इन्सुलिनको सुई र मात्रा : कस्ता कस्ता चिनी रोगीले लगाउने, ध्यान दिनै पर्ने कुरा

इन्सुलिनको सुई र मात्रा : कस्ता कस्ता चिनी रोगीले लगाउने,  ध्यान दिनै पर्ने कुरा

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  असार २८, २०७७

सन् १९२१ मा ब्यान्टिङ् र बेष्टले प्याङ्क्रियाजबाट इन्सुलिन निकालेर डायवेटिजको सफल उपचारको शुरुवात गरेका थिए । इन्सुलिन 'ए' र 'बि' चेनबाट बनेको हुन्छ ।  'ए' चेनमा २१ र 'बि' चेनमा ३० वटा एमाइनो एसिडहरू हुन्छन् । एमाइनो एसिड भनेको प्रोटिन हो ।

पहिले गाई र सुँगुरको प्याङ्क्रियाजबाट पैदा गरिएको इन्सुलिन प्रयोग गरिन्थ्यो । गाईको प्याङ्क्रियाजबाट निकालिएको इन्सुलिनलाई वोभाइन र सुँगुरको प्याङ्क्रियाजबाट निकालिएको इन्सुलिनलाई पोरसाइन इन्सुलिन भनिन्थ्यो । मानिसको इन्सुलिन र वोभाइन इन्सुलिनमा तीन एमाइनो एसिडको फरक हुन्छ भने पोरसाइन र मानिसको इन्सुलिनमा खालि एक एमाइनो एसिडको फरक हुन्छ । हिजो आज यी इन्सुलिनहरू प्रयोग गर्न छाडिएको छन् । आजकल विशेष तरिकाले पैदा गरिएको रिकम्बिनान्ट डिएनए टेक्नोलोजी (Recombinant DNA Technology)  इन्सुलिन एनालग प्रयोग गरिन्छ । 

सन् १९७८ मा इकोलाई नामक जीवाणुको मद्दतद्वारा ह्युमेन इन्सुलिन पैदा गरिएको इतिहास छ । 

नोभो नोरडिस्क (Novo Nordisk) ले सन १९८५ मा इन्सुलिन पेन प्रचलनमा ल्याएको हो । सन् १९९२ मा मेडट्रोनिकले मिनिमेड ५०६ इन्सुलिन पम्प (MiniMed 506 Insulin Pump) प्रयोगमा ल्याएको थियो । सन् १९९६ मा इलीलिली कम्पनीले लिसप्रो एनालग इन्सुलिनलाई ह्युमालग इन्सुलिनका नामबाट उपलब्ध गराएको हो ।  सन् २००० मा आइलेट सेल प्रत्यारोपण गरेर चिनी रोगको उपचार गर्न थालियो । सन् २०१३ मा क्याम्ब्रिज विश्वविद्यालयले आर्टिफिसियल प्याङ्क्रियाज बनाएर रगतको ग्लुकोज जाँची पम्पद्वारा आवश्यक इन्सुलिन प्रयोग गर्ने प्रविधिको आविष्कार गर्‍यो । सन् २०१५ मा एडवर्ड डामियानो (Edward Damiano) ले प्रत्येक ५ मिनेटमा इन्सुलिन र ग्लुकागोन दिएर चिनी रोगको उपचार गर्ने प्रविधि पत्ता लगाएका छन् । 

आजसम्म चिनी रोगको उपचार गर्ने अनेकौँ औषधि र प्रविधिहरू प्राप्त भइसकेका छन्ता पनि यो रोगलाई पूर्ण रूपले निको पार्न भने सकिएको छैन । भविष्यमा वैज्ञानिकहरूले चिनी रोगलाई निको पर्ने उपाय निकालेर विश्वभरका चिनी रोगीलाई खुसी पार्न सकुन् भन्ने आशा गरौँ । 

यदि जम्मा आवश्यक इन्सुलिन ३२ युनिट भयो भने यसको आधा अर्थात् १६ युनिट दिनमा एक पल्ट वेजल इन्सुलिन दिनु पर्छ । बाँकी रहेको १६ युनिटको आधा ८ युनिट बिहान ८ युनिट बेलुकाको खानासँग  वोलस इन्सुलिन प्रयोग गर्न सकिन्छ । उल्लेखित इन्सुलिनको मात्रालाई रगतको ग्लुकोज जाँचेर कम बेसी गर्नु पर्छ । वेजल इन्सुलिन अर्थात् ल्यान्टस इन्सुलिनले २४ घण्टा काम गर्छ । खानापछि रगतको ग्लुकोज बढ्न नदिन छोटो अवधि काम गर्ने वोलस इन्सुलिन प्रयोग गर्नु पर्ने हुन्छ । 

