सामाजिक असुरक्षाको त्रास र  बुढो हुन मन नलाग्ने मनोविज्ञान

सामाजिक असुरक्षाको त्रास र  बुढो हुन मन नलाग्ने मनोविज्ञान

निर्जला कक्षपति  |  दृष्टिकोण  |  असार ३०, २०७७

साँच्ची मानिसलाई बुढो हुन पटक्कै मन हुँदैन । मन नहुँदा नहुँदै पनि, उमेर ढल्किँदै गएपछि  मानिस बुढो भएरै छाड्छ । आज गयो आफ्नै दिन, भोलि गयो आफ्नै दिन तर मानिसले बिर्सन्छ की उमेर ढल्कँदै गएपछि आफ्नो मिति पुग्दै जाने गर्छ भनेर  । बुढो भएपछि मानिसको शक्ति क्रमशः घट्दै जान्छ । आफ्नो शरीर र खानपानमा ध्यान नदिए मानिसलाइै चाँडो चाँडो रोग लाग्न सक्छ । मुख्य त आफूसँग शक्ति नभएपछि अरूले हेप्लान् कि भन्ने डरले मानिसलाई बुढो हुन मन लाग्दैन । यदि हामीलाई भाग्यले साथ दियो भने हामीले चाहेर पनि नचाहेर पनि हामी एक दिन अवश्य बुढो हुनपर्छ । यो कुरा प्रकृति र स्वाभाविक कुरा हो ।  त्यसैले शरीरमा कुनै रोग नलागीकन जो मानिस बुढो हुन्छन्, अथवा अल्पायुमै नमरी बाँच्न मानिसलाई ‘भाग्यमानी’ व्यक्तिले मात्र बुढो हुने अवसर पाउँछन् । 

बुढो भन्यो कि हाम्रो दिमागमा कपाल सेतै फुलेको, केटा मान्छेको दाह्री जुँगा फुलेको लट्ठीको सहायताले हिड्डुल गरेको, बोली लरबर गरेको दृश्य आँखा अगाडि आउने गर्छ । हुन पनि बुढो भएपछि धेरैको एउटै समस्या हुन्छ, हड्डी खिइने हुँदा हिँड्न नसक्ने, आँखा नदेख्ने, दाँत झर्ने हुनाले खान समस्या हुने कानले राम्रो नसुन्ने लगायतका समस्या देखा पर्नुलाई सामान्य मानिन्छ । 

आफूलाई सधैँ तन्नेरी देखाउन सौन्दर्यका अनेकौँ प्रसाधनहरू उपभोग नभएका पनि होइनन् । ७० वर्षकी बुढी आमाले पनि सेतो कपाल रंग्याएर कालो बनाउने गरेको र अनुहारका चाउरीपनलाई हटाउन अनेकौँ प्रसाधनहरू प्रयोग गर्ने गरेको हामीले देख्ने गरेका नै छौँ । तन्नेरी हुन गरेको यो प्रयासलाई हेर्दा पनि मानिसलाई बुढो हुने मन पटक्कै हुँदैन भन्ने प्रस्ट हुन्छ ।

शरीरमा धेरै प्रकारका समस्या हुने भएकाले नै मानिसलाई बुढो हुन नपरे पनि हुने जस्तो लागेको हुनुपर्छ र कत्तिले कहिल्यै बुढो भइन्न कि जस्तो व्यवहार गरिरहेका हुन्छन् ।  तर मानिसको जुनी लिएपछि जीवनको हरेक ‘स्टेज’लाई स्विकार्नु र यसलाई मनोरञ्जनका रुपमा ग्रहण गर्न सक्नु पर्दछ । त्यसैले बुढ्यौलीपन त्यस्तो अवसर पनि हो जून अल्पायुमै मृत्यु हुनेले यो उपभोग गर्न नै पाउँदैन । लामो आयुसम्म बाँच्नेले नै बुढ्यौलीको अनुभव गर्न पाउँछ । बुढाबुढी हुनु भनेको अनुभवले खारिनु पनि हो । त्यसैले अरूले बुढो भन्लान् भनेर आफ्नो उमेर लुकाउनु अथवा ढाँट्नु भनेको आफूले आफूलाई छल्नु मात्र हो । 

आफू युवा अवस्थामा रहँदा बुढा या बुढी भएपछि म कस्तो देखुँला भन्ने कौतुहलता लाग्नु स्वाभाविक हो । केही व्यक्तिले यही कौतुहलता मेटाउन एप्सको माध्यमबाट आफ्नो बुढ्यौली पनको आकृति कोरिएको फोटो फेसबुकमा सार्वजनिक गर्ने गरेका छन् । यसले बाहिरी आवरणलाई छर्लगं देखाइदिए पनि मानिसका शरीर भित्रका अङ्गहरू कति कमजोर हुँदै जान्छन् भन्ने कुरा भने देख्न सकिँदैन । जे भए पनि बुढ्यौली उमेरमा शरीरका हरेक अङ्गहरू कमजोर हुँदै गएका हुन्छन् । उमेरमा जस्तो खान लाउन र हिँडडुल गर्न सक्ने अवस्था हुँदैन । त्यसैले त हाम्रो जस्तो देशमा बुढेसकालका लागि भनेर जोहो गर्ने र निरन्तर काम नगरे पनि सजिलैसँग आम्दानी हुने स्रोत मानिसले उमेर छँदै जोहो गरिँदै आएको छ । 

