सहकारीमा पनि  ‘एटिएम’ सेवा

सहकारीमा पनि  ‘एटिएम’ सेवा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २८, २०७७

बागलुङ । सदरमुकामस्थित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘एटिएम’ सेवा शुरु गरेको छ । एटिएम सेवा शुभारम्भका अवसरमा शनिबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले सहकारीका सेवा प्रविधिमैत्री बन्दै गएकामा खुसी व्यक्त गर्नुभयो । शेयर सदस्यका लागि छरितो र सहजरूपमा कारोबार गर्न ‘एटिएम’ उपयोगी हुने उहाँको भनाइ थियो ।

जिल्ला सहकारी सङ्घ बागलुङका अध्यक्ष दीपक गौतमले सिवाइसीले प्रविधिको उपयोग गरेर सहकारी अभियानलाई गति दिएको उल्लेख गर्नुभयो । 'यो अन्य सहकारीका लागि पनि सिकाइ र मार्गदर्शन बन्न सक्छ', उहाँले भन्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमाकुमारी जिसी ‘अञ्जु’ले शेयर सदस्यका लागि वित्तीय साक्षरताको खाँचो औँल्याउनुभयो । सिवाइसीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले स्तरीय र प्रविधियुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताउनुभयो । समयको आवश्यकताअनुसार सहकारीका सेवालाई प्रविधिमैत्री बनाइएको उहाँको भनाइ थियो ।

'सरकारले पनि नगदरहित कारोबारमा जोड दिइरहेको छ', अध्यक्ष पौडेलले भन्नुभयो, 'सहकारीका सेवालाई पनि प्रविधिको प्रयोगबाट स्तरीय बनाउनुपर्छ ।' सहकारीले मोबाइल बैंकिङ, ‘क्यूआर कोड’ लगायतका सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा मिस्डकल सेवा, डिजिटल सर्भेजस्ता प्रविधिलाई प्रयोगमा ल्याइने सहकारीले जनाएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले देशका जुनसुकै ठाउँबाट ‘एटिएम’ सेवा लिन सकिने बताउनुभयो । हालसम्म २५१ शेयर सदस्यले एटिएम कार्ड बनाइसकेको उहाँको भनाइ छ ।

उक्त सहकारीमा १० हजार शेयर सदस्य छन् । अर्को आवभित्रमा थप २६ वटा सहकारीसँग एकीकरण गर्ने तयारी भइरहेको अध्यक्ष पौडेलले बताउनुभयो । आगामी पाँच वर्षभित्रमा ५० हजार शेयर सदस्य पु¥याउने लक्ष्य सहकारीको छ । यस्तै १०० सेवा केन्द्र स्थापना गरी दुई हजार ५०० शेयर सदस्यलाई उद्यममा जोड्ने योजना छ । सहकारीले कर्जाको ब्याजलाई घटाएर एक अङ्कमा पु¥याउने जनाएको छ ।