कमला म्याडमकाे 'हिरो' उपाधी र वास्तविक 'हिरो' मा फनफनी
श्रावण ३, २०७७

आम नेपालीको बाल्यकाल झैँ गडतिरको खोलाको किनारमा बालुवाको ओच्छयान लगाएर बितेको हो उहाँको बाल्यकाल पनि । उहाँका पनि अरूका झैँ तिता मिठा सम्झना छन् । अन्तर होलान् त केवल बिस उन्नाइसको । 

दुई दिदी र एक दाजुका भाइ अनि एक बहिनीका दाजु । बाबु जागिरे । स्वास्थ्यमा काम गर्नुहुन्थ्यो । तर, उहाँको दाइ भने धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा हुनुहुन्छ ।  उदयपुरमा हुनुहुन्थ्यो  । अहिले मोरङमा हुनुहुन्छ ।  

खोटाङ स्थित पहाडमा अहिले पनि खेतीपाती घर छँदैछ । तर, बाबु आमा भने अहिले विराटनगरका बासिन्दा भइसक्नु भएको छ ।   पढाई, व्यवसायले उहाँलाई सहर धकेल्यो । सहरले प्रतिफल दिन्छ कि भन्ने आशामा अहिले पनि सहरमै रुमल्ली रहनु भएको छ उहाँ । 

प्रारम्भिक शिक्षा 

३२ साल असार ३ गते नवलको जन्म भएको हो । तर, नागरिकताले उहाँलाई त्यही अनुरूप चिन्दैन । केही गडबड छ त्यो नागरिकता भन्ने जिनिसमा । पहिलेको सिमपानी र हालको खोट्याहाङ गाउँपालिका । जिल्ला भने खोटाङ । अर्थात् पूर्वको कर्णाली । 

खोटाङकै सिमपानी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ उहाँ । त्यहीँबाट उ बेलाको तर हाल नभएको एसएलसी उत्तीर्ण हुनुभयो । अब गाउँले उहाँलाई थाम्न सकेन । 

सहरको यात्रा 

उहाँ वेगले सहर छिर्नुभयो । उच्च शिक्षाको नाममा । जुन गाउँले उहाँलाई दिन सक्दैनथ्यो । ०४७ सालमा एसएलसी दिएपछि उहाँ सहर पस्नुभएको हो । उहाँ सम्झनु हुन्छ  ०४७ को अन्तिम अर्थात् ०४८ सालको प्रारम्भ तिर ! बिचबिचमा दसैँ तिहार गाउँ जानुहुन्थ्यो  पनि । तर, ०५६ सालदेखि भने गाउँ त्यति जानुभएको छैन । सहरले गाँजेको छ उहाँलाई । वा भनौँ केही गर्ने धुनले काठमाडौँ खाल्डोले उहाँलाई पनि थुनेर राखेको छ । 

काठमाडौँ टेकेपछि बानेश्वर, बबरमहल अनि कोटेश्वरले उहाँलाई आश्रय दियो । त्यसो त कोठाको बसाईको के ठेगान । जहिले जहाँको पनि पाहुना बन् नसक्ने स्वतन्त्रता थियो अरूलाई जस्तै  उहाँलाई पनि । 

एसएलसीको रिजल्ट कुर्न त्यस बेला ५,६ महिना लाग्थ्यो । रिजल्ट पछि उहाँ ल क्याम्पसको विद्यार्थी हुनुभयो  । ल, आरआर र विश्व भाषा क्याम्पस एउटै मेसोमा उभिएका । राजनीतिका अखडा । 

त्यसो त उहाँको बच्चैदेखि नै  राजनीति सम्लग्ना रहेको बताउनु हुन्छ  । त्यस बेलाको सिमपानी माविको प्राक अध्यक्ष पनि हुनुभएको थियो उहाँ । अनेरास्ववियु पाँचौँको । 

