एसईईको नतिजा १५ दिनभित्र निकाल्ने तयारी

एसईईको नतिजा १५ दिनभित्र निकाल्ने तयारी

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण १, २०७७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १५ साउनभित्र प्रकाशन गर्ने गरी विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री गरेको छ ।

३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

‘विद्यालयले जिल्ला शिक्षा समन्वय इकाइमा पठाएको नम्बर जिल्ला जिल्लाबाट इन्ट्री भइरहेको छु, उनले भने, ‘करिब ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको छ । ३० प्रतिशतको इन्ट्री गर्न बाँकी छ । बाँकीको केही दिनमा सकिन्छ ।’

जिल्लाजिल्लाबाट विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री भए पनि विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले प्रमाणीकरण गरेको हार्ड कपि बोर्डमा आएपछि इन्ट्री गरेको नम्बर हार्ड कपिसँग मिलेरनमिलेको रुजु गरिनेछ ।

सबै जिल्लाबाट हार्ड कपि आएपछि नतिजा सार्वजनिक गर्ने नियन्त्रक खकुरेलले बताए । ‘१५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेका छौँ । नम्बर इन्ट्री त भएको छ तर प्रमाणित हार्ड कपि आउन बाँकी छ । वर्षाका कारण दुर्गम जिल्लामा बाटो बन्द भएकाले हार्ड कपि ल्याउन समस्या भएको छु, उनले भने ।

देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी छन् । गत ६ चैतका लागि तोकिएको एसईई कोरोना भाइरसका कारण अन्तिम समयमा स्थगित गरिएको थियो । भाइरसका कारण परीक्षा गर्न असम्भव भएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको हो ।