पहिरोमा परेका ९ जनाको को शव भेटियो

पहिरोमा परेका ९ जनाको को शव भेटियो

लोकसंवाद संवाददाता  |  समाज  |  असार २८, २०७७

जाजरकोट ।  पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ । तीन बेपत्ता छन । बेपत्ताको खोजी कार्य जारी छ ।   बारेकोट–४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उहाँका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली,  कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ । त्यस्तै कल्पना सार्की, छ वर्षीय सुभाष सार्कीको पनि आज शव फेला परेको छ । बारेकोट–४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएकामा अहिलेसम्म शव फेला परेको छैन ।
 
घाइतेको उद्धार 

बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीय खोलामा आएको बाढीले बगाएर किनारामा फ्याँकेको अवस्थामा स्थानीयवासीले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहले बताउनुभयो । त्यस्तै पहिरोमा परी घाइते भएका बारेकोट–४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ ।
  
विस्थापितलाई खाने छैन 

सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितहरुका लागि खानेकुरा नहुँदा समस्या भएको छ । घर छाडेर जङ्गलमा बसेका सर्वसाधारण हैरान भएका छन् । नियमित पानी परिरहेकाले खुला आकाशमा भिज्दै आफन्तको पीडामा दिन बिताएका छन् ।