बाढीपहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन शुरु

बाढीपहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन शुरु

लोकसंवाद संवाददाता  |  समाज  |  असार ३१, २०७७

दमौली । आइतबार परेको भीषण वर्षापछि आएको बाढीपहिरोका कारण जिल्लामा भएको क्षतिको विवरण सङ्कलन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सम्बन्धित स्थानीय तहमार्फत क्षतिको विवरण सङ्कलन शुरु गरेको हो ।

बाढीपहिरोबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन तथ्याङ्क लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । प्रजिअ अधिकारीका अनुसार म्याग्दे गाउँपालिकाबाट ६१ घरधुरी विस्थापित भएको तथ्याङ्क कार्यालयलाई प्राप्त भइसकेको छ । म्याग्देका विस्थापित भएका घरधुरीलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत त्रिपाललगायतका सामग्री उपलब्ध गराइएको छ । 'अन्य स्थानीय तहबाट पनि क्षतिको विवरण माग गरेका छौँ', प्रजिअ अधिकारीले भन्नुभयो ।

जिल्लामा करिब २०० घरपरिवार बाढीपहिरोबाट विस्थापित भएको अनुमान गरिएको छ । उनीहरुलाई सम्बन्धित स्थानीय तहसँगको समन्वयमा वैकल्पिक बासको व्यवस्था मिलाइनेछ । पहिरोका कारण पृथ्वीराजमार्ग र शाखा मार्गहरुका अधिकांश ठाउँमा रुखहरु ढलेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ । ढलेका रुखलाई पन्छाएर राजमार्ग सञ्चालन गराइएको छ । जिल्लामा अधिकांश ठाउँमा खानेपानीको पाइप, बिजुलीको पोलहरुमा पहिरोले क्षति पुर्‍याएको छ ।