इन्सुलिनद्वारा चिनी रोगको उपचार

केटाकेटीहरूमा हुने पहिलो किसिमको चिनी रोगमा इन्सुलिनद्वारा उपचार गर्नुपर्छ । खाने ओखती खाँदा र खानामा परहेज गर्दा पनि दोस्रो किसिमको चिनी रोग नियन्त्रण भएन भने इन्सुलिन प्रयोग गर्नु पर्ने हुन्छ । हिजोआज दोस्रो किसिमको चिनी रोगको इन्सुलिनद्वारा उपचार गर्नु राम्रो हुन्छ भन्ने विशेषज्ञहरू पनि छन् । 

इन्सुलिनको सुइलाई शरीरका विभिन्न भागको छालामुनि प्रयोग गरेर चिनीरोगीहरुको उपचार गरिन्छ । रगतमा धेरै ग्लुकोज बढेर पिसाबमा एसिटोन देखियो भने चिनी रोगीहरुको ज्यानलाई खतरा पुग्न सक्छ । यस्तो अवस्थामा छोटो अवधि काम गर्ने इन्सुलिनलाई लगातार शिराद्वारा प्रयोग गरिन्छ ।

इन्सुलिनको मात्रालाई कसरी मिलाउने भन्ने कुराको जानकारी आवश्यक छ। छोटो र बिचको लामो समयसम्म काम गर्ने इन्सुलिन हुन्छन् । छोटो सममयसम्म काम गर्ने इन्सुलिनलाई रेगुलर इन्सुलिन भनिन्छ । यो किसिमको इन्सुलिनले सुई दिएको आधा घण्टामा काम गर्न थाल्छ र यसको सबैभन्दा ज्यादा काम २ घण्टा पछि हुन्छ । रेगुलर इन्सुलिनले ६ घण्टासम्म काम गर्छ । 

छोटो अवधि काम गर्न इन्सुलिन निम्न प्रकारका छन् । 

१.रेगुलर ह्युमेन इन्सुलिन– Humalin or Novolin R 
२ आस पार्ट– Novolog  
३ ग्लाइसिन–Apidra
४ लिसप्रो–Humalog

लामो अवधिसम्म काम गर्ने इन्सुलिनहरू निम्न प्रकारका हुन्छन् । 

१  लिभोमिर
२ ग्लार्गिन अथवा ल्यान्टस
३ डेग्लुडेक अथवा ट्रासिबा

 न्यूट्रल प्रोटामिन हेजडर्न (Neutral Protamine Hagedorn) अर्थात् (एनपीएच)को काम गर्ने अवधि बिचको अर्थात् इन्टरमिडियट हुन्छ । यसको सबैभन्दा ज्यादा काम गर्ने समय सुई दिइएको ४  देखि १२ घण्टा भित्र हुन्छ र यसले ८ घण्टादेखि १८ घण्टासम्म काम गर्छ । एनपीएचमा ह्युमेन इन्सुलिन, प्रोटामिन र जिङ्क हुन्छ । हान्स क्रिश्चयन हेजडर्न (Hans Christian Hagedorn)  नामक डेनिस चिकित्सकले सन् १९३६ मा प्रोटामिनलाई इन्सुलिनमा मिलाउँदा यसको काम गर्ने अवधि बढ्छ भनेका थिए । 

छोटो अवधि काम गर्ने इन्सुलिनलाई बिचको काम गर्ने इन्सुलिनसँग मिलाएर बनेका इन्सुलिनको प्रयोगद्वारा दिनभरिको रक्त ग्लुकोज नियन्त्रण गर्न सकिन्छ । यस किसिमका  मुख्य इन्सुलिन निम्न प्रकारका हुन्छन्  । 

१.हुमालग मिक्स – ७५/२५, ५०/५०  लिस्प्रो प्रोटामिन र लिस्प्रो मिलाएको इन्सुलिन ।
२ नोभोलग मिक्स–७०/३० आस पार्ट प्रोटामिन र आस पार्ट मिलाएको इन्सुलिन ।
३ ह्युमालिन मिक्स– एनपीएच र रेगुलर इन्सुलिनलाई मिलाएर बनाएको इन्सुलिन– ७०/३० 
४ वेजल बोलस इन्सुलिन (Basal Bolus Insulin)

वेजल इन्सुलिनले २४ घण्टा रगतको ग्लुकोज नियन्त्रण गर्छ । उदाहरणको लागि ल्यान्टस इन्सुलिनलाई लिन सकिन्छ । यो किसिमको इन्सुलिनलाई दिनमा १ अथवा २ पल्ट प्रयोग गर्न सकिन्छ । खानापछि रगतको ग्लुकोज बढ्छ र यसलाई नियन्त्रण गर्न छोटो अवधिका इन्सुलिन प्रयोग गरिन्छ । रेगुलर ह्युमेन इन्सुलिनले सुई दिएको आधा घण्टापछि काम गर्न सक्ने भएकाले खाना खानु भन्दा आधा घण्टा अघि यसको सुई लगाउनु पर्छ । छोटो अवधि काम गर्ने आस पार्ट र लिसप्रो जस्ता इन्सुलिनहरूले ३ देखि १५ मिनेट भित्र काम गर्न थाल्ने भएकाले यिनीहरूलाई खाना अगाडि मात्रै प्रयोग गर्नु पर्छ । 

