नेपालीको आत्म सम्मानमा चोट: भारतीय समाचार सञ्चार माध्यमको नियतमा खाेट

नेपालीको आत्म सम्मानमा चोट: भारतीय समाचार सञ्चार माध्यमको नियतमा खाेट

प्रा‍‍. डा‍‍. शरद वन्त  |  दृष्टिकोण  |  असार २८, २०७७

सिङ्गो विश्वसँगै कोभिड १९ को प्रकोप विरुद्ध हामी लडिरहेको  छाैं । यति बेला, बाढी र पहिरोको बिपत्बाट नागरिकको जीउ धन जोखिममा परेको सङ्कटसँग पनि हामी जुधिरहेका छाैं ।  काेरना महामारी र प्राकृतिक संकटकाे घडीमा भारतका केही समाचार सञ्चार माध्यमहरूले नेपालको सार्वभौमिकतालाई चुनौति दिँदै नेपालीको आत्म सम्मानमा गहिरो घाउ लगाउने दुष्प्रयास भइरहेकाे छ ।  यो देशको एक स्वाभीमानी  नागरिकको हैसियतले मौन बस्न नसकेर मेरो मातृभूमि प्रतिको अगाध माया र सम्मानलाई केही शब्दहरूमा अभिव्यक्त गर्न लागेको हुँ । 

देशको सम्मान र मर्यादालाई भूगोलको आयतनमा नापिँदैन । ठुलो होस् या सानो । देश अन्ततः देश नै हो, सबैको सार्वभौमिकता र मर्यादा बराबर हुन्छ । भारत भौगोलिक साँध जोडिएको हाम्रो छिमेकी देश मात्रै होइन । हाम्रा समान ऐतिहासिक परिवेश एवं मौलिक संस्कार, तथा सम्बन्धहरूले भारतलाई हाम्रो असल मित्र राष्ट्र पनि हो । यसैले औपचारिक परराष्ट्र नीति बाहेक भारतसँग हाम्रो विशिष्ट सम्बन्ध रहेको हामी सबैले आत्मसात् गरेकै छौँ । 

अनावश्यक बाह्य हस्तक्षेपको डटेर सामना गर्न म सबै नेपालीहरूलाई आग्रह गर्दछु । नेपाल र नेपालीको आत्म सम्मानमा चोट पुर्‍याउने भारतीय समाचार सञ्चार माध्यमहरूको सामाजिक बहिष्कार गरौँ । यो बहिष्कार भारतको विरोध होइन–शताब्दी पुरानो हाम्रो सुमधुर मित्रतामा आँच ल्याउन सक्ने त्यस्ता सञ्चार माध्यमहरूप्रति सतर्क रहन सम्पूर्ण भारतीय मित्रहरूलाई पनि सविनय अनुरोध गर्दछु । 

तर यो विशिष्ट सम्बन्ध समानता, आपसी सम्मान र मर्यादाको जगमा अडिएको हुनुपर्छ । देशको आकारको आडम्बर र शक्तिको घमन्डमा बनेको भेदभावपूर्ण सम्बन्ध हामीलाई कदापि स्वीकार्य हुँदैन । प्रत्येक भारतीयलाई म सौहार्द्रपूर्ण सम्मान गर्छु, उहाँहरूप्रति मेरो गहिरो स्नेह छ । तर, पछिल्लो समय केही भारतीय समाचार सञ्चार माध्यमहरूले मिचाहा शैलीमा नेपालीहरूको मुटुमा बिझ्ने गरी निरन्तर रुपमा नियतबस् नेपालको विरुद्ध गरेको आधारहीन, अमर्यादित, तथा आक्षेपपूर्ण दुष्प्रचार अत्यन्तै घृणित र निन्दनीय छ । भारतीय समाचार सञ्चार माध्यमहरूको यस्तो तुच्छ, अनैतिक र पेशाधर्मिताको सीमा तथा मर्यादा नाघेको अमानवीय आपत्तिजनक कार्यको म घोर भर्त्सना गर्दछु । यसले मलाई दुःखी मात्र होइन, आक्रोशित  समेत बनाएको छ । म हृदयको गहिराइदेखि धन्यवाद दिन्छु मल्टी सिस्टम अपरेटर (एमएसओ) परिवारलाई भारतीय समाचार सञ्चार माध्यमहरूलाई बन्द गरेकोमा । यो देशभक्तिको उद्गार हो । 

ऐतिहासिक तथ्य र प्रमाणहरूमा टेकेर माटो र सिमानाको रक्षा गर्दै हाम्रा आन्तरिक समस्याहरू हाम्रो आफ्नै विवेकले समाधान गर्दै अनावश्यक बाह्य हस्तक्षेपको डटेर सामना गर्न म सबै नेपालीहरूलाई आग्रह गर्दछु । नेपाल र नेपालीको आत्म सम्मानमा चोट पुर्‍याउने भारतीय समाचार सञ्चार माध्यमहरूको सामाजिक बहिष्कार गरौँ । यो बहिष्कार भारतको विरोध होइन–शताब्दी पुरानो हाम्रो सुमधुर मित्रतामा आँच ल्याउन सक्ने त्यस्ता सञ्चार माध्यमहरूप्रति सतर्क रहन सम्पूर्ण भारतीय मित्रहरूलाई पनि सविनय अनुरोध गर्दछु ।