बच्चैदेखि राजनीतिमा लागेको केटोले राजनीतिको अखडा नै भेटेपछि के गर्ला ? तर, विडम्बना ल क्याम्पस भर्ना भएपछि उहाँको सक्रिय राजनीतिमा भने विश्राम लाग्न नै पुग्यो । समर्थक हुनु, भोट हाल्नु बेग्लै कुरो हो सक्रिय राजनीति अगाडि बढेन ।

दशगजा सिनेमा निर्माण गर्दा उहाँको टिम सुस्तामा सुटिङ गरिरहेको थियो । राति सुत्दा नेपाली र बिहान उठ्दा भारतीय हुने सीमाका नेपालीको पिडा खिच्दै हुनुहुन्थ्यो उहाँ । त्यसबेला भारतीय सीमा सुरक्षा बलले आएर घेरा हालेर बन्दुक तेर्‍स्याए । खुला सीमाका कारण यिनीहरू सोझै हामीसम्म आइपुगे नत्र आइपुग्दैनथे भन्ने लाग्यो उहाँलाई । त्यसपछि सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने सोच पलाएको छ उहाँमा । 

हिरोको पहिलाे उपाधि 

स्कुले जीवनमा उहाँ खेलकुद, हाजिरी जवाफ, वादविवाद, कविता प्रतियोगितामा पनि अगाडी हुनुहुन्थ्यो उहाँ । त्यसलाई उहाँ ‘चल्तापुर्जा’ भन्न रुचाउनु हुन्छ अर्थात् अहिलेको भाषामा स्मार्ट । 

यो उहाँ कक्षा ९ पढ्दाको कुरो हो । एक दिन उहाँ कुनै कामले अथवा बिमारी केही परेर स्कुलमा गयल हुनुभएछ । गयल भएपछि त्यस दिन कमला कार्की म्याडमले त्यो नवल खोइ भनेर सोध्नु भयो रे ! साथीहरूले आएको छैन भनेर भनिदिएछन् । त्यसपछि म्याडमले त्यो हिरो छ । हिरो हुन लायकको केटो छ । पछि गएर हिरो बन्छ भनेर भन्नु भएछ । त्यसपछि के चाहियो भोलिदेखि त उहाँको नाम नै कक्षामा हिरो भइगयो । 

 हिरोको यात्रा

कमला म्याडमले पहिलो पटक दिएको हिरोको ट्यागले अब उहाँलाई पच्छ्याउन थाल्यो । कलेजमा पनि सबैले उहाँलाई तँ त हिरो छस् भन्न थाले । फिल्म खेल ! मोडलिङ गर !भन्न थाले । 

बसमा चढ्दा वा अन्त कतै जाँदा पनि तपाइ हिरो हो, मोडल हो भनेर प्रश्न गर्न थाले । होइन भन्दा पनि किन ढाँटेको पो भन्न थाले । अब यो हिरोले उहाँलाई पनि ‘म साँच्चै हिरो पो रहिछु कि के हो !’ भन्ने पर्न थालेछ । यो हिरोले उहाँ भित्र रहेको 'हिरो'को हुटहुटीलाई जगाउने काम गर्‍यो । अब पनि हिरो नबने हिरोले नै उहाँको हुर्मत लिने  महशुस गर्नु भएछ ।  

वास्तविक हिरोको उडान 

कलेजका साथीभाइ तथा केटाकेटीले पनि तँ त हिरो छस् अब हिरो बन् भन्ने र बाटोमा देख्नेहरूले पनि मोडल हो ? हिरो हो ?  भन्न थालेपछि अब उहाँलाई हिरो नबनी सुखै भएन ! 

तर, सुदुर गाउँको एउटा केटो जसले गाउँमा टिभी पनि देखेको थिएन, भिडियोको बारेमा पनि केही जानकारी थिएन उसलाई अब हिरो कसरी बन्ने ! ठुलो समस्याले गाँजेछ ।  
नबनौँ सबैले हिरो भन्छन्, बनौँ मेलोमेसो केही छैन । उहाँलाई अब हनहनी ज्वरो आउला जस्तो भएछ । 

अब हिरो कसरी बन्ने । डाइरेक्टर को हो ? कसरी भेट्ने भन्ने जस्ता कुराले सानैदेखि सक्रिय राजनीतिमा रम्दारम्दै पनि राजनीतिको अखडामै छिरेर  सक्रिय राजनीतिबाट करिब करिब अलग गराउने काम गरेछ । केवल भोटर र शुभचिन्तक रहनु भएछ लामै समयसम्मका लागि । 

हिरो बन्ने  चक्करमा फनफनी 

 कक्षा ९ पढ्दादेखि कमला म्याडमले बनाएको हिरोको ‘हिरो’ बन्ने दिन भने बल्ल आयो जब उहाँलाई कसैले कोटेश्वरमा बस्ने होमराज घिमिरेले काँचुली भन्ने फिल्म बनाउँदैछन भनेर पुर्‍याइदियाे  । 

पुग्न त उहाँ गन्तव्यको नजिक नजिक पुग्नुभएछ । तर, हिरो बन्न ५० हजार रुपैयाँ चाहिन्छ भनेर हेमराजले भनेपछि उहाँ टोलाउनु भएछ । ५० हजार त्यो पनि ०४८,४९ सालको । तर, जसरी पनि हिरो बन्ने भएपछि उहाँले ज्ञानी बालकले झैँ टाउको हल्लाउनु भएछ । 

उहाँले दाइसँग पैसा माग्नु भएछ । खोइ ! दाइले कताबाट ल्याउनु भयो । बिस हजार दिनुभएछ । बिस हजार लगेर होमराजलाई बुझाउनु भएछ ।  

पैसा दिएपछि त अब हिरो बन्छु भन्ने लागेछ र  साथीभाइ आफन्त सबैलाई भन्नुभएछ । एक महिना दुई महिना होइन धेरै महिना बित्यो । तेरो फिल्म कहिले आउँछ भनेर साथीभाइले सोध्न थाले । अब भने उहाँलाई तनाव हुन थालेछ ।  ०४९ सालको २० हजारले पनि हिरो बनाउन सकेन उहाँलाई । त्यसपछि होमराजसँग उहाँको आजसम्म जम्काभेट भएको छैन  ।

हिरोको अर्को मोड 

एक दिन कलेजबाट डिल्लीबजारतिर गएर एक जना साथीको पसलमा चिया खाँदै  हुनुहुन्थ्यो उहाँ । हिरो जस्तै देखेर होला ! एक जना लिम्बु केटोले आएर ‘ओइ ! तँ फिल्म खेल्छस् !’ भनेर सोध्यो । सोझै ‘तँ’ भन्दा रिस नउठेको पनि होइन । तर हिरो बन्ने चक्करमा चुप लागेर बस्नु भएछ । त्यसो भन्ने व्यक्ति रहेछन् घायल प्रेमीका द्वन्द्व निर्देशक हेमन्त सुब्बा । कुरो फेरि पैसाकै आयो हिरो बन्न ! फेरि पचास हजार ! 

तर, संयोग उहाँका बुबा संचयकोष झिक्न त्यही दिन बिहान काठमाडौँ आउनु भएको  रहेछ । ढुङ्गा खोज्दा देउता मिले जस्तो भएछ उहाँलाई । उहाँले हिरो बन्नका लागि ५० हजार माग्नु भएछ बुबासँग । तर, दाजुलाई नबताउने सर्तमा बुबाले उहाँलाई बिस हजार दिनु भएछ । 

बिस हजार बोकेर उहाँ फेरि कुद्नुभएछ हिरो बन्न हेमन्त सुब्बाकहाँ । 

पोखराभन्दा अलि पर भिमाद भन्ने ठाउँमा सुटिङ भयो । एक दुई सट खिचियो उहाँको । एक टेकमै ओके भयो । जीवनमा पहिलो पटक क्यामरा फेस गर्दा पनि उहाँलाई केही भएन । शायद!  प्यास ज्यादा थियो, उहाँ भन्नुहुन्छ । 

उहाँलाई पछि थाहा भयो यो फिल्मबाट पनि उहाँलाई निकाली सकेछन् । अर्को हिरो राखेर उसकै पैसामा झापा तिर शुटिंग भएछ । उहाँलाई थाहै नदिई ।  
उहाँको हिरो बन्ने सपनामा फेरि ठेस लाग्यो । 

