सरकारी स्कुलमा छ शिक्षक मध्ये पाँच जना एकै परिवारका

सरकारी स्कुलमा छ शिक्षक मध्ये पाँच जना एकै परिवारका

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७५

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ । विद्यालयका ६ मध्ये पाँच शिक्षक र एक लेखा कर्मचारी एउटै परिवारका सदस्य हुन् । यो विद्यालय स्थानीयस्तरमा ‘पारिवारिक विद्यालय’का नामले चिनिन्छ । 

प्रधानाध्यापक सीताशरण यादव स्थायी शिक्षक हुन् । उनकी छोरी संगीता यादव बालविकास कक्षाकी अस्थायी शिक्षिका हुन् । यस्तै, लेखा कर्मचारी अरविन्द यादव सीताशरणका ज्वाइँ हुन् । उनले निजी स्रोतमा जागिर खाएका छन् । अस्थायी शिक्षक वीरेन्द्र यादव र राहत शिक्षक धर्मेन्द्र यादव विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर यादवका भतिजा हुन् ।

जब कि प्रअ सीताशरण विश्वेश्वरका फुपूका छोरा हुन् । बालविकासकी अस्थायी शिक्षिका चन्द्रिका यादव धर्मेन्द्रकी श्रीमती हुन् । अर्की राहत शिक्षक सावित्री यादव मात्रै बेग्लै परिवारकी हुन् । तर, प्रअ सीताशरण सबै शिक्षक–शिक्षिकालाई विद्यालय व्यवस्थापन समितिकै निर्णयअनुसार प्रक्रिया पु-याएरै राखिएको बताउँछन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।