अनि ग्वाली भएको ठाउँमा घोक्सिलाबाट बिस्तारै बस्ती पनि सर्न थाल्यो होला र उर्वर भूमि भाग लगाएर खेती गर्न थालियो । करिब २ हजार मुरी बराबरको धान हुने ठाउँ हो ग्वाल्टार । त्यसको लागि पानीको व्यवस्था जरुरी भयो । बन्दिजोर खोला जसको मूल ल्यान्द्राङ र गोलन्जोरबाट निःसृत हुने पानीको आधारमा हुन्छ अर्थात् महाभारत शृङ्खलाबाट आउने पानी हो । महाभारतबाट उत्तर बग्ने खोलाहरूमध्येको बन्दिजोर वा बन्जर खोलाको पानी ल्याएर ग्वाल्टारमा सिँचाइ गरिएको बुझ्न सकिन्छ । 

जखन्थानदेखि गोल्माथानसम्मको जग्गा सिँचाइ गर्ने कुरा पहिले त दाजुभाइहरूमा सहजै भयो होला जब छुट्टिएर तेरो मेरा भयो विवाद देखियो, कसरी पानीको बाँडफाँट गर्ने ? शुकदेवको चौथो पुस्ताको दाजुभाइ र बाबु छोरामा पानीका कारणले विवाद भयो । एउटा इतिहासको नयाँ पाटो पनि त्यो बेलामा देखिन्छ, पानीको विवादको निरूपण गर्नका लागि शुभ सेनका राज्यका गुरुको सन्तानहरू कान्तिपुरका राजाको नजिक गएर पानीको बारेमा मुद्दाको छिनोफानो गरेका थिए रे । अर्थात् कान्तिपुरमा अन्तिम मल्ल राजा जयप्रकाश मल्लको दरबारमा उजुरी लिएर बाबु छोरा पुगेछन् । राजालाई कुराउनी, मह, मसिना धानको चामल, च्युरा, पट्टपट्ट फुटेका माल भोग केराको कोसेली लगेका थिए रे ! 
अनि राजाले पनि कुलाको पानीको व्यवस्थाका लागि पानी बाँड्ने धाराको व्यवस्था गरेको रे भन्ने छ । अर्को मैले सानामा सुनेको चाहिँ के हो भने कान्तिपुरका राजालाई भेट्न ती दाजु भाइ र बाबु छोरा पानीका बारेमा झगडा परेकोले राजाको आदेश लिन आएका रहेछन् । स्वभावतः राजालाई हनुमान ढोकामा भेट्न पाएनन् होला । कसैले भनेछख-बत्तिस पुतलीमा न्याय पाइन्छ । हुने के रहेछ भने बत्तिस पुतलीको राम मन्दिरमा दिउँसाभरि बस्तु हेर्न आउने काँठका गोठालाहरू बाग्मतीमा नुहाउने अनि दौडँदै आउने । जो पहिले राम मन्दिरको ढुङ्गाको कुर्सीमा पुग्छ, त्यो राजा, त्यसपछि पुग्ने काजी, अनि सेनापति अनि त्यही रोल क्रममा अरूचाहिँ सिपाही हुने ।

दिउँसाभरि त्यसै गरी खेल्ने अनि साँझ परेपछि आफ्ना आफ्ना बस्तुभाउ लिएर घरघर जाने । तर अचम्म के रहेछ भने त्यसरी राजा हुने, मन्त्री हुनेमा साँच्चै न्याय निसाफ गर्ने दैवी क्षमता हुने भएकाले मानिसहरू न्याय पाउन त्यहाँ जाने क्रम बढेको रहेछ जस्तो कि ज्योतिषका घरमा आफ्नो भविष्य खोज्न जाने हुन्छन् नि ! त्यो निसाफको नाम चलेको रहेछ र कतिपय परिवारको साँच्चै विखण्डन हुनबाट ती कृत्रिम राजा, काजीले जोगाएका रहेछन् । 

कान्तिपुरका राजाले ती बराल दाजुभाइ र बाबुछोराहरूको समस्या हेर्न नभ्याउँदा वा पहुँच नपुग्दा ती बरालवन्धुहरु पनि बत्तिस पुतलीको त्यो न्याय निसाफ प्रति आकर्षित भएछन् । लाग्यो होला केही न केही त समाधान आउला नि !

