केएमसीद्वारा साउन १ बाट पीसीआर परीक्षणको तयारी, प्रति नमुना ५५ सय लिइने

केएमसीद्वारा साउन १ बाट पीसीआर परीक्षणको तयारी, प्रति नमुना ५५ सय लिइने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७७

काठमाडौँ । लामो प्रयत्न पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पताललाई ‘आफैँ स्वाब सङ्कलन गरेर कोभिड–१९ को पीसीआर परीक्षण’को  अनुमति पाएपछि केही दिन भित्र नै परीक्षण सुरु गर्न लागिएको कलेजले जनाएको छ । 

काठमाडौँ मेडिकल कलेजका मेडिकल डाइरेक्टर डा.मुकुन्दराज जोशीले दिनु भएको जानकारी अनुसार सबै समान खरिद गरेर पनि अनुमति नपाएकोले तयारी भएको थिएन । जोशीले भन्नु भयो–‘अब अनुमति पाएका छौँ । अब आन्तरिक तयारी थालेका छौँ । केही  तयारी मात्र बाँकी छ । सम्भव भयो भने २०७७ साउन १ गतेबाट नै परीक्षण थाल्ने गरी तयारी गरिरहेका छौ’।

कलेजलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको अनुमति अनुसार अस्पतालका बिरामी, कूटनीतिक निकाय र विदेश जानुपर्ने नेपालीहरूको कोभिड–१९को पीसीआर परीक्षण गर्न पाउने छ । यसरी अनुमति दिँदा नै काठमाडौँ मेडिकल कलेजलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै प्रति नमुना ५५ सय शुल्क लिन पाउने गरी अनुमति दिएको छ ।  मेडिकल डाइरेक्टर डा.मुकुन्दराज जोशीका अनुसार सरकारले तोकेको शुल्कमा नै पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ । 

यस अघि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ असार ८ गते सोमबारका दिन ‘निजी प्रयोगशालालाई कोभिड–१९ मेलिक्युलर परीक्षण (पीसीआर) गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७’ जारी गरेको थियो । सोही निर्देशिकाको मापदण्ड पुरा गरेको हुँदा काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पताललाई अनुमति दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।