भर्चुअल संवादमा भानुजयन्ती

भर्चुअल संवादमा भानुजयन्ती

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार २९, २०७७

लुम्बिनी । हरेक वर्ष भीडभाड र तामझामसहित मनाइने भानुजयन्ती यस पटक फरक ढङ्ले मनाइएको छ । भैरहवामा सिद्धार्थ साहित्य परिषद्को अगुवाइमा विशेष कार्यक्रमका साथ मनाइने भानुजयन्ती यसपटक विद्युतीय संवादबाट सम्पन्न गरिँदै छ  ।   

कोरोना भाइरसका कारण २०७ औँ भानुजयन्ती भर्चुअल संवाद गरेर मनाइँदै गरेको नेपाल प्रज्ञा –प्रतिष्ठान, प्राज्ञसभाका सदस्य प्रा डा कपिल लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजोदेखि नै हामी साहित्यकारहरु विभिन्न सङ्घसंस्थाले आयोजना गरेका भर्चुअल संवादमा सहभागी भएर भानुसम्बन्धी रचना वाचनका साथै भानु चिन्तन गरिरहेका छौंँ ।’

प्रा डा लामिछानेले भौतिक रुपमा एकै ठाउँमा धेरै  उपस्थित हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने त्रासले विद्युतीय माध्यमबाट भानुजयन्ती मनाइँदै गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज भानु माविको प्राङ्गणमा रहेको भानुको प्रतिमामा माल्यार्पण गरियो । अहिले पनि पर्वत साहित्यिक सङ्गमले सञ्चालन गरेको भानुविशेष भर्चुअल संवादमा छु ।’

विगत वर्षमा भानुजयन्तीका अवसरमा साहित्यिक संस्थाको अगुवाइमा सिद्धार्थनगर नगरपालिका, प्रदेश सरकार,  सामूहिक विद्यालय परिवारलगायतको सहभागितामा बाजागाजाका साथ पदयात्रा निकाल्ने, बजार परिक्रमा गर्ने र दिनभर साहित्यिक गोष्ठी  गरेर धुमधामले मनाउने गरिएको भानुजयन्ती यस पटक सामन्य रुपमा मनाइएको सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले बताउनुभयो ।