ओखरकोटको स्वरुप फेरिँदै

ओखरकोटको स्वरुप फेरिँदै

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७७

प्युठान । झिमरुक गाउँपालिका वडा नं ५ मा रहेको ओखरकोटकोे स्वरुप फेरिँदै छ । धार्मिक तथा पर्यटकीयस्थलमा सिंढी निर्माण गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटक ओखरकोटमा पुग्नलाई सहज भएको छ । 

गत वर्षदेखि सिंढी निर्माण थालनी गरिएको हो । ओखरकोट पुग्नका लागि पेदीपाटाबाट सिंढी निर्माण शुरु गरिएको झिमरुक गाउँपालिकाका सबइञ्जिनीयर नगेन्द्र आचार्यले बताउनुभयो । अघिल्लो वर्ष २८८ मिटरमा २८७ वटा सिंढी निर्माण गरिएको छ भने यस वर्ष २२ मिटरमा २४९  सिंढी निर्माण गरिएको उहाँले बताउनुभयो ।

सिंढीका दायाँबायाँ आकर्षक रेलिङ बनाइएको छ । संघीय सांसद दुर्गा पौडेलको सांसद विकास कोषमार्फत अघिल्लो वर्ष ५० लाख र चालु आवमा  थप ५० लाख गरी  एक करोड रुपैयाँ बजेटमा  कोटघरसम्म सिंढी निर्माण गरिएको जनाइएको छ । 

ओखरकोटमा बडादशैँ र चैतेदशैँमा  पशुबलि दिने प्रचलन रहेको वडाध्यक्ष टीकाबहादुर जिसीले बताउनुभयो । धार्मिक पर्यटनका साथै घुम्नका लागि मनोरम प्राकृतिक टापु र प्राकृतिक  दृश्यावलोकन यस क्षेत्रका प्रमुख विशेषता हुन् । भित्रीकोट राजाको सहायतामा पारस राजाले कोटमा राज्य चलाएको र पछि बहादुर शाहले कोटलाई पराजित गरी आफ्नो राज्यमा विलय गराएको इतिहासविद् बताउँछन् ।