विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक

विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण १, २०७७

एजेन्सी । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबल खेलको तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ।

विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

फिफाले बुधबार समूह चरणसहित फाइनलसम्मको खेलको किकअफ टाइम पनि सार्वजनिक गरेको हो।

समूह चरणमा एकैदिन चार वटा सम्म खेल हुनेछ। जसमा पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे हुनेछ।

दोस्रो खेल साँझ पौने सात बजे र तेस्रो खेल राती पौने ९ बजे हुनेछ। यस्तै अन्तिम खेल त्यहिँ दिनको मध्यरात पौने १ बजे हुनेछ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा तेस्रो स्थानको प्लेअफ हुनेछ। तेस्रो स्थानको प्लेअफ १७ डिसेम्बरमा हनेछ।

यस्तै फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राती पौने ९ बजे लुसेल रंगशालामा हुनेछ ।

यस्तै समूह चरणको अन्तिम खेलहरु पौने ९ बजे र मध्य रात पौने १ बजे हुनेछन् ।

नकआउट चरणका खेल पनि समूह चरणकै समयमा हुनेछन् ।

समूह चरणका खेल १२ दिनमा सकिनेछन् । 

कतारको भन्दा नेपालको समय पौने तीन घन्टा छिटो छ । त्यसैले यसपटकको विश्वकपमा नेपाली दर्शकलाई टेलिभिजनमार्फत खेल हेर्न सजिलो हुन सक्छ।