हिलोका कारण सडक नै खेत बनेपछि

हिलोका कारण सडक नै खेत बनेपछि

लोकसंवाद संवाददाता  |  समाज  |  असार ३०, २०७७

ललितपुर । ललितपुर महानगरपालिकाको कान्तिराजपथ अन्तर्गत  सातदोबाटो चापागाँउ खण्डमा पर्ने सुनाकोठीको चिबहालदेखि गोदावरी नगरपालिका अन्तर्गत ठेचो स्थित दिपमाला स्कूलसम्मको करीब ३ किमि बाटो अहिले ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको छ । 

वर्षाका कारण उक्त अलपत्र सडक पानी पर्दा हिलाम्य र धुलो उड्दा धुलाम्य हुने गरेको छ । 'यस्तो हिलो त हामीले हाम्रो खेत रोप्ने बेलाको खेत मात्र देखेका थियाैं ' , एक स्थानीय भन्छन । 'पानी जमेर पोखरी हो कि सडक छुट्टयाउन गारो छ', उनले भने । 'यस्तै हो भने यहाँ त माछा पालन गर्दा होला जस्तो छ', उनले थपे । 

सडक निर्माणका क्रममा करीब ८/९ महिना अलकत्रा कोतरेर छोडिदिएपछि सडक यो दुर्दशा भएको हो । 

दैनिक सैयौं गाडी तथा बाइक ओहोर दोहोर गर्ने चल्तीको उक्त सडकमा हिलोर चिप्लो बाटेका कारण बाइक पल्टिएर दुर्घटना समेत हुने गरेको स्थानीय बताउँछन् ।

लकडाउनका कारण निर्माण गर्न नसकिएको तर्क अगाडी सारेपनि कोरोनाको त्रास भन्दा पनि हिलो, धुलो र दुर्घटनाका कारण घाइते र ज्यानै समेत जाने खतरा रहेको पनि स्थानीयले बताए । 

बारम्बार प्रयत्न गर्दा पनि  अन्य कुनै उपाय नभएका कारण आजदेखि बाध्य भएर सडक बन्द गर्दै सडकमा नै रोपाइँ गर्नुपरेको पनि बन्दकर्ता तथा हिलोमा रोपाइँ गर्दै गरेकी एक स्थानीय महिलाले बताइन् ।

सुनाकोठीको यो सडक बन्द भएपछि  बिकल्पका रुपमा रहेको धापाखेल सातदोबाटो सडकखण्डमा पनि लामो जाम भएका कारण एम्बुलेन्स समेत प्रभावित भएकाे छ ।  बिरामीको बीचबाटोमै ज्यान जाने खतरा रहेको पनि धापाखेलका एक स्थानीयले बताए । 

स्मरण रहोस केही दिन अघिमात्र ललिपुर महानगर अन्र्तगतकै हरिसिद्धी सडकमा पनि स्थानीयले हिलाम्य सडकमा बिरोध स्वरुप धान रोपाइँ गरेका थिए ।