उनै हेमन्त सुब्बा फेरि आइपुगे मेन हिरोको अफर लिएर । तर, यस पटक पैसा भने सिङै एक लाख । गोजीमा सुको नभए पनि उहाँले मुन्टो हल्लाउन भने छोड्नु भएनछ । आखिर जसरी पनि हिरो बन्नु थियो । 

उहाँले यस पटक भने सहपाठी अमृत शर्मालाई गुहारे । उहाँले एक बचनमा नाइँ नभनी २५ हजार निकाल्नुभएछ  । भोलिपल्ट दुबै लाग्नुभएछ बुधबारे हटिया तर्फ ! 

चक्र बास्तोलाको घरमा बस्नुभएछ उहाँहरू । विनोद मोक्तान भन्ने बास्तोलाका मान्छेले बनाएको फिल्म रैछ । निर्देशक हुनुहुन्थ्यो चिरञ्जीवी खरेल । 

यस पटक भने उहाँले फिल्म खेल्न पाउनुभयो  । फिल्म पुरा पनि भयो । फिल्मकी नायिकाले यस्तो दुब्लो पातलो ओठ निचोर्दा दूध आउने पनि हिरो हुन्छ भनेपछि उहाँले आफूलाई अपमानित भएको महसुस गर्नुभएछ । फिल्ममा अर्की नायिका भए मात्र फिल्म खेल्ने अड्डी कस्नु भएछ ।  अब अर्की नायिका राखेर फिल्म पूरा  गर्नु भएछ उहाँले ।  
फिल्म त पूरा भयो तर हलमा लागेन । चिनेजानेका, साथीभाइ आफन्तले खोइ त तेरो फिल्म भनेर सोधेरै हैरान बनाउन थालेछन्  उहाँलाई । 

निर्देशक चिरञ्जीवी खरेलले फेरि एक पटक हिरो बनाउने प्रस्ताव गर्नु भएछ  । उस्तै सर्त थियो एक लाख रुपैयाँमा । लगानीकर्ता पनि खोज्नु पर्ने भयो यस पटक भने । तर, उहाँसँग ‘नो’ भन्ने अप्सन नै थिएन । 

उहाँले सिन्धुपाल्चोकका सहपाठी दीपक घोरासैनीलाइ गुहार्नु भएछ यस पटक । दीपकको घर गएर उहाँका जङ्गबहादुर बाउलाई सम्झाए पछि उहाँले ५ दिन पछि ५० हजार पठाइदिनुभएछ । छोरोलाई साइड हिरो र उसको साथीलाई हिरो बन्नका लागि । 

नवलले त्यो रकम लगेर चिरञ्जीवी खरेललाई दिनुभएछ । तर, फिल्म सुरु भएन । निर्माता पैसा हालेन अब तिमी हाल भनेर खरेलले भन्नुभएछ । एक लाखको रिस्क लिएको मान्छे ७, ८ लाख कसरी खोज्ने अब । हिरोगिरीले अर्को तनाव थपेछ !

त्यसपछि मित्र बनेर जोडिए ठिमी नगदेशका राजु धजु । उहाँले पैसा पनि  हाले । तर, बिचमा गएर संगीतकारसँगको झगडाले फिल्म ६ महिना नै रोकियो । खरेल पनि अन्तै लागे । 

खरेलले अर्कै हिरोलाई लिएर फिल्म अगाडी बढाउन घजुलाइ भने । घजुले भने ‘यो’ हिरो भए मात्र पैसा हाल्ने भन्नुभएछ । 

अब तँ पैसा हाल्छस भने हिरो फेर्ने होइन भने डाइरेक्टर फेर्ने ! घजुलाइ भने  । ‘तँ हिरो हुने भए म जति पनि पैसा हाल्छु,’ घजुले भनेछन् । नवलले आफ्ना मित्र अमृत शर्मालाई निर्देशनको जिम्मा दिनुभएछ । यो अधुरो प्रेमका लागि घजुले २ वटा जर्मन मिनिबस बेच्नु पार्‍यो उहाँ भन्नुहुन्छ । यी सबै कहानी त्यसबेला चल्तीमा रहेको भिडियो फिल्मको हो । 
अमृत शर्माले निर्देशन गरेको र केदार महर्जन निर्माता रहेको चन्द्रसूर्य फिल्ममा उहाँ साँच्चै हिरोको भूमिका पाउनु भएको थियो । यो फिल्मबाट भने उहाँले पनि पारिश्रमिक पनि पाउने निधो भयो । आफूले आफ्ना लागि लगानी गर्ने तहबाट अब उहाँ कमाउने तहमा उक्लिएको महशुुस गर्नु भएछ ।  

२०५२ सालमा उहाँले अर्को फिल्म गर्ने अवसर पाउनु भयो गुन्यूचोली । त्यस बेलाको ठुलो पर्दाको फिल्म । अब भने उहाँ साँच्चै हिरो बन्नुभयो । करिश्मा मानन्धर नायिका । सुनिल थापा पनि हुनुहुन्थ्यो फिल्ममा । 

गुन्यूचोलीले उहाँलाई सर्वोत्कृष्ट नवोदित नायकको अवार्ड समेत दिलायो नवललाई । त्यसपछि भने यी हिरोले पछाडि फर्केर हेर्नु परेको छैन । अनि बल्ल उहाँ नायक नवल खड्काको रुपमा फिल्म उद्योगमा छाउनुभयो । 

 केही चलचित्रका फ्लप हिरो 

उहाँका दुई चलचित्र माया बसेछ र क्रान्तिले ५१ दिन पनि मनाए । दुई दर्जन चलचित्रमा अभिनय पनि गर्नुभयो । तर, पनि बजारले उहाँलाई फ्लप हिरोको रुपमा चिन्छ । एक दशक भन्दा बढी समय देशमा भएको जनयुद्धका कारण चलचित्र निर्माण रोकिए । त्यो समय उहाँको करियर उत्कर्षमा थियो । प्रेम प्रधान चलचित्र बन्ने समयमा उहाँको उमेरले नेटो काट्यो । फ्लपको हिरोको ट्यागलाई उहाँको प्रष्टीकरण थियो । 

राष्ट्रवादी धार 

०६२/६३ को जनआन्दोलन पछि देशमा राष्ट्रवादी धारको उभार भएको र उहाँको विचार दृष्टिकोण पनि समाजमा भएका विकृति विसङ्गतिलाई उजागर गर्नुपर्छ र यथार्थपरक फिल्म बन्नुपर्छ भन्ने ‘स्कुलिङ’बाट आएका कारण उहाँले राष्ट्रवादी फिल्ममा काम गर्न थाल्नुभयो । यसअघिको व्यवस्थाले त उहाँले चाहेको जस्तो फिल्म बनाउन पनि दिँदैनथ्यो । पछि उहाँले फिल्म पनि राष्ट्रवादी नै बनाउन थाल्नुभयो । सीमाको विषयलाई लिएर दशगजा, शहीद र योद्धाको रुपमा भिमदत्त, जनआन्दोलनलाई प्रतिनिधित्व गर्ने आवाज, माया बसेछ, मेची काली र सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा हाल बन्दै गरेको काँडतारका उहाँ निर्माता समेत हुनु हुन्छ । शायद ! यही राष्ट्रवादी धारका कारण कलाकारको राष्ट्रियता हुँदैन भन्नेमा उहाँ विश्वास गर्नु हुन्न ।  कला र विचारको पो सिमाना हुँदैन, उहाँ  भन्नुहुन्छ । 

