उपत्यकामा थपिए ६ कोरोना संक्रमित

उपत्यकामा थपिए ६ कोरोना संक्रमित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २८, २०७७

काठमाडौं । आज असार २८ गते आइतबार उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै उपत्यकामा कुल संक्रमितको संख्या ३ सय ४७ पुगेको छ । आज काठमाडौंमा ५ जना ललितपुरमा १ जना संक्रमित थपिएका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेका अनुसार उपत्यकामा संक्रमितमध्ये धेरैजसो बाहिरबाट आएकाहरु छन् ।

कतै पनि यात्रा नगरेका पनि केही संक्रमित रहेको उनले बताए । उपत्यकाका विभिन्न १२ ठाउँबाट समुदायस्तरको नमुना संकलन गरिएको उनले बताए। संकलन भएको ३ हजार नमुनामध्ये ३ जनामा मात्रै संक्रमण देखिएको उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन् ।

 धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला जिल्लामा भने अहिलेसम्म कोरोना संक्रमित पाइएको छैन । 

आइतबार देशभर थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ। यो समेत हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन् ।  यो सँगै हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ ।