बन्यो टाइम मेसिन

बन्यो टाइम मेसिन

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  चैत्र ४, २०७५

भौतिक विज्ञानको स्थापित मूलभूत नियम र सिद्धान्तलाई भंग गर्दै रुसका वैज्ञानिकले टाइम मेसिनको निर्माण गरेका छन् । यद्यपि यस टाइम मेसिनमा अहिले धेरै जटिलता रहेका छन् । 

तपाईंहरूले ‘साइन्स फिक्सन’ फिल्ममा टाइम मेसिन हेर्नु भएकै होला । फिल्मका विभिन्न पात्रले यस मेसिनका माध्यमले ‘वर्तमानदेखि भविष्य’मा अथवा ‘वर्तमानदेखि भूतकाल’मा गरेको यात्राले धेरैलाई लोभ्याएको होला । प्रत्येक मानिस समयको अतिक्रमण गरी (वर्तमान छाडी) भूतकाल अथवा वर्तमान कालमा जान इच्छुक हुन्छ नै । तर, अहिलेसम्म यी दृश्य अथवा यस्ता कल्पना सिनेमाका पर्दामा मात्रै सीमित थिए । साइन्सको संसारमा यसको चर्चा गरिए पनि यो गफको स्तरमा मात्र सीमित थियो । तर, हालैमा भएको एउटा ‘डेभलपमेन्ट’ले टाइम मेसिनको कल्पना साकार गर्ने दिशामा ‘ब्रेक थ्रु’ भएजस्तै समाचार आएको छ । 

रुसका वैज्ञानिकले क्वाण्टम कम्प्युटरको उपयोग गरी ‘टाइम रिर्भस’ हुने प्रयोग प्रदर्शित गरेका छन् । अहिले वैज्ञानिकहरूले ‘टाइम ट्राभल’ को ‘डेमोस्ट्रेसन’ मात्रै गरेका हुन्, कुनै व्यक्तिले ‘टाइम ट्राभल’ गरेको होइन ।

स्मरण रहोस्, समयमा अगाडि अथवा पछाडि फर्किनु भौतिक विज्ञानको स्थापित नियमविरुद्ध हुन जान्छ । 

‘मस्को इन्स्च्यिुट अफ फिजिक्स एण्ड टेक्नोलोजी’का वैज्ञानिकले स्विजरल्याण्ड तथा अमेरिकाका वैज्ञानिकसँगको सहकार्यमा एउटा ‘टाइम मेसिन’ बनाएका छन् । यो ‘टाइम मेसिन’ क्वाण्टम कम्प्युटरको सहायताले बनाइएको हो । 

रुसका वैज्ञानिकले दाबी गरेका छन्– यस मेसिनको प्रयोगले समयलाई पछाडि फर्काउन सकिन्छ । तर मात्र ‘फ्रयाक्सन अफ सेकेण्ड’का लागि । 

आउनुस् फ्रयाक्सन अफ सेकेण्डबारे चर्चा गरौं ।

तपाईंका लागि समयको सबैभन्दा सानो इकाई सेकेण्ड हो । तर, वैज्ञानिकका लागि सेकेण्ड समयको सबैभन्दा सानो इकाई होइन । वैज्ञानिकले सेकेण्डलाई अति–अति सुक्ष्म भागसम्म टुक्राइसकेका छन् । क्यामराको फ्ल्यास जुन चम्किन्छ नि ! त्यो एक सेकेण्डको एक हजारौं भागमा चम्किन्छ । ए.एम.ब्याण्ड रेडियो तरंगको एक चक्र एक सेकेण्डको एक लाखौ भागमा पूरा हुन्छ । तपाईं हामी जी.पी.एस. प्रणाली प्रयोग गर्छौ, यसले दिने सिग्नलमा एक सेकेण्डको दस अर्बौ भागसम्मको ‘एकुरेसी’ हुन्छ । ‘अल्ट्राभायलेट’ तरंगको एक चक्र एक सेकेण्डको एक हजार खर्ब भागमा पूरा हुन्छ । 

