सत्यको केही 'अल्टरनेट' हुँदैन : प्रयासले मात्र परमात्मा पाइन्न
श्रावण १, २०७७

सर्वोत्तम लेखक त्यो हो जसले आफ्ना अन्तर भावलाई शब्दमा सकेसम्म सजिलोसँग व्यक्त गर्न सक्छ । यसको कुनै जाहिर 'पैरामीटर' त  छैन, अनुमान अनुसार आफ्ना भावलाई ७०-८० प्रतिशत शब्दमा उकेर्न सक्नेलाई श्रेष्ठ लेखक मान्नु  पर्ने हुन्छ । मेरो आफ्नो मतअनुसार  मेरा  लेखमा मैले ३५-४० प्रतिशत भावनालाई शब्दमा ढाल्न सकेको हुन्छु ।  कहिलेकाँही, अथवा कुनै लेखमा, कोही कोहीले लेखमै प्रयुक्त भएको वाक्यांश लेखेर प्रतिक्रिया व्यक्त गर्दा लाग्छ- पुरै लेख  त यस्तै उस्तै हो, (लेखेको केही समय पछि म आफैलाई त्यससँग सहमत हुन गाह्रो हुन्छ) , तर प्रस्तुत पङ्क्ति भने पाठकले अन्तर मनबाटै मन पराएको हो । बहुधा जीवेन्द्र दाइ यो कृत्य गर्न किञ्चित पनि  धक मान्नु हुन्न । शरदचन्द्र बस्ती दाइका प्रतिक्रिया मेरालागि 'न्यूक्लियर' ऊर्जा नै हुने गर्छन्  । कुनै एउटा लेखमाथि टिप्पणी गर्दै उहाँले सन्देश पठाउनु भयो -

'लेखाइ बेवाक छ, निर द्वन्द्व । कुरै यही हो । गहन अनुभूतिको तहमा उपलब्ध भएको आफ्नो  आविष्कार  भएकाले यसमा प्राण छ । यो शास्त्रको बमन वा शब्दको 'एक्रेब्याटिक' होइन । यो कसैले भनेर वा कसैले लेखेको पढेर वा कसैबाट प्राप्त हुने 'ज्ञान' होइन । न दिमाग वा मस्तिष्कको स्तरमा बुझ्न सकिने कुरा हो । बुझ्ने शब्दले यसलाई बुझाउने हैसियत राख्दैन । अहिले झ्वाट्ट सम्झनामा आएको  मुन्डकोपनिषदको एउटा मन्त्र भन्छु है-
 अयम् आत्मा प्रवचन न लभ्यः न मेधया न बहुना श्रुतेन यम् एव एषः वृणुते।
 तेन लभ्यः तस्य एषः आत्मा स्वां तनुं विवृणुते ॥'  

उपनिषद मेरा लागि संसार भित्रको त्यस्तो संसार हो जहाँ डुबुल्की मार्दा मेरा समस्त अज्ञान तिरोहित हुनुका साथै मेरा अधिकांश चित्तकै स्तरका तृष्णा विगलित हुन्छन् । यसै श्लोककै कुरा गरौँ,यसले भन्छ -

(This 'Self' is not won by exegesis, nor by brainpower, nor by much learning of Scripture। Only by him whom It chooses can It be won; to him this Self unveils its own body।)

( यो 'आत्मा' प्रवचनद्वारा पाउन सकिन्न । यो मेघा शक्ति अथवा शास्त्रको प्रचुर परायणबाट पनि उपलब्ध हुन्न । यसलाई मात्र उसले नै आर्जित गर्न सक्छ जसको यसले (आत्मा ) वरण गर्छ । र , मात्र तिनैका लागि यसले ( आत्मा ) आफ्नो स्वरूप उद्घाटित गर्छ। )

 यस भन्दा माथिका चक्र जाग्रत हुनलाई 'तपाईँ उसको छनौटमा पर्नु भयो भने  मात्रै' सम्भव हुने कुरा हो । तसर्थ विरोधाभास छैन, प्रयासले पात्रतासम्म अर्जित हुनसक्छ । पात्रता हुँदैमा तपाईँको पात्रमा सत्यरूपी, शान्तिरूपी, आत्मरूपी परमात्माको अवतरण हुन्छ भन्ने कुनै निश्चितता हुन्न । तपाईँका प्रयासले परमात्मा सिद्ध भयो  अथवा प्राप्त भयो भने त्यो निश्चय पनि तपाईँभन्दा पुड्को होला ।