चलचित्र कलाकार सङ्घको सचिवदेखि अध्यक्षसम्म 

चलचित्र क्षेत्रका हस्तीहरू जसलाई देख्दा उहाँ जिब्रो टोक्नु हुन्थ्यो ।  तिनको अभिभावकका रुपमा नेतृत्व गर्ने अवसर पनि प्राप्त भयो उहाँलाई । चलचित्र कलाकार सङ्घको सचिव देखि महासचिव हुँदै निवर्तमान अध्यक्ष हुनुहुन्छ उहाँ ।  अध्यक्षका रुपमा सिनेमा क्षेत्रलाई कसरी अगाडी बढाउने र कसरी उद्योगको रुपमा विकास गर्ने भन्नेमा उहाँको बढी जोड रह्यो । नीतिगत र सिनेमा क्षेत्रलाई राज्यको नजिक बनाउने काम आफूले गरेको बताउनुहुन्छ ।  

०२६ सालमा बनेको ऐनमा चलेको चलचित्र उद्योगलाई ०७१ सालमा आन्दोलनको नेतृत्व गर्दै राष्ट्रिय चलचित्र नीति बनाउने सफलता उहाँको कार्यकाल मिल्यो । 

कलाकार सङ्घ र नेपालको झन्डा सगरमाथामा फहराउनु पर्छ भनेर नायिका निशा अधिकारी तथा नायक अर्जुन कार्कीलाई सगरमाथा अरोहणको पहल पनि उहाँकै कार्यकालमा भएको थियो । 

आचार संहिता बनाउने र नीतिसम्म नभएको अवस्थामा हालको संविधानमा चलचित्र भन्ने शब्द लेखाउनसम्म सफल भएको उहाँको भनाई छ ।   

नभएका माओवादी 

हिरो बन्ने चक्करमा सक्रिय राजनीति त्यागे पनि विचार र व्यवहार त्याग्न सक्नु भएको थिएन । क्रान्ति, देशद्रोहीका नायक पनि हुनुहुन्छ नवल । जनआन्दोलनका बिचमा कसैले आँट नगरेका बेला आवाज चलचित्र पनि बनाउनु भयो  उहाँले । शायद ! त्यसले पनि उहाँलाई माओवादीको ट्याग लागेको होला, उहाँ  भन्नुहुन्छ ।

दशगजादेखि भिमदत्तसम्म आइपुग्दा उहाँका क्रियाकलाप विद्रोही चेतका  देखिए । त्यसले पनि उहाँलाई माओवादीको कित्तामा राखिएको होला भन्ने ठान्नु हुन्छ उहाँ  । 
उहाँ सदस्यता लिएका आधिकारिक माओवादी  कहिलै  हुनुभएको छैन । 

एउटै विचार, लक्ष्य र उद्देश्य लिएका वामपन्थी एक हुनुपर्छ भन्ने वामपन्थी विचार धाराका त हुनुहुन्थ्यो उहाँ प्राक अध्यक्ष भएका नाताले । 

चलचित्र क्षेत्रमा गरेको सङ्घर्ष, योगदान र बेलाबेला व्यक्त गर्ने विचारको सम्मान हो भन्ने लाग्छ उहाँलाई माओवादीले समानुपातिकमा वितरण गरेको टिकट । तर, त्यसभन्दा पहिले भने उहाँ  कहिल्यै माओवादी हुनु भएको थिएन  भन्नुहुन्छ ।   

प्रेम विवाह 

१६,१७ वर्ष देखि हिरो बनी रहनुएकाउहाँको कुनै नायिकासँग जोडिएर स्क्याण्डल हालसम्म आएन, उहाँ भन्नुहुन्छ । तर, विवाह भने प्रेम विवाह । अन्तरजातीय । गायिका सत्यकला राईसँग । 

वागमती सफाई अभियानको अभियन्ता 

उहाँ वागमती सफाई अभियानको प्रारम्भका अभियन्ता समेत हुनुहुन्छ ।  कलाकार सङ्घ र विज्ञापन सङ्घबिच रङ्गशालामा भएको फुटबल कान्तिपुर टिभीमा प्रत्यक्ष प्रसारण गरेर उक्त अभियान प्रारम्भ भएको थियो । पछि डा.राजु अधिकारी तथा अर्जुन धरेलजीहरुसँग जोडिएर यसलाई महाअभियान बनाइएको थियो भन्नुहुन्छ उहाँ  । 