चिनी रोगीहरूलाई इन्सुलिन प्रयोग गर्दा गरिने इन्सुलिनको सबैभन्दा ज्यादा काम गर्ने समय र यसको काम गर्ने अवधिको जानकारी अति आवश्यक हुन्छ । इन्सुलिनको सबैभन्दा ज्यादा काम गर्ने समय र यसको काम गर्ने अवधि अनुसार इन्सुलिनको मात्रा तलमाथि पार्नु पर्ने हुन्छ । बिहान ब्रेकफास्टको समय अर्थात् करिब ८ बजे र बेलुकाको खाना खाने बेलामा बिच अवधि काम गर्ने इन्सुलिन प्रयोग गर्दा सबैभन्दा कम रगतको ग्लुकोज हुने समय अर्को दिनको बिहान हुन्छ । इन्सुलिनको सुईले सबैभन्दा ज्यादा रगतको ग्लुकोज कम गर्ने समयको रगतमा पाइने ग्लुकोजको आधारमा इन्सुलिनको मात्रा  कम बेसी गर्नु पर्छ । इन्सुलिनको मात्रा मिलाउनुको साथै कार्बोहाइड्रेट खाना पनि कम बेसी गर्नु पर्ने हुन्छ । 

ह्युमालग ७५/२५ मा छोटो अवधि काम गर्ने इन्सुलिन २५ प्रतिशत हुन्छ भने ह्युमालग ५०/५० मा ५० प्रतिशत छोटो अवधि काम गर्ने लिसप्रो इन्सुलिन हुन्छ ।  खाना पछिको रगतको ग्लुकोज ज्यादा हुने चिनी रोगीहरूलाई ह्युमालग ५०/५० प्रयोग गर्नुपर्छ भने रगतको ग्लुकोज कम हुनेहरूलाई ह्युमालग ७५/२५ प्रयोग गर्नु पर्ने हुन्छ । प्रयोग भइरहेको ह्युमालग ५०/५० ले खाली पेटको रगतको ग्लुकोज वाञ्छनीय हुने तर खाना पछिको रगतको ग्लुकोज ज्यादा पाइने भयो भने खानामा कार्बोहाइड्रेट कम गराउनु आवश्यक पर्छ ।

सुङ्ने इन्सुलिन (Inhaled Insulin)

इन्सुलिनलाई मुखद्वारा सास फेरेर फोक्सोमा पुर्‍याएर पनि उपचार गरिएको पाइन्छ । यसरी इन्सुलिन प्रयोग गर्ने प्रविधि सर्वप्रथम अमेरिकामा सन् २००६ मा सुरु गरिएको भए तापनि सन् २०१४ प्रयोगमा पुनः ल्याइयो । हाम्रो देशमा अझै यस्तो किसिमको प्रविधि प्रचलनमा छैन । पुरानो फोक्सोका रोगीहरूले सासद्वारा इन्सुलिन प्रयोग गर्नु हुँदैन ।  यो प्रविधिद्वारा इन्सुलिन प्रयोग गर्नु अघि फोक्सोमा रोग लागे नलागेको पत्ता लगाउने जाँच गर्नु पर्छ । 

पिसाबको जाँच  

धेरै पहिले वेनेडिक्टस टेस्ट गरेर पिसाबमा ग्लुकोज भए नभएको थाहा पाउने चलन थियो । विश्व प्रसिद्ध चिनी रोगका विशेषज्ञहरूले पिसाबमा ग्लुकोज जाँचेर चिनी रोगको उपचार गर्दथे ।अधिकांश चिनीरोगीहरुमा रगतको ग्लुकोज १८० मिलिग्राम भन्दा ज्यादा भएपछि मात्रै पिसाबमा ग्लुकोज देखा पर्छ । केही व्यक्तिहरूको रगतको ग्लुकोज सामान्य भएता पनि पिसाबमा ग्लुकोज देखिन्छ र यो अवस्थालाई रेनलग्लाइको सुरिया भनिन्छ । यसरी रगतको ग्लुकोज सामान्य भए तापनि पिसाबमा ग्लुकोज देखिनेहरूको उपचार गर्नु आवश्यक पर्दैन । 

