ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १, २०७७

एजेन्सी ।  विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । 

ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका कर्मचारीका अकाउन्ट ह्याक गरी आन्तरिक प्रणालीमा पहुँच हासिल गर्ने प्रयास गरेका थिए । 

साथै एप्पल, उबर, केन्ये वेस्ट, बिल गेट्स, बाराक ओबामा र अरु धेरै विशिष्ट व्यक्तिका आधिकारिक अकाउन्टबाट बिट्क्वाइन नामको क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी ट्वीट गरिएको थियो । 

ट्वीटरले भनेको छ, “केही व्यक्तिले हाम्रा कर्मचारीका अकाउन्ट ह्याक गरी ट्वीटरको आन्तरिक प्रणालीमा पहुँच हासिल गरेका र यो संगठित सामाजिक इन्जिनियरिङ आक्रमण हो भन्ने हामीले विश्वास लिएका छौं ।”

आक्रमणकारीले उच्चपदस्थ र सामाजिक रुपमा सुपरिचित व्यक्तिका अकाउन्ट ह्याक गरेर पहुँच बनाउन खोजेको ट्वीटरको भनाई छ । ह्याकरले अरु के कस्ता बदमासी गरेका छन् वा सूचनामा के कस्तो पहुँच कायम गरेका छन् भन्ने बारेमा हामी खोजी गरिरहेका छौं, ट्वीटरले भनेको छ ।

ह्याक गरिएका व्यक्तिका अकाउन्टबाट बिट्क्वाइनको कारोबार गर्दा दोब्बर फाइदा पुग्ने जस्ता सन्देशहरु प्रवाह भएका थिए । ३० मिनेटभित्र १,००० डलरको एउटा बिट्क्वाइन खरिद गरे दोब्बर रकम पाइने भन्दै अरु मानिसलाई इमेल समेत पठाइएका थिए ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले एक ट्वीट गर्दै ट्वीटरमा यो दिन निकै कठिनाइपूर्ण रहेको बताउनु भएको छ । उहाँले यस घटनाका बारेमा तथ्यहरुको जाँच गरिसकेपछि सम्पूर्ण विवरण सार्वजनिक गरिने पनि जानकारी गराउनु भएको छ । 

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी अभियानले ह्याक भएको बाइडेनको अकाउन्ट बन्द गरेको जनाएको छ । 

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता भने ह्याक गरिएको छैन । उहाँका करिब आठ करोड ३० लाख फलोअर्स छन् ।