शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँमा पहिराेले घर बगायो

शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँमा पहिराेले घर बगायो

लोकसंवाद संवाददाता  |  समाज  |  असार २८, २०७७

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँमा शनिबार राति पहिराले एक घर बगाएको छ । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिराले स्थानीयवासी मुरली ढकालको घर बगाएको हो ।

ढकालका परिवार घरभित्रै रहेका बेला पहिरो आएपछि उहाँसहित पाँच जना सामान्य घाइते हुनुभएको स्थानीयवासी विशाल ढकालले जानकारी दिनुभयो । पहिराले घर बगाएपछि स्थानीयवासीले उहाँहरुको उद्धार गरेका थिए । पहिराले घर बगाएपछि मुरलीसहित उहाँका श्रीमती, दुई छोरा र एक छोरीले सोही ठाउँभन्दा अलि माथि रहेको छविराज ढकालको घरमा आश्रय लिनुभएको छ । 'अकस्मात् पहिरो आएर घर बगाएपछि स्थानीयवासीले तत्कालै उहाँहरुको उद्धार गरेका कारण थप क्षति हुन पाएन', विशालले भन्नुभयो, 'उहाँहरु अहिले छिमेकीका घरमा हुनुहुन्छ ।' 

सोही घरमा शनिबार साँझ एक वृद्धको कालगतिका कारण मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले पहिराका कारण घर बस्न नमिल्ने गरी क्षति भएको जानकारी दिनुभयो ।