काँग्रेसद्वारा  ब्याजदर र सुविधाहरु बैंकमार्फत लगानीकर्तासम्म पुर्‍याउनुपर्ने गभर्नरसँग आग्रह

काँग्रेसद्वारा  ब्याजदर र सुविधाहरु बैंकमार्फत लगानीकर्तासम्म पुर्‍याउनुपर्ने गभर्नरसँग आग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७७

काठमाडाैँ । नेपाली काँग्रेस ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक एवं पार्टीका सहमहामन्त्री डा‍. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले २०७७ असार ३० गते मंगलबार  नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटवार्ता गरेको छन् ।

भेटमा कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेसागत समूह, उद्योगी/व्यवसायीहरुसँग समितिले गरेको छलफलपछि प्राप्त सुझाव बजेटले सम्बोधन गर्न नसकेको हुँदा आगामी मौद्रिक नीतिमार्फत प्रभावित क्षेत्रहरुलाई सम्बोधन गर्न सुझाव दिइएको छ ।

राष्ट्र बैंकले तय गर्ने ब्याजदर र सुविधाहरु बैंकमार्फत लगानीकर्तासम्म पुर्‍याउनुपर्ने र यसले रोजगारीलाई जोगाउँदै अर्थतन्त्रलाई चलायमान गराउन सकिने संयोजक डा. महतले बताउनुभएको समितिका सदस्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

यस असाधारण अवस्थामा यातायात, पर्यटन, शिक्षा, उद्योगलगायत रोजगारी सिर्जना गर्ने क्षेत्रहरु अनुकूल मौद्रिक नीति ल्याएमा कोभिड–१९ ले पारेको प्रभावलाई क्रमशः न्यूनीकरण गर्दै जान सकिने बारेमा डा महतले धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधिमण्डलमा काँग्रेस केन्द्रीय सदस्य एवं समितिका सदस्यद्वय एनपी साउद र डा चन्द्र भण्डारी, समितिका सदस्यहरु राजीवविक्रम शाह, नैनसिंह महर, डा पोषराज पाण्डे र डा प्रभु बुढाथोकी सहभागी हुनुहुन्थ्यो ।