एचबीओका च्यानलहरू अब मोबाइल एपमा,  डिशहोमका प्रयोगकर्ताले निःशुल्क हेर्न पाउने

एचबीओका च्यानलहरू अब मोबाइल एपमा,  डिशहोमका प्रयोगकर्ताले निःशुल्क हेर्न पाउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १, २०७७

काठमाडौं । स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लि. ले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको जनाएको छ ।

कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै ‘डिशहोम गो’ अर्थात ‘डीएच गो’ नामक मोबाइल एप प्रचलनमा ल्याएको थियो ।

सोही एपमा अब नेपालमै पहिलो पटक मोबाइलमा एचबीओका च्यानलहरु हेर्न सकिने भएको हो । ‘नेपालमा उपलब्ध टेलिभिजन सेवा प्रदायकका ओटीटी एपमा एचबीओका च्यानल उपलब्ध भएको यो नै पहिलो पटक हो,’ डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भन्नुभयाे , ‘यो सेवा २०७७ साउन १ शुक्रबारबाट सुरु भएको छ । यसमा एचबीओका सम्पूर्ण च्यानल उपलब्ध भएका छन् ।’

डिशहोमले डीएच गोमार्फत आफ्ना प्रयोगकर्तालाई मोबाइलमै २० वटा च्यानल हेर्न सकिने सुविधा दिएको छ । ती २० वटा च्यानलमा एचबीओ, एचबीओ सिग्नेचर एचडी, एचबीओ फ्यामिली एचडी, एचबीओ हिट्स एचडी र सिनेम्याक्स समेत समावेश भएका छन् ।

यससँगै डिशहोम प्रयोगकर्ताले जहाँ र जुन सुकै समयमा मोबाइलमै नयाँ अंग्रेजी फिल्म सहजै हेर्न सक्ने कम्पनीले जनाएको छ ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी (ओभर दी टप) प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शूल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशूल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

विशेष गरी डिशहोम प्रयोगकर्ताको सहजताका लागि यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । ‘कुनै दिन प्रयोगकर्ता घरबाट बाहिर बस्नु परेको अवस्थामा पनि उनीहरुले डिशहोमसँग जोडिन सकुन भन्ने हाम्रो योजना हो,’ आचार्यले भन्नुभयाे , ‘यो सेवाले डिशहोमका प्रयोगकर्तालाई अझ नजिक ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौं ।’

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाट डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् । डिशहोमका ग्राहकबाहेक अन्य प्रयोगकर्ताले भने यो एप प्रयोग गर्न नपाउने कम्पनीले जनाएको छ ।