‘दर्ता नगरे सामाजिक सञ्जाल बन्द’

‘दर्ता नगरे सामाजिक सञ्जाल बन्द’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७५

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताएका छन् । उनले नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने बताए ।

मन्त्रालयले संसद्मा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा छलफलका लागि आयोजित कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘दर्ता भएनन् र नेपालविरुद्ध नचाहिने काम गरे बन्द गर्ने हो ।’

उनले यहाँका उपभोक्ताले तिरेको मूल्यको केही न केही लाभ नेपालले पाउनुपर्ने बताए । ‘नेपाल सबैको उपभोक्ता बजार मात्रै होइन होला नि ?’ उनले भने ।

विधेयकमा भएका प्रावधानले सामाजिक सञ्जालमा अंकुश लगाउने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने भन्दै सरोकारवालाले चिन्ता राखिरहँदा मन्त्री बाँस्कोटाले हरेक विषयलाई स्वतन्त्रतासँग जोडेर हेर्न नमिल्ने बताए । उनले अभिव्यक्ति स्वतन्त्रताको कोकोहोलो मच्चाएर सामाजिक सञ्जाल कम्पनीले कर छलेको आरोप लगाए । संसद्मा विचाराधीन सूचना प्रविधि विधेयकमा नेपाली प्रयोगकर्ता भएका सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने र तोकिएको समयमा दर्ता हुन नआउने त्यस्ता सामाजिक सञ्जाललाई सरकारले प्रतिबन्ध लगाउन सक्ने प्रावधान विधेयकमा छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।