भक्तपुर नगरपालिकाको मुख्य आम्दानी पर्यटन

भक्तपुर नगरपालिकाको मुख्य आम्दानी पर्यटन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७५

भक्तपुर  । भक्तपुर नगरपालिकाले पर्यटक शुल्कबाट मात्रै वार्षिक करोडौँ रूपैयाँ संकलन गरिरहेको छ । नगरको आम्दानीको मुख्य श्रोतको रूपमा नै पर्यटक शुल्कबाट जम्मा हुने रकम रहेको छ । 

नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ मा २४ करोड १४ लाख ४१ हजार रूपैयाँ आम्दानी गरेको थियो । उक्त वर्ष दुई लाख २७ हजार ६ सय १४ जना पर्यटक भक्तपुर नगर प्रवेश गरेका थिए । जसमा चीनसहित दक्षिण एसियाली मुलुकका ९९ हजार नौ सय ८० जना थिए । त्यस्तै, तेस्रो मुलुकका एक लाख २७ हजार ६ सय ३४ जना रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा पनि १८ करोड ४५ लाख १८ हजार रूपैयाँ आम्दानी गरेको छ । जसमा तेश्रो मुलुकबाट आउने पर्यंटकले १४ करोड ७२ लाख २८ हजार रूपैयाँ शुल्क बुझाएका छन् । सार्क राष्ट्रहरू र चीनबाट आएका पर्यटकले तीन करोड ७२ लाख ९० हजार रूपैयाँ शुल्क तिरेका छन् । 

नगरपालिकाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रूपैयाँ पर्यटन शुल्क उठाउँदै आएको छ । तेस्रो मुलुकका पर्यटकहरूलाई भने प्रतिव्यक्ति एक हजार पाँच सय रूपैयाँ प्रवेश शुल्क लाग्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।