फेक रेस्क्यु : युरोपबाट नेपाल आउने पर्वतारोहीको बिमा गर्न आनाकानी

फेक रेस्क्यु : युरोपबाट नेपाल आउने पर्वतारोहीको बिमा गर्न आनाकानी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७५

काठमाडौं । नेपालका हिमाल आरोहण गर्न चाहने पर्वतारोहीको बिमा गर्न बिमा कम्पनीहरूले अस्वीकार गरेका छन् । विशेष गरी युरोपेली देशका बिमा कम्पनीहरूले पर्वतारोहीको बिमा गर्न आनाकानी गरेको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए । फ्रान्स, बेलायतलगायतका देशका बिमा कम्पनीले नेपालमा हुने गरेको फेक रेस्क्युलाई कारण देखाउँदै पर्वतारोहीको बिमा गर्न अस्वीकार गरेको उनले जानकारी दिए । उनले भने, ‘पर्वतारोहणअघि पर्वतारोहीले अनिवार्य बिमा गर्नैपर्छ । तर, आउँदो सिजनमा हिमाल आरोहण गर्न नेपाल आउन लागेका आरोहीको बिमा गर्न ती देशका बिमा कम्पनीहरूले गाह्रो मानिरहेको पर्वतारोहीले हामीलाई भनिरहेका छन् ।’ 

पर्वतारोहीहरूले आफ्नो देशका कम्पनीले बिमा गर्न नमानेको भन्दै नेपालमा बिमा गर्न सकिने–नसकिने विषयमा सोधपुछ गरिरहेको पर्वतारोहण पर्यटन व्यवसायी ठाकुरराज पाण्डेले बताए । उनले भने, ‘नेपालमा पर्यटक उद्धारका नाममा हुने ठगीलाई लिएर बिमा कम्पनीहरू बिमा गर्न तर्सेको देखिन्छ ।’ गत वर्ष अन्तर्राष्ट्रियस्तरमा फेक रेस्क्युले चर्चा पाएपछि सरकारले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा समिति नै गठन गरेर अध्ययन गरेको थियो । सो समितिले केही अस्पताल, ट्रेकिङ एजेन्सी, हेलिकोप्टर कम्पनीलगायतलाई कारबाही गर्ने सिफारिस गरेको थियो ।  

पर्यटकलाई बिरामी बनाएर उद्धारका नाममा पैसा अपचलन भएको विषयमा सरकारले गठन गरेको कार्यदलले कारबाहीको सिफारिस गर्दासमेत कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरू पर्वतारोहीको बिमा गर्न हच्किएको व्यवसायीको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।