पहिरोमा पुरिएर मृत्यु, विभिन्न धनमाल क्षति तथा बाटो अवरोध

पहिरोमा पुरिएर मृत्यु, विभिन्न धनमाल क्षति तथा बाटो अवरोध

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७७

काठमाडौं । तनहुँ, अविरल वर्षाका कारण तनहुँ जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ भने ९ जना पहिरोमा हराई बेपत्ता भएका छन् । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा व्यास नगरपालिका-९ माझफाँट बस्ने ७० वर्षीया मैत कुमारी घर्ती र म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडा बस्ने १७ वर्षीय लक्ष्मी बिक रहेका छन् । पहिरोमा परी घाइते भएका रिसिङ गाउँपालिका-८ पल्टयाङ भैसिलिकि बस्ने ६० वर्षीया ज्योति माया थापालाई उद्दार गरी उपचारको लागि अस्पतालतर्फ पठाउनुका साथै पहिरोमा बेपत्ता भएका ९ जनाको खोजी कार्य गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

यसैगरी तनहुँ, ब्यास नगरपालिका-३ मादी पुल नजिकै पृथ्बी राजमार्गमा सोमबार बिहान आएको पहिरोका कारण बाटो अवरोध भएको छ । 

मोरङ, केराबारी गाउँपालिका-२ सिंहदेवी चिसाङखोला छेउ खानी भन्ने ठाउँमा अविरल बर्षाको कारण पहिरो आउँदा सोही ठाउँ बस्ने हाल नाम, थर नखुलेकी अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । 

स्याङजा, हरिनाश गाउँपालिका-४ चित्रे बस्ने लुद्र बहादुर रानाको कच्ची घरमा सोमबार बिहान आएको पहिरोका कारण घरको पूर्व पट्टिको कोठा, नजिकै रहेको भान्साकोठा र कच्ची गोठ बगाएर क्षति भएको छ । 

यसैगरी स्याङजा, पुतली बजार नगरपालिका-१ बर्जा र प्रगतिनगरस्थित सिद्दार्थ राजमार्गमा सोमबार बिहान आएको पहिरोका कारण बाटो पूर्णरुपमा अबरोध भएको छ । 

सबै स्थानमा तत्काल खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आवश्यक उद्दार कार्य गर्नुका साथै पहिरोका कारण अवरोध भएका स्थानमा पहिरो हटाउने कार्य गरिरहेको छ ।