रगतमा ग्लुकोज बढेर पिसाबमा ग्लुकोज देखियो भने औषधि गर्नु आवश्यक छ । बिहानको पहिलो पटकको पिसाबमा राताभरिको पिसाबको सङ्कलन हुने भएकाले रगतको ग्लुकोज कम भएता पनि ज्यादा ग्लुकोज देखिन सक्छ । यस्तो अवस्थामा इन्सुलिनको मात्रा बढाइयो भने रगतको ग्लुकोज कम भएर चिनी रोगी बेहोस हुन सक्छन् । यसर्थ रगतको ग्लुकोज थाहा पाउन बिहानको दोस्रो पटकको पिसाब जाँच गर्नु बुद्धिमानी हुन्छ । हुन त हिजोआज धेरै चिकित्सकहरू रगतको ग्लुकोज जाँचेकै आधारमा इन्सुलिनको मात्रा कम बेसी गर्छन् तापनि पिसाब जाँचेर पनि औषधिको मात्रा मिलाउन सकिन्छ । रगत जाँच भन्दा पिसाब जाँच गर्न धेरै सस्तो र चिनी रोगीहरू आफैले पिसाब जाँच गर्न सक्छन् । 

इन्सुलिनको सुई दिँदा ध्यान दिनु पर्ने कुरा

पेटको छालामुनि दिएको इन्सुलिन चाँडो रगतमा पुग्छ । तिघ्राको छालामुनि दिएको इन्सुलिन रगतमा ढिला पुग्छ । पाखुराको छालामुनि दिएको इन्सुलिन पेटमा दिएको इन्सुलिनभन्दा ढिलो र तिघ्रामा दिएको इन्सुलिनभन्दा चाँडो पुग्छ । बेलुकाको इन्सुलिनको सुई तिघ्राको छालामुनि दिँदा इन्सुलिन रगतमा बिस्तारै जान्छ र राती अचानक रगतको ग्लुकोज कम हुने सम्भावना हुँदैन । दुब्ला चिनी रोगीहरूलाई इन्सुलिनको सुई दिँदा मांसपेशीमा परेर इन्सुलिन चाँडो रगतमा पुग्छ । यसर्थ छालालाई च्यापेर इन्सुलिनको सुई दिनु बुद्धिमानी हुन्छ । मोटा मानिसहरूमा इन्सुलिन मासुमा पर्ने सम्भावना हुँदैन । 

इन्सुलिनको मात्रा पत्ता लगाउने तरिका

चिनी रोगीहरूलाई दिनभरिमा कति इन्सुलिन चाहिन्छ भन्ने विषयको जानकारी लिनु अति आवश्यक हुन्छ । सुरुमा इन्सुलिनलाई कम मात्रामा नै प्रयोग गरेर रगतको ग्लुकोजको आधारमा बिस्तारै इन्सुलिन बढाउनले अचानक रगतको ग्लुकोज कम हुने सम्भावना हुँदैन । 

एक किलोग्राम तौलको लागि ०.४ देखि ०.५ युनिट इन्सुलिन दिन सकिन्छ । यसरी चिनी रोगीहरूको तौलका आधारमा २४ घण्टामा आवश्यक पर्ने जम्मा इन्सुलिन हिसाब गरेर पत्ता लगाउन सकिन्छ । 

यदि जम्मा आवश्यक इन्सुलिन ३२ युनिट भयो भने यसको आधा अर्थात् १६ युनिट दिनमा एक पल्ट वेजल इन्सुलिन दिनु पर्छ । बाँकी रहेको १६ युनिटको आधा ८ युनिट बिहान  र ८ युनिट बेलुकाको खानासँग  वोलस इन्सुलिन प्रयोग गर्न सकिन्छ । उल्लेखित इन्सुलिनको मात्रालाई रगतको ग्लुकोज जाँचेर कम बेसी गर्नु पर्छ । वेजल इन्सुलिन अर्थात् ल्यान्टस इन्सुलिनले २४ घण्टा काम गर्छ । खानापछि रगतको ग्लुकोज बढ्न नदिन छोटो अवधि काम गर्ने वोलस इन्सुलिन प्रयोग गर्नु पर्ने हुन्छ । 

यो पनि 

चिनी रोग : के कारण लाग्छ ? लागेको कसरी थाहा पाउने ? र कति प्रकारका हुन्छन् ?

चिनी रोगीहरूको सङ्ख्या : नेपालमा १५ देखि १९ र विश्वमा करिब ३ प्रतिशत जनसङ्ख्या पीडित !

चिनी रोग : जसका कारण देखिने अल्पकालीन बिमार, लक्षण र उपचार

चिनी रोग र दीर्घकालीन रोग : यसले मिर्गौला, आँखा, स्नायु र छालामा पुर्‍याउने गम्भीर खाले क्षति

चिनी रोगका औषधि : कुन अवस्थामा कुन प्रयोग गर्ने ?

गर्भावस्थाको चिनी रोगको निदान, लाग्नु कारण र उपचारका विधि