ब्रेथलाइजर नहुँदा चालकको मुख सुँघेरै मापसे जाँच

ब्रेथलाइजर नहुँदा चालकको मुख सुँघेरै मापसे जाँच

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७५

डोटी । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नहुँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । 

बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको हो । ट्राफिक प्रहरी सवारी चालकको मुख सुँघेर मादकपदार्थ सेवन गरे/नगरेको पत्ता लगाउन बाध्य छन् । दिपायल जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालकको मुख सुँध्ने विषयमा कहिलेकाहीँ विवाद हुने गर्दछ । 

कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक मोहनसिंह धामीले जिल्लाभर एकमात्र ब्रेथलाइजर भएको र त्यो पनि बिग्रेर मर्मतका लागि कैलाली पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा मात्रै मेसिन थियो, त्यो पनि वर्षौं पहिले बिग्रेकाले मर्मतका लागि पठाएका छां । अहिलेसम्म फिर्ता आएको छैन ।’ अहिले चालकको आँखामा हेरेर, मदिराको गन्धले तथा शारीरिक अवस्थाबाट मापसे पत्ता लगाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी केदार रजौरेले बिग्रेका ब्रेथलाइजर उपकरण मर्मतका लागि केन्द्रीय कार्यालय पठाएकामा हालसम्म फिर्ता नआएको बताउनुभयो । कार्यालयको जिन्सी शाखाका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीमा एक, कञ्चनपुरमा एक र अत्तरिया दुईबाहेक अन्य सात जिल्लाका कुनै पनि ट्राफिक प्रहरीसँग ब्रेथलाइजर छैन । 

ब्रेथलाइजरको अभाव भएपछि यहाँका ट्राफिक प्रहरीले ब्रेथलाइजर किनिदिन स्थानीय तहसँग माग गरेका छन् । सो उपकरण २८ हजार रूपैयाँसम्म रकम पर्ने र ट्राफिक प्रहरीसँग बजेट नभएकाले किन्न नसकेको बताइएको छ । 

कञ्चनपुरमा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर गाडी चलाउने बढ्न थालेपछि त्यहाँ रहेको जिल्ला ट्राफिक प्रहरीको आग्रहका स्थानीय भिमदत्त नगरपालिकाले हालै एउटै ब्रेथलाइजर किनिदिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय जनाएको छ । 

प्राय: खैनी गुट्खा खाएका चालकलाई जाँच गर्दा उनीहरुले खाएको खैनी, गुट्खा ब्रेथलाइजरभित्र पर्ने भएका कारण बढी छिटो बिग्रिने गरेको ट्राफिक प्रहरीको गुनासो छ ।

कैलालीको अत्तरियादेखि डोटीको सिलगढीसम्म ट्राफिक प्रहरीका सात वटा जाँच पोस्ट छन् । तर, कुनैमा पनि ब्रेथलाइजर छैन, जसका कारण चालकले कति प्रतिशत मादक पदार्थ सेवन गरेको छ भन्न छुट्टयाउनै मुस्किल पर्ने गरेको बताइएको छ । 

स्थानीय निकायलाई ब्रेथलाइजर किनिदिन आग्रह गरे पनि हालसम्म कसैले पनि नकिनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको खबर राससमा विमलबहादुर विष्टले लेख्नुभएको छ ।