हिलाम्य सडक, पैदलयात्रीलाई सास्ती

हिलाम्य सडक, पैदलयात्रीलाई सास्ती

लोकसंवाद संवाददाता  |  समाज  |  असार ३१, २०७७

बागलुङ । निरन्तरको वर्षाले कच्ची सडक हिलाम्मे बनेपछि जिल्लाका सबै स्थानीय तहका सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । आर्थिक वर्ष सकिनैलाग्दा खनिएका नयाँ सडक र पुराना सडकको स्तरोन्नतिको कामले सडक प्रयोगविहीन भएका हुन् ।   सवारी गुडाउन बनाइएका सडकमा पैदलयात्रा गर्न समेत कठिन रहेको बागलुङ नगरपालिका–९ तित्याङका हीराबहादुर खड्काले बताउनुभयो । 'बिहान खेतीपातीमा जाँदा हिँडेको बाटो साँझ फर्किने बेला हिँडिसक्नु हुन्न', खड्काले भन्नुभयो, 'पानी पर्न थालेपछि जमिन भत्काउन थाल्छन्, सधैँको सास्ती भयो ।'

सदरमुकाम बागलुङबजार र मध्यपहाडी लोकमार्गको घोडाबाँधे बुर्तिबाङ, पातिहाल्ने खण्डबाहेक जिल्लाका सडक कच्ची छन् । कच्ची सडकका कारण वर्षायाममा सबैभन्दा बढी मर्कामा पैदलयात्री पर्ने गरेका छन् । 'बाटो हिलाएको खेतजस्तै भएको छ, गाडी त चल्दैनन्, पैदल हिँड्नसमेत कठिन हुने', बरेङ गाउँपालिका–१ का सकसबहादुर क्षेत्रीले भन्नुभयो, 'सधैँको सास्ती दिने यो कस्तो विकास हो ? वर्षामा भत्काइएका सडकले मानवबस्ती तथा सार्वजनिक निकायका संरचनामा समेत असर गर्ने गरेको छ । स्थानीय सरकारले चलाएकाभन्दा प्रदेश सरकार र केन्द्र सरकारसँगको साझेदारीमा बनिरहेका सडक वर्षा लागेपछि मात्रै काम शुरु हुने गरेका छन् । गण्डकी प्रदेश सरकारको समपुरक अनुदान र बागलुङ नगरपालिकाको सझेदारीमा बनिरहेको तित्याङ–ठुलढुङ्गा सडक साझेदारीमा निर्माण हुने सडकको ज्वलन्त उदाहरण हो । 

लकडाउनका कारण रोकिएका साझेदारीका काम रकम फ्रिज हुने भएपछि अन्तिम समयमा धमाधम भइरहेका छन् । सडकका संरचना बनाउनेभन्दा कटिङका काम धेरै हुँदा हिलो र बाढीले सास्ती दिने गरेको छ । कोभिडका कारण समयमा काम नसकिएकाले सबै निर्माण व्यवसायीले अन्तिम समयसम्म काम गर्नुपरेको निर्माण व्यवसायी दीपेन्द्र खड्का बताउनुहुन्छ । 'निरन्तरको वर्षाले नयाँ बनेका काममा स्थानीयवासीलाई मात्रै होइन, हामीलाई समेत बाधा छ', उहाँले भन्नुभयो, 'सम्झौताअनुसार काम गर्नुपर्ने छ, तर जताजतै समस्या छन् ।' पूर्वाधार निर्माणका काम म्याद थपेर गर्ने योजना रहेको भए पनि नाली निर्माण र तारजाली भर्नेजस्ता काम समयमा नसक्दा थप समस्या उत्पन्न हुने भएकाले वर्षामा समेत निर्माण कम्पनीलाई काम गर्न लगाइएको बागलुङ नगरपालिकाका इञ्जीनियर मनोज शर्माले बताउनुभयो ।