नभन्दै दिउँसो ती गोठालाहरू बस्तुभाउ बाग्मतीको किनारामा चर्न छोडेर सधैँजस्तो राजा, काजी, सिपाहीको खेल खेल्न दौडिएछन् र पहिले पुग्ने राजा भएछ, त्यसपछिको काजी भएछ , एवंरीत्या आफ्नो आफ्ना ठाउँमा बसेछन् । आजको पहिलो मुद्दा दिङदिङ अन्तर्गत ग्वालीटारको परेछ पानीको मुद्दा । राम्रोसँग कुरा सुनेछन् । सबै जग्गाको विवरण पनि लिएछन् र कति टाढाबाट पानी ल्याएको हो, पहिले कसको खेत छ, कति मुरी र अहिलेसम्म कसरी  पटाउने गरेको छ सबै बुझेपछि बस्तुभाउ लिएर घर जाने बेला भएछ ।  अनि राजा हुनेले भनेछन् - बाजेहरू, मेरो घर मूल पानीमा हो, त्यहाँ गएर बस्दै गर्नुहोला, हामी बस्तुभाउ लिएर आउँछौँ । अनि कुरा गरौँला । बाजेहरू गएछन् र घरमा गएर फलैँचामा बसेछन् । नभन्दै राजा हुने केटो पनि आयो र आमासँग भन्न थाल्यो—भोक लाग्यो, खाना चाहियो । 

आमाले भनिछन्—खट्टे भुट्दिन्छु, अनि खानू । आमाले खट्टे भुटेर दिएपछि त्यो केटो खट्टेमा खुँदो हाल्नु भनेर कराउन थालेछ । आमाले भनिछन्-आज खुँदो छैन, त्यत्तिकै खाऊ । अनि त्यो बच्चो छ लडीबुडी गरेर रुन थालेछ । अनि बाजेहरू छक्क परे , यो बच्चाले के न्याय गर्ला र ? भन्दै हिँड्न थालेछन् । अनि त्यो बच्चो जुरुक्क उठेर भनेछ- किन हिँडेको ? पानी समस्या समाधान गर्ने भनेको होइन र ? अनि बुढा बाजेले भनेछन्-तिमी आफैँ त यत्ति साना छौ, लडीबुडी गर्दै रुँदै छौ भने तिमीले हाम्रो पानीको समस्याको कसरी समाधान गरौला र ? 

अनि त्यो बुज्जकी केटा 'गाेठाले राजा' भनेछ—बाजेहरूले कुरै बुझ्नु भएको छैन । सकेसम्म आमाले खुँदो हाल्नुहोला, नभए खट्टे त सेलाउँछ भनेर रोएजस्तो गरेको पो त ! ल म समस्या समाधान गरिदिन्छु भनेर बारीबाट ढोड ल्याएर सात ठाउँमा पानीको बहावको आधारमा पानी बाँड्ने तरिका सिकाएछन् । नभन्दै सात ओटा धारो बनाएर पानीको बहावअनुसार सबैको मुहानमा बराबरी पानी सधैँ झर्ने गरी धारोको व्यवस्था भएको देखिन्छ । ग्वाल्टारको मुख्य फाँटमा कुलो कहिले खनियो भन्दा पनि १७४४ देखि १८२५ सम्म खनियो अर्थात् अन्तिम मल्ल राजाको सामुन्ने जाने भनेपछि विक्रम संवत् १८०० तिर धाराको व्यवस्था भएको हुनुपर्छ । 

अनि त्यो बेलाको राजनीतिक उतारचढावको पनि यसरी लख काट्न सकिन्छ—सेन वंशी राजाहरू नै उपत्यकाको सुरक्षा कवच थिए र उनीहरूको सम्बन्ध आपसमा राम्रो थियो र त ग्वाल्टारमा मल्ल राजाहरूले पनि मुद्दा हेर्दा हुन् र कोसेली खाँदा हुन् । पछि नभन्दै शाह राजाहरूले सेन वंश र मल्ल वंशलाई एकै पटक जिते र एकीकृत नेपालको जग बसालेको पाइन्छ ।

