जलमग्न महोत्तरी

महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो ।

महोत्तरीका रातु, बडहरि, अङ्कुशी, मरहा, जङ्घा, भब्सी र बाँकेलगायतका नदीमा उर्लेको बाढीले कटान र डुबान बढाउँदै लगेको छ । पछिल्ला चार दिनयता बाढीको पानी गाउँ नगर बस्तीमा पसेपछि जताततै जलाम्य बनेको हो । पानी नरोकिए बाढी बढ्दै जाँदा जिल्लाका मुख्य सडकहरु जलेश्वर–मटिहानी, जलेश्वर–बर्दिवास, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर र जलेश्वर–रौजा–बर्दिवासमा यातायात चल्ने अवस्था छैन । लकडाउनमा यात्रुवाहक सवारी साधन ठप्प भए पनि साना सवारी साधन ९जिप, मोटरसाइकल र साइकलसहित० चल्दै आएका यी सडकमा अब पैदल हिँड्न पनि नसकिने अवस्था छ ।
 
जिल्लाका नदीहरूमा जलस्तर बढेसँगै कतिपय स्थानमा नदीको तटबन्ध कटान  शुरु भएको छ । जिल्लाका उत्तरी क्षेत्रमा कटान र मध्य एवं दक्षिणी क्षेत्रमा डुबानले प्रभावित बनाएको जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले बताउनुभयो । जिल्लाका ४० भन्दा बढी बस्ती बाढीको उच्च जोखिममा रहेका सिंहको भनाइ छ ।
 
पछिल्लोपटक यसपालि मध्यअसारसँगै पानी पर्दा समयमै धान रोप्न पाएको खुशी पनि यहाँका किसानमा धेरै टिक्न पाएन । खेतका गह्रागह्रा भत्काउँदै पानीको रेला ९तीव्रगतिको बगाइ० चलेर रोपो बग्दै गएपछि किसानको खुशी खोसिएको हो । भर्खरैको रोपो बगाएको र अलि पहिलेको रोपो सरेको भए पनि अब डुबानले पहेँलिने चिन्ताले किसान विरक्तिएका छन् ।
 
यसैबीच जिल्ला प्रशासन कार्यालय महोत्तरीले नदीहरूमा जलस्तर बढ्दै गएपछि तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा सार्ने काम अघि बढाएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मी परिचालित गरी सुरक्षित ठाउँमा सार्ने र सबैलाई आइपर्ने विपद्बारे सचेत बनाउने काम भइरहेको  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । लोहारपट्टी, बलवा र जलेश्वर नगरपालिका क्षेत्रका केही बस्ती बढी जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गरिएको कटुवालको भनाइ छ ।

गत वर्षको बाढीले पनि यी तीन नगरपालिका क्षेत्रमा निकै क्षति गरेको थियो । गत वर्ष बाढीको चपेटामा परी आठ जनाको ज्यान गएको थियो भने २० हजारभन्दा बढी विस्थापित भएका थिए । नदी नियन्त्रण र वैज्ञानिक व्यवस्थापनको काम प्रभावकारी नहुँदा बर्सेनि तटबन्धका नाममा करोडौँ रकम स्वाहा हुने गरेको र जनता भने सधैँ त्राहिमामकै अवस्थामा रहेको बलवा नगरपालिकाको भगवतीपुर बस्तीका उत्तिम माझीले गुनासो गर्नुभयो ।