तपाईँहरूलाई एउटा रहस्योद्घाटन गरौँ । म संस्कृतको विद्यार्थी होइन । संस्कृतका जे जति ग्रन्थ मैले पढेको छु सबै अनुवादमा मात्रै पढेको छु । यदाकदा जुन संस्कृतका श्लोक उद्धृत गर्ने गर्छु त्यसको श्रोत शरद दाइ नै हो । जीवनमा एउटा नै पछुतो रह्यो मैले संस्कृत पढ्न रुचि राखिन ।अब त जीवनको संध्याकाल हो ,कालनिशा शनैः शनैः नजिकिँदै छ । शेष समयलाई जानेकै कुरामा (अव्यक्त प्रति सादर नमस्कार ) सानन्द बिताउन्न समर्पित छु । म जस्ता निठ्ठलालाइ प्रकृतिले पुनः मानव देह प्रदान गर्छ भन्ने किञ्चित पनि विश्वास छैन । प्रकृतिले कुनै पनि काम निष्प्रयोजन  गर्दैन । यो बेग्लै कुरा हो हामी प्रकृतिका सबै व्यापारबारे बुझ्ने  योग्यता राख्दैनौ ।

मलाई मूर्खहरूको दम्भ (मूर्खता ) मा कहिल्यै  अचरज  लाग्दैन । 'दे हयाभ राइट टु लिभ विद देयर इग्नोरेंस' । तर आफू जस्ता स्वयम्भू बुद्धिमानको दम्भ (ज्ञान) माथि प्रायः स्मित हास्य  गर्ने गर्छु ।

अध्यात्मको त कुरा छाडौँ , क्वान्टम भौतिक, रसायन, जीव शास्त्र, खगोल विज्ञान, मनोविज्ञान, स्थूलदेखि  सूक्ष्म हुँदै अति सूक्ष्मतम क्षेत्र जहाँ र जता दृष्टि हाले  पनि मानिसको अज्ञानता, ज्ञान संज्ञानको सीमितता र बुद्धिको असहायता सहज दृष्टिगोचर  हुन्छ  । प्रकृति र  ब्रह्माण्डको के कुरा हामीलाई आफ्नै शरीरबारे अहिलेसम्म ५ प्रतिशत पनि थाहा छैन यो बेग्लै कुरा हो दाबी हामी विश्व गुरु कै गर्छौँ ।

घतलाग्दो प्रसङ्ग छ उपनिषदमा - एउटा ऋषिले आफ्नो पुत्रलाई विद्या अध्ययन हेतु कुनै प्रसिद्ध ऋषि कहाँ पठाउँछन् । लामो समयांतराल पछि छोरो अनेकन् शास्त्र, छन्द ,व्याकरण लगायत अनेकन् विद्यासहित वेद मर्मज्ञ भई फर्किन्छ । ऋषि पिताले सोध्छन्- तिमीले 'त्यो एक ' जान्यौ जसलाई जानेपछि सबै कुरा जान्न  सकिन्छ ! पुत्रले एक मात्रै होइन आफूले जानेको अथाह भन्न थाल्छ । पिताले प्रतिवाद गर्दै भन्छन् -मैले तिमीले के के जानेको छौ त्यो बुझ्न चाहेको होइन, मेरो प्रश्न यति नै हो, के तिमीले 'त्यो एक'  जान्यौ जसलाई जाने पछि सबै विद्या सहज हुन्छन् ? पुत्रको अस्वीकृतिमा पिताले उसलाई पुनः 'यस अध्ययन हेतु' प्रस्थान गर्ने आज्ञा दिन्छन ।

पुनः लामो अन्तराल पछि ऋषि पुत्र फर्किन्छ।  कथा भन्छ -ऋषि पिताले घरको कौसीबाट घर आउँदै गरेको पुत्रलाई हेर्छन् । उसको हिँडाइले नै उनलाई छर्लङ्ग हुन्छ -पुत्र 'त्यो एक' जानेर फर्किएको  हो । पिता  स्वयंले 'त्यो एक' जानेका हुँदैनन् । उनीसँग पुत्रको साक्षात्कार गर्ने नैतिक बल समाप्त हुन्छ । उनी पछाडि पट्टीको ढोकाबाट सदाका लागि बाहिरिन्छन । यस पछि जीवन भरी पिता पुत्रको कहिल्यै पनि  भेट हुदैन् । मलाई यस कथाले इङ्गित गरेको  'त्यो एक के हो बुझ्न' मात्रै (जान्न  होइन ) झन्डै २५ वर्ष लाग्यो ।  त्यो पनि  कुनै प्रयासले होइन, अनायास नै त्यो एकको रहस्य उद्घाटित भयो । त्यो एकलाई जान्ने प्रयास मैले त्यही दिन परित्याग गरे । 

शब्दको आशय बुझ्न म जस्तो  हरिलट्ठकलाई २५ वर्ष लाग्यो, त्यसमा पनि मेरा कुनै प्रयासको भूमिका थिएन ।यस्तो स्थितिमा  त्यो एक जान्नलाई त म जस्तोलाई २५०० वर्षको समय पनि पर्याप्त हुन्न । फेरी प्रयासले पनि कहाँ हुँदो रहेछ ? 'Only by him whom It chooses can It be won '  जब उपनिषद नै यस्तो उद्घोष गर्छन् भने मैले अनाहकमा आकाश-पाताल एक गर्ने व्यर्थको चेष्टा किन गरौँ ?
यदाकदा अनलाइनमा प्रकाशित भएका अध्यात्म विषयक (मेरोमा आई पुगेका) केही लिङ्क खोल्ने गर्छु ।

अध्यात्म बाहेक विज्ञानलाई छाडी अन्य कुनै विषयमा रुचि नरहेको लामो कालखण्ड नै भइसक्यो । नेपाली भाषामा विज्ञान सम्बन्धी सामाग्रीको अवस्थाबारे केही भन्नै  पर्दैन, अनिकाल नै छ भन्नमा फरक पर्दैन । यस विषय माथि आफूलाई आए पनि नआए पनि अङ्ग्रेजीमै पढ्नु पर्ने बाध्यता छ ।

अध्यात्मको सन्दर्भमा लेख्ने थुप्रै छन् तर मुस्किलले ४-५ जना बाहेक कसैमा कुनै पात्रता छैन । नारा, प्रचार, एकोहोरो  ढिपी, आफू आबद्ध रहेको समूहको प्रसस्ति गायन अथवा शास्त्रको बमन पस्किनेहरू कै बाहुल्यता छ । यस्ता चिनिएका कुनै समूहसँग आबद्ध वा कुनै व्यक्ति विशेषको महिमामन्डन गर्ने अथवा शास्त्रको  सोझै बमन गर्नेहरूका लेख रचनालाई  त 'इग्नोर' गर्छु तर नचिनेका महाशयहरूले गर्दा कहिलेकाँही झुक्किएर समय नष्ट गर्न पुग्छु ।  यिनका अनर्गल प्रलाप पढे पछि यिनीहरूसँग मात्रै होइन प्रकाशित गर्ने सम्पादकसँगै वितृष्णा हुन्छ ।   

'लकडाउन'ले दिक्क बनायो, 'डिप्रेसन' मै जान लागि सके । जुन बेला पनि छटपट, बेचैनी र अशान्ति रहन्छ ।  साथीले भनेर युट्युब हेर्दै रवि शंकरले सिकाएको ध्यान गर्न थालेको छु । तर जति प्रयास गरे पनि मन थिर नै हुँदैन एक जना मित्रले समस्या सुनाउँदै गर्दा छेवैमा रहेका अर्का मित्रले  परामर्श बाण प्रक्षेपण गर्नु भयो -मन थिर गर्नलाई सबैभन्दा 'वेस्ट' उपाय मन्त्र जाप हो । ती मित्र स्वयं मन्त्र जाप गर्छन् कि गर्दैनन् मलाई थाहा हुने कुरा भएन  तर सम्भावना  गर्दैनन् भन्ने नै लाग्छ किन भने उनले स्वयं यो अभ्यास गरेको भए उनलाई वास्तविकता थाहा हुन्थ्यो ।

ध्यानका कुनै पनि उपाय सहज छैनन् । पहिलो कुरा, ध्यान अशान्त हुँदा गर्ने  नै होइन । समस्याले ग्रस्त, जगत् व्यवहारले निराश, शारीरिक पीडा वा व्याधिले आहत वा अन्य कुनै कारणवश मर्माहत भएको अवस्थामा ध्यानमा बस्ने पलायनरूपी उपाय त गर्न सकिन्छ तर यसको कुनै उपादेयता हुँदैन । ध्यानले शान्ति पाइन्छ भन्ने कुरा ध्यानको परिपक्वता फलित भए पछिको अवस्था हो । प्रारम्भमा ध्यानमा बस्दा त झनै अशान्ति पो आउँछ, विचारको भेल नै आउँछ । सामान्य जीवनमा संज्ञानमा नआएका, तपाईँले कुनै महत्त्व  नदिने गरेका  भाव र विचार  आँखा चिम्लिन साथ सुरसाका मुख झैँ तपाईँलाई घेर्न आई पुग्छन् ।

तपाईँले जुन कथाहरू सुन्नु भएको छ -बुद्धको छेउमा पुग्न साथ कोही ध्यानस्त  भयो, प्रवचन सुन्दै कोही ध्यानमा पुग्यो, कुनै गुरुले छोई दिँदैमा कसैलाई समाधि लाग्यो आदि आदि।  यी सबै धर्म -अध्यात्मका कथ्य स्वरूप हुन् । कथ्यमा तथ्य र सत्यलाई आकर्षक, मनमोहक, लोभलाग्दो पाराले व्यक्त गरिएको हुन्छ । तथ्य र सत्यसँग एक किसिमको सम्झौता नै गरिएको हुन्छ । कारण यिनको उद्देश्य तपाईँलाई फुस्लाउनु रहेको हुन्छ । पुराण, रामायण,महाभारत जातक कथा आदि सबै धर्मका कथ्य स्वरूप हुन । तपाईँलाई आकृष्ट गर्न यिनमा सबै किसिमका साहित्यिक रस समावेश गरिएका हुन्छन् । यिनमा व्यक्त भएका सबै कुरा न त तथ्य हुन्छन् न त सत्य नै । सत्य र तथ्य हुँदै हुन्न भन्ने होइन तर फोकस भने सत्य तथ्यभन्दा तपाईँको चित्त आकर्षण गर्ने चमत्कार र विभिन्न रस  सम्मिश्रण गर्नमा केन्द्रित भएको हुन्छ।

विभिन्न उपनिषद, तन्त्र ग्रन्थ लगायतका धर्मशास्त्र धर्मका तथ्य स्वरूप हुन् । यिनले धर्मको सत्य स्वरुपाबारेको काव्यात्मक विश्लेषण गर्छन् । यिनको उद्देश्य तपाईँलाई आकर्षण गर्ने, लोभ्याउने, आफूतिर तान्ने हुँदैन । सत्यको स्वरूप चर्चाभन्दा इतर चर्चा हुन्न यी ग्रन्हरुमा । पढी हेर्नुस् त कुनै उपनिषदमा कुनै किसिमको मनोरञ्जन हुँदैन त्यहाँ । र, वेद सत्य हुन, त्यहाँ सोझै सत्य वर्णित हुन्छ, कुनै चर्चा हुन्न ।  तपाई बुझ्नु  हुन्छ ओके, बुझ्नु हुन्न ओके ।

यो ध्यान सजिलो, यो विधि अकाट्य, कर्मयोग राम्रो, भक्ति राजपथ हो, सत्य नै ईश्वर हो, गुरु साक्षात् ब्रह्म हो, नाम स्मरणले नै मोक्ष पाइन्छ आदि आदि यी सबै भनाइ धर्मका सबैभन्दा बाहिरी स्वरूप कथ्य स्वरूप हुन । बच्चाका लागि चकलेट जस्तै । मन्त्र जाप जस्तो गाह्रो कुरालाई नगरेको मान्छेले मात्रै सजिलो भन्न सक्छ अथवा कुनै व्यावसायिक उद्देश्य भएको मानिसले मात्रै भन्छ । मेरो कुरा नपत्याए गरी हेर्नुस् । 

महीनौ होइन  वर्षौँ गर्नुस् ।  तपाईं एक माला मन्त्र पनि विचार नआई पूरा गर्न सक्नु हुन्न ।

आफ्नै कथा स्मरण आउँछ । ध्यानमा राम्रै प्रगति भइसके पछि मन्त्र साधना गर्ने रहरले छोयो । मेरा शुभचिन्तकले भने पनि, तिमी अक्रियाबाट फेरी क्रियामा किन जान चाहन्छौ ? तर कसैको कुरा मान्ने भए म, म नै कसरी हुन्थे ? 

सुरु गरें, एक साता पछि उनले सोधे -कस्तो भई रहेछ ? मैले राम्रै छ भने । उनले भने हेर मलाई ढाँटे केही बिग्रिन्न तर आफूलाई ढाटने  उपक्रम नगर । अब मन्त्र जाप गर्दा आफ्नो अगाडि एउटा कचौरामा मकैका गेडा राखेर बस । जाप गर्दा जति पटक विचार आउँछन्,  प्रत्येक पटक एउटा मकैको गेडा कचौराबाट बाहिर राख । एकै पटकमा धेरै विचार आउँदा त्यै बमोजिम बढी मकैका गेडा कचौराबाट उठाऊ । प्रक्रियाको रहस्य तिम्रो इमानदारीमा निहित छ । 

