अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार ३०, २०७७

काठमाडौं । रुकुम (पश्चिम), बाफिकोट गाउँपालिका-४ नुनई टाकुरीबाट सोही गाउँपालिका-५ बस्ने ३५ वर्षीय शंकर पुरीलाई अवैध लागूऔषध अफिम ४.५ केजी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाफिकोटबाट खटिएको प्रहरीले जाँच गर्दा प्लाष्टिकका ९ वटा झोलामा प्याकिङ गरी राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी पुरीलाई पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१३ बाट करिब १ केजी अवैध लागूऔषध गाँजासहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले प्रदेश २ ०-३०० प ६७२५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक सोही महानगरपालिका-१४ चाउथे बस्ने २२ वर्षीय दिपेन्द्र पुनले बोकेको झोलामा करिब ५ सय ग्राम गाँजाको धुलो फेला पारी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने निशान थापासमेतलाई पक्राउ गरेको थियो । 

अनुसन्धान गर्ने क्रममा सोही ठाउँस्थित ३५ वर्षीया लक्ष्मी गुरुङको एल एक्स खाजा घरभित्र टिनको बाकसमा लुकाई छिपाई राखेको करिब ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरी लक्ष्मी गुरुङ र सोही खाजा घरमा रहेका शंकास्पद धादिङ खनियाबास घर भएका काठमाडौं बस्ने २५ वर्षीय दिपक तामाङ समेतलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।