टुकुचा खोलाको व्यवस्थापन गरिने

टुकुचा खोलाको व्यवस्थापन गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०७७

काठमाडौ‌ । सरकारले शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गर्ने भएको छ । छ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्ष यसको व्यवस्थापनको काम गर्ने जनाएको हो ।  मध्य शहरबाट बग्ने टुकुचाको दायाँबायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थितरुपमा बाटो र ट्र्याक निर्माण गरिने पनि मन्त्रालयको योजना छ । आज शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले टुकुचा खोला आसपासको अनुगमनका क्रममा शहरलाई सुन्दर बनाउनका लागि टुकुचा खोलाको दायाँबायाँ किनारालाई व्यवस्थित बनाइने बताउनुभएको हो ।  

छ किलोमिटर क्षेत्रलाई सुन्दर र प्राकृतिक बहावमा ल्याउनका लागि यो आवमा रु २० करोड खर्च गरिने मन्त्री मानन्धरले बताउनुभएको छ । सुन्दर शहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएको बताउँदै मन्त्री मानन्धरले सरकारले शहरी क्षेत्रको सुन्दरतालाई विशेष ध्यानमा राखेको बताउनुभयो । उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउन सरकारले दीर्घकालीन योजनासहित काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षको अन्त्यसम्म टुकुचाको रुप फेरिने दाबी गर्नुभयो ।   

अनुगमनमा अधिकार सम्पन्न एकीकृत वागमती आयोजनाका प्रमुख लीलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँबायाँ ढलसहित खोलामा शुद्ध पानीमात्र बगाउने योजना बनाइएको जानकारी दिनुभयो । ढकालले डिपिआर निर्माणको काम थालनी गर्न लागिएकोसमेत बताउनुभयो । प्रदेशसभा सदस्य केशव स्थापितले टुकुचा काठमाडौँको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।