यसैगरी हिग्स बोसान पार्टिकलको आयु एक सेकेण्डको १/१,०००,०००,०००,०००,०००,०००,००० भाग मात्रै हुन्छ । एक सेकेण्डलाई सानो भनेर अवहेलना नगर्नु होला । विज्ञानले एक सेकेण्डको १×१०-४३ भागसम्मको कल्पना गरी सकेको छ । अर्को कुनै लेखमा एक सेकेण्डको अगाडि र पछाडि दुवैको चर्चा गरौला । अहिलेलाई टाइम मेसिनकै चर्चा गरौं ।  

अहिलेको यस टाइम मेसिनले मानिसलाई समयमा पछाडि यात्रा गराउन सक्दैन । अहिले हामी प्रयोगात्मक चरणमा छौ’ ‘एमआइपीटी’को ‘ल्याबोरेटरी अफ द फिजिक्स अफ क्वाण्टम इन्फारमेसन’ का प्रमुख तथा यस अभियानका प्रमुख डा. गोरडे लेसोभिकले भने । उनका अनुसार अहिले समयमा ‘पास्ट’ वा ‘फ्युचर’ को यात्रा सम्भव छैन । तर, यो दिशामा शोधका लागि ठूलो ‘ब्रेक थ्रु’ भएको छ । 

यो सम्पन्न भएको प्रयोगले ‘थर्मोडायनेमिक्स' (Thermodynamics)  को दोस्रो नियमलाई भंग गरेको छ । यस नियमअनुसार ब्रह्माण्डमा समयका साथ सबै वस्तुमा क्षय (Decay) प्रक्रिया प्रारम्भ हुन्छ र एक दिन ती समाप्त हुन्छन् । सूर्य पनि कुनै न कुनै दिन समाप्त हुन्छ । हाम्रो वरिपरिका सबै वस्तु समाप्त हुन्छन् । रुसका वैज्ञानिकले दाबी गरेका छन्– उनीहरूले भौतिक विज्ञानको ‘थर्मोडायानेमिक्स’को यो नियम खण्डित गरिदिएका छन्, समयलाई पछाडि फर्काइदिएका छन् ।

‘थर्मोडायनेमिक्स’को पहिलो नियमका अनुसार, ऊर्जा न त उत्पन्न गर्न सकिन्छ र न त नष्ट नै गर्न सकिन्छ । यसलाई परिवर्तित मात्र गर्न सकिन्छ । डा. गोरडे लेसोभिकका अनुसार, हामीले एउटा ‘आर्टिफिसियल स्टेट’ बनाएका छौं । यो समयको ‘थर्मोडायनेमिक्स ऐरो’को विपरित गएर बनाइएको हो । उनका अनुसार हाम्रो अनुसन्धानले ‘थर्मोडायनेमिक्स’को दोस्रो नियमको विरोध गरेको छ । 

क्वाण्टम कम्प्युटर

हामीले प्रयोग गर्ने कम्प्युटरमा समस्त डाटा बिट्सका रूपमा संग्रहित हुन्छ, ० र १ का रूपमा । क्वाण्टम कम्प्युटरमा विट्सको सट्टा सबै डाटा कयूबिट्स (क्वाण्टम बिट्स) मा संचित हुन्छ । साधारण कम्प्युटरले वाइनरी कोड ० र १ को माध्यमबाट सबै जानकारी देखाउँछ भने ‘क्वाण्टम कम्प्युटिंग’ले कुनै जानकारी प्रदर्शित गर्न क्यूबिट्स ०, १ र १ को ‘सुपर स्टेट पोजिसन’ प्रयोगमा ल्याउँछ । क्वाण्टम कम्प्युटरले सामान्य कम्प्युटरभन्दा १ अर्ब गुना बढी स्पिडले डाटा प्रोसेसिङ गर्छ ।