कृषि एम्बुलेन्स सञ्चालन गर्दै व्यास नगरपालिका

कृषि एम्बुलेन्स सञ्चालन गर्दै व्यास नगरपालिका

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७७

दमौली । तनहुँको व्यास नगरपालिकाका विभिन्न वडाका सिमाना हेरफेरका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ । नगरपालिकाका उपप्रमुख मीरा जोशीको संयोजकत्वमा गठित सो कार्यदलको सदस्यमा वडा नं १० र ४ का वडाध्यक्षद्वय तुलसीराम सापकोटा र विश्वराज न्यौपाने सहित कार्यपालिका सदस्य चन्द्रामाया परियार र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त रहनुभएको छ ।

नगरपालिकाभित्र रहेका कतिपय वडा ठूलो भएको र केही वडाका ठाउँ अर्को वडामा गाभ्नका लागि अध्ययन गर्न कार्यदल बनाइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐनको परिधिभित्र रहेर अध्ययन गर्नका लागि उक्त कार्यदललाई तीन महिनाको समय दिइएको छ । 'केही वडा बढ्न पनि सक्छन् केही घट्न पनि सक्छन्, त्यसकै लागि कार्यदल बनाइएको छ, कार्यदलले तीन महिनाभित्र प्रतिवेदन कार्यपालिकामा पेश गर्नेछ', उहाँले भन्नुभयो । उहाँका अनुसार कार्यदलले गरेको सिफारिसबमोजिम केही वडाको सिमाना हेरफेर हुनसक्नेछ ।  

स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँपालिका वा नगरपालिकाको सङ्ख्या वा सिमाना हेरफेर गर्नुपरेमा त्यस्तो हेरफेरबाट प्रभावित हुने गाउँपालिका तथा नगरपालिकाको सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमा पठाउनुपर्ने उल्लेख छ । 'आगामी आर्थिक वर्षमा सिमाना हेरफेरको प्रस्ताव सरकारलाई पठाउन नसकिए अर्को वर्षमा चुनाव हुने भएकाले उक्त काम प्रभावित हुन्छ', उहाँले भन्नुभयो । 

ऐनमा गाउँपालिका वा नगरपालिकाको सङ्ख्या र सिमाना हेरफेर गर्नुपर्ने भएमा गाउँपालिका वा नगरपालिकाको निर्वाचन हुने मितिभन्दा कम्तीमा एक वर्षअगावै गरिसक्नुपर्ने उल्लेख गरिएको छ । हाल व्यास नगरपालिकामा १४ वडा रहेका छन् । 

यसैबीच कृषकले उत्पादन गरेका कृषि सामग्री बजारीकरणका लागि नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । निजी क्षेत्र र सहकारीसँग मिलेर नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको हो । कृषिउपज सामग्री बिक्री वितरणका लागि सहज बनाउन कृषि एम्बुलेन्स खरिद गर्ने निर्णय भएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । 

त्यस्तै ग्रामीण भेगका सर्वसाधारणलाई सुविधा दिने उद्देश्यले एम्बुलेन्ससमेत खरिद गर्ने तयारी गरिएको छ । ग्रामीण भेगका सर्वसाधारणले बिरामी परेको खण्डमा महङ्गो मूल्य तिरेर सवारीसाधन भाडामा लिएर स्वास्थ्य संस्थासम्म जानुपर्ने बाध्यता रहेकाले नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्न लागेको जनाएको छ ।