उनले भने बमोजिम नै गरें, आफैसँग लज्जित हुनु पर्‍याे ।  मन्त्र जाप गर्नेहरूले यस विधिबाट गरी हेरुन्, परिणाम कसैलाई भन्नु पर्दैन तर आफूलाई ढाँट्ने उपक्रम भने परित्याग गरुन् ।

प्रारम्भमा ध्यान सहज छैन । मेरो उद्देश्य तपाईँलाई हतोत्साहित गर्नु होइन वरन यथार्थ भन्नु हो । प्रारम्भका दिनमा ध्यानमा बस्नु अति दुष्कर छ । नाच्दैमा, उफ्रिँदैमा ध्यानमा बस्ने कुशलता पाउन सकिँदैन । निरन्तर र गहन अभ्यासको कुरा हो यो । कुनै कुण्डलिनी जाग्दैन, तेस्रो नेत्र खुल्दैन, दूरदृष्टि आउँदैन, सांसारिक क्षेत्रमा सफलता पाइँदैन वरन यी सबैप्रति तपाईँका मनमा वैराग्य आउन  थाल्छ । आउन  थाल्छ भन्नु पनि गलत हो, वैराग्य नभए त ध्यानमा प्रवेश नै हुँदैन । वैराग्य झन् झन् प्रगाढ हुँदै जान्छ ।

धर्म -अध्यात्म -ध्यान केहीको  'अल्टरनेट' होइन । सत्यको केही 'अल्टरनेट' हुँदैन र सत्य पनि कसैको 'अल्टरनेट' हुँदैन ।  

ध्यानको चर्चा गर्नु, आँखा चिम्लेर ध्यान मुद्रा /अवस्थाका फोटो खिच्नु, ध्यान सिकाउने गुरु हुनु, ध्यान /धर्मबारे लामा लामा व्याख्यान दिनु, लेख्नु, बोल्नु एउटा पक्ष हो तर ध्यानमा ओर्लिनु नितान्त अर्को पक्ष हो । व्यावसायिक युगमा यी सबैलाई अर्थोपार्जनको साधन बनाउनु निन्दनीय भए पनि प्रतिबन्धित हुन सक्दैनन् ।

केही पाठकलाई यस लेखमा पहिला व्यक्त गरिएको वाक्य 'This 'Self' is not won by exegesis, nor by brainpower, nor by much learning of Scripture , Only by him whom It chooses can It be won; to him this Self unveils its own body ; र पछिको उदगार 'निरन्तर र गहन अभ्यासले ध्यानको गहिराइमा पुग्न सकिने' दुबैमा विरोधाभास भएको प्रतीत भयो होला । विनीत अनुरोध गर्न चाहन्छु कुनै विरोधाभास छैन ।  

तपाईँ आफ्नो प्रयासले  ध्यानको निश्चित स्तरसम्म पुग्न सक्नु हुन्छ । त्यो भन्दा माथिको यात्रा प्रयासले हुन्न, यसका लागि अङ्ग्रेजीकै वाक्य ध्रुव सत्य हो । उदाहरणका लागि चक्र पद्धतिमा विश्वास गर्नेहरूले यसरी बुझ्न सक्नु हुन्छ । तपाईँ आफ्नो प्रयासले तेस्रो चक्रसम्म पुग्न सक्नुहुन्छ । तपाईँको भाषामा मणिपुरसम्म जाग्रत गर्न सक्नु हुन्छ, तर यसभन्दा माथिका अन्य सबै चक्र तपाईँको सबै  प्रयासभन्दा बाहिरका कुरा हुन । 

 यस भन्दा माथिका चक्र जाग्रत हुनलाई 'तपाईँ उसको छनौटमा पर्नु भयो भने  मात्रै' सम्भव हुने कुरा हो । तसर्थ विरोधाभास छैन, प्रयासले पात्रतासम्म अर्जित हुनसक्छ । पात्रता हुँदैमा तपाईँको पात्रमा सत्यरूपी, शान्तिरूपी, आत्मरूपी परमात्माको अवतरण हुन्छ भन्ने कुनै निश्चितता हुन्न । तपाईँका प्रयासले परमात्मा सिद्ध भयो  अथवा प्राप्त भयो भने त्यो निश्चय पनि तपाईँभन्दा पुड्को होला । म जस्ता पागलहरू त प्रयासले 'उसलाई' पाउनुभन्दा उसको पुकारको प्रतीक्षामा जीवन बिताउन्न श्रेयष्कर ठान्छौ । 
 


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।