ग्वाल्टारको विकासको क्रममा मध्य पहाडी राजमार्गको निर्माणको क्रममा त्यो कुलो मासियो । पानीका लागि सिमेन्टको कुलो बन्यो र पानी प्वाल पारेर बाँडिन थालियो । अहिले ग्वाल्टारको त्यो ऐतिहासिक धाराको कुनै चिनो पनि छैन जबकि त्यसलाई बचाउन सकिन्थ्यो । अब त त्यो बचाउन सकिँदैन । मेरो खेत मुहानमा थियो जखन्थानमा र पानी मैले जति पाउँथेँ, त्यति नै मेरो साथी गणेशको खेत थियो गोल्माथानमा, मेरो भाइ विष्णुको खेत थियो आठबिसेमा, पानी बराबरी बाँडिन्थ्यो । त्यो अचम्मको र वैज्ञानिक तरिकाको बाँडफाँट थियो । चाहे त्यो जयप्रकाश मल्लको न्याय थियो या ती बालक गोठाले बुद्धिमान राजाको विचार थियो, जसको भए पनि तत्कालीन अवस्थामा दाजुभाइको बिचमा विवाद समाधान भएको थियो र आजसम्म पनि त्यो वितरणलाई आधार बनाएर पानी बाँडिने काम हुँदै छ । 

मैले सुनेअनुसार राजकुलाहरु नेपालभर छन् र पानीको बाँडफाँट गरिएका छन् । सायद त्यही सिद्धान्तअनुसार बाँडिएको हुनुपर्छ ।  

पहिले सुरुमा अहिलेको बितिजोर र भुवनेश्वरी गाउँ विकास समिति एउटै थियो । त्यसमा बा प्रधानपञ्च हुनुहुन्थ्यो । त्यो बेलामा ग्वाल्टारका कुनै पनि मुद्दा अड्डा अदालतमा जाँदैनथे । मेरो बाको विचारमा, गाउँका भद्र भलादमीका विचारमा सबै जम्मा भएर परिवारका परेका समस्याहरुेका बहस हुन्थ्यो र समाधान आपसमा निकालिन्थ्यो । बा, डिट्ठा जिबा, जिम्मल जिबा, बखत बहादुर थापा बडाबा, टेकबहादुर थापा काका, सीताराम बराल काका, गोविन्द बराल महालिबा, दीनवन्धु बराल महालिबा, ईश्वरीप्रसाद पोखरेल भानिजबा, भोजराज पोखरेल भानिजबा, ज्वाला कान्छाबा, कमलाकान्त अधिकारी कान्छाबा, हरिबहादुर कार्की जिबा, जनकलाल बराल जिबा, हर्कबहादुर थापा दाइ , भरतराज बराल आदि गाउँमा राती जम्मा भएर छलफल हुन्थ्यो र कसैले पनि त्यहाँ भएका विवादलाई बाहिर ल्याउँदैनथे । आपसमा मिलेर गाउँलाई एक ढिक्का गराएका थिए । 

त्यो एकताबद्ध गाउँ अब कल्पनामा मात्र रह्यो । जस्ता समस्याहरू पनि आपसमा समाधान गरिन्थ्यो । मलाई थाहा छ अलिअलि, एक पटक गाउँमा पाँच ओटा महत्त्वपूर्ण समस्याहरू आए—चोरीको, जुवाको , करणीको , कुटाकुटको र जग्गा विवादको । अनि मेरो बा प्रधानपञ्च हुनुहुन्थ्यो । मेरो बा एक्लै कहिल्यै पनि निर्णय गर्नु हुन्थेन । राती गाउँलेहरू घण्टी बजाएर जम्मा भए र करिब करिब रातको १२ बजेसम्म बसेर समाधानको सूत्र फेला पारियो र जो जो अभियुक्त हुन् तिनको समेत सहमतिमा त्यसलाई कार्यान्वयन गरियो ।