नेपालको कानुनले ६० वर्ष भन्दा माथि उमेर समूहका लागि वृद्ध भनी परिभाषित गरेको छ । नेपाली समाजमा भने ३५ वर्ष कट्यो भने अब त बुढो पनि हुन लाग्यो भनेर भन्ने गरिन्छ । तर नेपाली राजनीतिमा भने ६० वर्ष कटेका व्यक्तिहरू युवा नेता हुने प्रचलन छ । मानिस सधैँ युवा नै हुन किन चाहन्छन् ? समाजसास्त्रीहरु भन्ने गर्छन्, वृद्ध अवस्था  हुँदा एक्लो बस्नु पर्ने, घरमा बोल्ने साथी पनि नहुने अनि छोरा बुहारीको दूर व्यवहार पो खेप्नु पर्ने हो कि ! भन्ने डर नेपाली समाजमा व्याप्त रहँदै आएको छ । यही डर नै बुढो हुन मन नलाग्ने मनोविज्ञानले काम गरिरहेको हुन्छ । बाँचुन्जेल सधैँभरि आफ्नो हातखुट्टा चलिरहोस् भन्ने चाहाना प्राय सबैमा हुने गर्छ यो स्वाभाविक हो । 

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक हक हुनेछ  भनी उल्लेख गरिएको छ । संविधानमा यी कुरा उल्लेख भए पनि ज्येष्ठ नागरिकहरू सुरक्षित छैनन् । विकसित देशमा वृद्ध-वृद्धाको जिम्मा राज्यले नै लिने गर्छ ।  छोरा वा छोरी भएन अर्थात् छोराबुहारीले हेरेनन् भन्ने तनाव वृद्धवृद्धाले लिनु पर्दैन । वृद्ध–वृद्धाको लागि राज्यले हरेक क्षेत्रमा छुटै व्यवस्था गरिदिएको छ ।  हामी कहाँ भने राज्यले केही ठाउँमा सहुलियतको व्यवस्था गरे पनि कार्यान्वयन भएको भने पाइँदैन । बस चढ्दा समेत वृद्ध वद्धाले खलासीसँग कराउनु पर्छ । वृद्ध–वृद्धा भनेर सहयोग गर्ने त कहाँ हो कहाँ उल्टो दूर व्यवहार खेप्नु परिरहेको हुन्छ । 

 हिजोआज खानपान र जीवन शैलीका कारण मानिसको ४० वर्ष देखि नै कपाल तिल चामल हुन सुरु गर्छ । टेन्सनका कारण अनुहारमा चाउरीपनको धर्काहरू पनि कोरिन थाल्छन् । आफूलाई सधैँ तन्नेरी देखाउन सौन्दर्यका अनेकौँ प्रसाधनहरू उपभोग नभएका पनि होइनन् । ७० वर्षकी बुढी आमाले पनि सेतो कपाल रंग्याएर कालो बनाउने गरेको र अनुहारका चाउरीपनलाई हटाउन अनेकौँ प्रसाधनहरू प्रयोग गर्ने गरेको हामीले देख्ने गरेका नै छौँ । तन्नेरी हुन गरेको यो प्रयासलाई हेर्दा पनि मानिसलाई बुढो हुने मन पटक्कै हुँदैन भन्ने प्रस्ट हुन्छ । हास्य कलाकार हरिवंश आचार्यले यसै गाएका होलान् त ‘बुढो हुन मन छैन लौन के गर्नु, न उमेरलाई ब्याक गर्नु, न त प्याक गर्नु‘’ । 

हामीकहाँ बुढो भएपछि कसरी दिन बिताउने भन्ने निकै ठुलो चुनौतीका रुपमा देखिने गरेको छ । वृद्ध–वृद्धाका लागि दिनहुँ गएर रमाइलो गर्ने कुनै क्लब छैन, सङ्घसंस्था छैन । यद्यपि साथी भेट्न ठाउँ छैन । मनका कुरा गर्ने मान्छेको अभाव हुने गरेको छ ।  आफ्नै उमेरका मन मिल्ने साथी भेटियो भने वृद्ध–वृद्धाले आफ्ना कुरा साथीसँग त पोख्न पाउँछन् । 

हिजोआज भने कत्तिले यस्तो रमाइलो गर्ने उपायको  खोजी र थालनी आफैँबाट सुरु गर्न थालेको पाइन्छ ।  कोही वृद्ध–वृद्धाहरु हरेक शनिवार भेट गर्छन्, तास खेल्न जान्नेहरू खेल्छन् र रमाइलो गर्छन् । यसरी भेट्ने रमाइलो गर्ने भन्ने कुरा पनि पुरुषका लागि मात्र सम्भव भइरहेको छ । महिलाहरूका लागि त त्यो त्यति नै असम्भव हुँदै गइरहेको छ ।  त्यसैले त मलाई पनि कलाकार हरिवंश आर्चायले गाएको गीत गाउन मन लाग्यो, ‘बुढो हुन मन छैन लौन के गर्नु, न उमेरलाई ब्याक गर्नु, न त प्याक गर्नु...’।