भोलिदेखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी विदाः प्याब्सन/एनप्याब्सन

भोलिदेखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी विदाः प्याब्सन/एनप्याब्सन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार ३१, २०७७

काठमाडौं । आफूहरुको माग पुरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भिर नबनेको आरोप लगाउँदै निजी स्कुल सञ्चालकले भाेली (बिहीबार साउन १ गते) देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक बसेर यस्तो निर्णय गरेका हुन्। साउन १ गतेदेखि नै लागु हुनेगरि उनीहरुले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा दिने निर्णय पनि गरेका छन्।

उनीहरुले तत्काल पढाई सञ्चालन गर्न नसके पनि साउन १ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेसन गर्नेलगायतका प्रशासनिक काम गर्न पाउनुपर्ने माग सरकार समक्ष राखेका थिए। साथै कोभिड-१९ का कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने तथा अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर विद्यार्थीबाट निश्चित शुल्क उठाउन पाउनुपर्ने माग पनि उनीहरुको थियो।

मन्त्रालयका अधिकारी, प्याब्सन, एनप्याब्सन, इस्टुलगायत शिक्षामा सरोकार राख्ने अधिकारीबीच भएको वार्तामा निजी स्कुल सञ्चालकको माग जायज भएको र एक साताभित्रमा कोरोना व्यवस्थापनका लागि गठन भएको सरकारी संयन्त्रमा पेश गर्ने प्रतिवद्धता मन्त्रालयले जनाएको थियो। मन्त्रालयको प्रतिवद्धतापछि उनीहरुले असार ३१ गतेसम्म पढाई सञ्चालन गर्न सहमत भएका थिए।

तर, शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन केसीले भने निजी विद्यालय सञ्चालकका मागबारे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा प्रस्ताव पेश गरेको तर छलफल हुन नपाएको बताए।