सामान्यतया मुद्दा छिन्दा आपसमा राखेर विवादको अन्त्य गरिन्थ्यो र अभियुक्त भनिनेको सहमतिमा समाधान निकालिन्थ्यो । त्यसैले कहिल्यै पनि कसैले कुनै गुनासो गरेको सुनिएन । अझ भनौँ ग्वाल्टारमा हाम्रो पञ्चायतको नाम पनि भुवनेश्वरी राखिएको  थियो, त्यसको गोप्य कुरो के थियो भने ओख्लेको भाविनी देवीको नाममा भुवनेश्वरी राखिएको हो । तर मेरो आमाको नाम नै भुवनेश्वरी थियो । बालाई लाग्यो भाविनी भनेकी भुवनेश्वरी हुन् ।  त्यसैले गाउँ पञ्चायतको नाम नै भुवनेश्वरी राखियो ।

हाम्रो पञ्चायत नै पछि बितिजोरमा बाँडियो । सिन्धुलीमा भुवनेश्वरी गाउँ विकास समिति सबैभन्दा सानो आकार र जनसङ्ख्याको भए पनि आदर्श गाउँ विकास समितिको रुपमा थियो । बाले प्रधानपञ्च छोड्नु भयो किनभने उहाँलाई भ्रम रहेछ , यो पञ्चायतमा काँग्रेसको छाप छ तर पछि थाहा भयो यो त काँग्रेसको लासमाथि गाडिएको नयाँ व्यवस्था रहेछ । त्यसपछि राजनीति नै छोडेर धार्मिक कार्यमा लाग्नुभयो, अठार पुराण लगाउनु भयो र पछि  गाउँ नै छोडेर मधेसतर्फ लाग्नु भयो । आफ्नो अन्त्य कालमा महोत्तरीको सीतापुरमा हुनुहुन्थ्यो । अहिले पनि ग्वाल्टारमा जस्ताको तस्तै छ हाम्रो खाइन पाइन । 

ग्वाल्टारको विकासमा सामूहिक प्रयास देखिन्थ्यो । पछि डिट्ठा जिबा गुणराज बराल जिल्ला पञ्चायतको सदस्य भएपछि उहाँले ग्वाल्टारमा बारी कुलो खनाउनु भयो र ग्वाल्टारमा समृद्धिको नयाँ आयाम सुरु गराउनु भयो । ग्वाल्टारमा कृषि सहकारी थियो, हेल्थ पोस्ट थियो, हुलाक थियो र पछि माध्यमिक विद्यालय भयो । पछिको ग्वाल्टारको विकासमा डिट्ठा जिबाको सत्प्रयासलाई बिर्सन सकिँदैन । अनि त्यो आदर्श गाउँ जो साँच्चै समृद्ध र सभ्यरुपमा अहिले पनि छ । अनि म सधैँभरि सपनामा पनि त्यो गाउँको कुना कन्दरा पुग्छु र ती अतीतका दिनहरू सम्झन्छु । मजस्ता अरु पनि होलान् जसले ती अतीतका दिनहरूलाई स्मृतिमा राखेर आजका दिनको समस्या समाधान गरिरहेका होलान् । 

एउटा ग्वाल्टारको आजको दिनका लागि कति ज्ञात अज्ञात क्षमतावानहरुको क्षमताले काम गरेको होला जसको नाम आज सम्झनामा पनि आउँदैन । तर सबैको सामूहिक प्रयासमा बनेको हो । नवराज सुवेदी काकाले माध्यमिक विद्यालयका लागि जुन प्रयास गर्नुभयो मन्त्रालय स्तरमा, त्यो सराहनीय थियो र पछि उच्च माध्यमिक बनाउनका लागि पनि धेरै मानिसहरूको योगदान थियो । अहिले त्यही कोशिका विद्यालय नै हाम्रो तिरको शिक्षाको आधार भूमि बनेको छ । हामी पनि त्यसैका उत्पादन हौँ र अझै कतिले शिक्षा पाउलान् भविष्यमा । 

यस्तै साना साना कामहरुको एकमुष्ट स्वरूप नै आजको गोलन्जोरको ग्वाल्टार हो , यस्तै ग्वाल्टारहरुको समूह नै आजको सिन्धुली हो, प्रदेश नम्बर ३ हो र पुरै नेपाल हो ।