घरभन्दा सडक प्यारो

घरभन्दा सडक प्यारो

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७५

इलाम । फाकफोकथुम गाउँपालिका–३, सल्लेरीका टेकबहादुर भारतीको घरको आधाजति भाग सडकको माटोले पुरिइसकेको छ। फूलबारी हुँदै निर्माणाधीन सिंहदेवी स्कुल–खप्परेघाट सडकको माटो उनको घर आँगन, सिकुवा पुरिएर भित्रैसम्म पुगिसकेको छ।

एकझर वर्षा भए पनि उनको घर यही अवस्थामा नरहन सक्छ। तर आफ्नो घर पुरिएका प्रति भारतीको कुनै गुनासो छैन। बरु हर्ष लागेको सुनाउँछन् उनी। ‘सडक नहुँदा भोग्नुपरेको सास्ती सम्झिँदा त अहिले घर आँगन पुरिएको पीडा केही होइन,’ भारतीले भने, ‘यो पीडालाई फूलबारीबाटै गएको फराकिलो सडकले बिर्साएको छ।’ उनको घरै छोएर ७ मिटर चौडा सडक धमाधम निर्माण भइरहेको छ। ‘दुर्गम गाउँमा यति ठूलो सडक बन्ने कल्पना नै थिएन, अहिले सडक आउँदा हामी सबैले सहयोग गर्नैपरेको छ,’ उनले घरको माथिपट्टि खनिएको सडक देखाउँदै भने, ‘यो सडक भोलि ग्राभेल होला, पर्सि पिच होला, अनि सजिलै अरू ठाउँसम्म पुग्न सकिएला। त्यसैले हामीले व्यक्तिगत क्षति सहेर पनि सडक बनाउन लागेका हौं।’

सल्लेरीमा भारतीको जमिन २ रोपनी मात्रै छ। तर, उनको घरको आंगन, सिकुवासहित डेढ रोपनीभन्दा बढी जमिन सडक खनेको माटो र ढुंगाले पुरिएको छ। ‘अब यही घर भएको सहित अलिकति जमिन मात्र माटोले पुर्न बाँकी छ,’ उनले भने, ‘अहिलेसम्म घर आँगन, सिकुवामा थुप्रिएको माटो ठेकेदारले पन्छाइदिने वा आफैंले भन्नेमा छलफल भएको छैन।’ उनले झट्ट हेर्दा विनाश भएको देखिए पनि सानोतिनो क्षति नभई विकास नहुने बताए। ‘यो गाउँपालिकाभर मोटर हिँड्न सक्ने सडक नभएको गाउँ यो मात्र हो,’ उनले भने, ‘अब सडक सुविधा घर आंगनमै आउँदा गाउँले सबै हर्षित छौं।’ आजको नागरिक दैनिकमा खबर छ ।