रणनीतिक योजना बनाउँदै नास्ट : विश्व आविष्कारमा नेपालको स्थान दुई अंकमा झार्ने लक्ष्य

रणनीतिक योजना बनाउँदै नास्ट : विश्व आविष्कारमा नेपालको स्थान दुई अंकमा झार्ने लक्ष्य

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७५

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले खोज र अन्वेषणलाई प्राथमिकतामा राखेर चारवर्षे रणनीतिक योजना बनाउने भएको छ । सोमबार प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले विज्ञान र प्रविधिमा आधारित अर्थतन्त्र विकासमा लाग्ने बताए । उनले भने, ‘लामो समयसम्म नास्ट पूर्वाधार निर्माण र नीतिगत व्यवस्थामै अल्मिलियो, अब नतिजामुखी अनुसन्धानमा केन्द्रित गर्न रणनीतिक योजना बनाएर अघि बढ्ने तयारीमा छौँ ।’ आफ्नो कार्यकालमा नास्टलाई नवीन आविष्कारका क्षेत्रमा अगाडि बढाउने योजना रहेको उनले बताए ।

०३९ मा विज्ञान र प्रविधिको क्षेत्रमा कार्य गर्ने ध्येयले स्थापित नास्टको कुलपति प्रधानमन्त्री  रहने व्यवस्था छ । कार्यकारी प्रमुखका रूपमा उपकुलपतिको राजनीतिक नियुक्ति गरिन्छ । नास्टमा हालसम्म ८ जना उपकुलपति फेरिएका छन् । तर, नियमित बस्नैपर्ने प्राज्ञ सभाको अध्यक्षता गर्न प्रधानमन्त्रीले नभ्याउँदा प्रतिष्ठानले उल्लेख्य कार्य गर्न नसकेको प्राज्ञहरू बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।