वाजिरिस्तानमा आतंकवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु

वाजिरिस्तानमा आतंकवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  असार ३०, २०७७

एजेन्सी ।  पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको समाचारमा जनाइएको छ । 

उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले सोही अवस्थामा कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा ती सैनिक मारिएको पाकिस्तान सरकारले जनाएको छ । सोमबार ती सैनिक मारिएको बताइएको हो ।  

सो कारबाहीका क्रममा कम्तीमा पनि चार जना पाकिस्तानी सैनिक मारिएका छन्, पाकिस्तानी सेनाको स्रोतलाई उद्धृत गर्दै पाकिस्तानको एक दैनिक पत्रिका डनले जनाएको छ । 
पाकिस्तानी सेनाले प्रकाशन गरेको सो विज्ञप्तिमा उत्तरी वाजिरिस्तानमा आतंकवादीहरुलाई खोजी गएको सेनामाथि लुकेर बसेका आतंकवादीहरुले हमला गरेका थिए । पाकिस्तानी सेनाले त्यसको जवाफी फायर गरेको र सेनातर्फ चार जनाको ज्यान गएको पाकिस्तानका सैनिक अधिकारीले जनाएका छन् ।

गत महिनामा पनि सोही क्षेत्रमा पाकिस्तानी सेनाका दुई जना सदस्यको यसैगरी ज्यान गएको थियो । तर यस आक्रमणका विषयमा कुनै पनि आतंकवादी संगठनले भने केही बताएको छैन ।