कोरोनाको त्रासका कारण शव व्यवस्थापनमा समस्या

कोरोनाको त्रासका कारण शव व्यवस्थापनमा समस्या

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७७

दाङ । दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

केही दिनअघि घोराहीमा फेला परेको एउटा बेवारिसे शव जनप्रतिनिधि र प्रशासनको सहयोगमा परीक्षणपछि  व्यवस्थापनका लागि तयारीसमेत गरियो तर घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले  परीक्षण गर्न नमानेपछि रातारात तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालमा सम्पन्न गरियो । परीक्षणपछि व्यवस्थापनका लागि प्रहरीले प्रयास गर्दा स्थानीयवासीले अवरोध गरेपछि शव अलपत्र अवस्थामा अस्पतालमै छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले कोरोना संक्रमण नभएको शव पनि व्यवस्थापन गर्न अवरोध आएपछि समस्या भएको बताउनुभयो । बेवारिसे शव व्यवस्थापन तुलसीपुरमै गर्ने तयारी गर्न थालिएको चार दिन बितिसक्दा पनि अझै कुनै निष्कर्ष निस्कन नसकेको उहाँको भनाइ छ । 

यसअघि जिल्लामा आफन्त कोही नभएकी तुलसीपुरकी  फेसबुक लाइभमार्फत आत्महत्या गरेकी युवतीको शव व्यवस्थापनका लागि पनि कठिनाइ भएका प्रनाउ सिंहले बताउनुभयो । पछि उनको शव रोल्पामा रहेका उनका आफन्तकहाँ थियो ।  घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नमान्दा तुलसीपुरलाई शव व्यवस्थापनको समस्या भएको प्रनाउ सिंह बताउनुहुन्छ । तुलसीपुरमा केही समय अगाडि रोल्पाका एक संक्रमितलाई वडा नम्बर १२ मा लगेर व्यवस्थापन गरिएपछि स्थानीयवासीले विरोध गर्दै आएका छन् । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देव परीक्षण गर्ने काममा कुनै रोक नगरिएको बताउनुहुन्छ । प्रतिष्ठानमा सरसफाइ गर्नुपर्ने वा कुनै अत्यावश्यक काम हुँदा रोकिएको हुन सक्ने उहाँले बताउनुभयो । 'जुनकुनै अस्पतालमा पनि कहिलेकाहीँ पोष्टमार्टम नहुन सक्छ, त्यसलाई आधार बनाएर गरेन भनेर प्रचार गरिनु ठीक भएन',  देवले भन्नुभयो ।