पछि उहाँले त्यस बेलाका मुख्य सचिव लीलामणि पौडेललाई यो अभियानमा जोडिन आग्रह गर्नु भएको थियो । बाबुराम भट्टराई र माधव नेपालको प्रधानमन्त्री कालमा पनि जोडिएर असफल भएको हुँदा पौडेल अनकनाई रहनुभएको थियो । तर, उहाँले कलाकारसँग जोडिएर गर्दा असफल होइँदैन भनेर मनाउनुभए पछि यो एउटा देश विदेशमा समेत उदाहरणीय र चर्चित अभियान बनेको थियो । 

भिमदत्तको बेग्लै कथा 

भिमदत्तले किसान आन्दोलन, जातीय विभेद, छुवाछुतका विरुद्ध सुदुर पश्चिममा सशस्त्र आन्दोलन गर्दा त्यसले आन्दोलनको आँधीबेहरी नै ल्यायो । नेपालका शासकले उहाँलाई दबाउन खोजे सकेनन् । त्यसपछि त्यो बेलाका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भारतीय सेना मगाएर नेपाल र भारतको संयुक्त फौजले आक्रमण गर्न लगाए । तर, पनि उहाँ बच्न सफल हुनभयो । पछि उहाँको मितलाई पाँच हजार रुपैयाँ दिने प्रलोभनमा पारी उनै मितद्वारा गोली हान्न लगाएर उहाँको हत्या गरियो । 

हत्या पछि भिमदत्तको टाउको डडेलधुरा प्रशासन अगाडी ल्याएर बाँसमा उनेर सात दिनसम्म काग र किरालाई ठुंगाएर राष्ट्रघातीको हालत यस्तो हुन्छ भनेर २७ वर्षको उमेरमा उहाँको बीभत्स हत्या गरियो । उहाँलाई राज्यले शहीदसम्म घोषणा गरेको रहेनछ । 

सन् १९५० को सन्धिले नेपाललाई दास बनाउँछ भनेर सन्धिका विरुद्धमा थियो भिमदत्तको आन्दोलन । 

यी नै भिमदत्तमाथि उहाँले फिल्म बनाउनु भयो । भिमदत्तलाइ सहिद घोषणा गर्नुपर्छ भन्ने उहाँको एक सूत्रीय माग रहेको थियो । 

शहादत प्राप्त गरेको ६२ वर्ष पछि उहाँको माग अनुसार नै भिमदत्तलाई सहिद घोषणा गराउन सफल हुनुभयो । 

तर, यही फिल्ममा १ करोड २५ लाख डुब्यो उहाँको । 

सिमानामा काँडेतार लगाउने अभियान 

दशगजा बनाउँदै गर्दा उहाँलाई मार्ने देखि पाँच करोडसम्मका अफर आयो लैनचौरबाट । 

राजा वीरेन्द्र तथा मदन भण्डारीको हालत देखेको छस भन्दै लैनचौरका दूत पनि आए उहाँसम्म । बाटोमा आक्रमणको कोसिस पनि भयो उहाँलाई । भारतीय र लैनचौरले उनलाई कालोसूचीमा पनि राखे । 

सीमाको कुरा, ‘सीमाका बासिन्दाका समस्या मेरो व्यक्तिगत समस्या होइन । यसलाई मैले जानेको मेरो क्षेत्रबाट देशको परिस्थिति कस्तो रैछ भनेर  शासकलाई पनि झकझकाउने प्रयत्नमात्र हो । विदेशका र नेपालका नेपालीको देशभक्तिको भावनालाई पनि सम्मान गर्ने मेरो प्रयत्न हो । आज म पाँच करोडमा बिकेँ भने तीन करोड नेपालीको शिर झुक्छ । त्यस कारण पनि म मर्न तयार छु । म झुक्दिन र तीन करोड नेपालीको स्वाभिमानलाई पनि झुक्न दिन्न भन्ने जवाफ दिएँ ती दूतलाई’ नवल भन्नु हुन्छ ।   

दशगजा सिनेमा निर्माण गर्दा उहाँको टिम सुस्तामा सुटिङ गरिरहेको थियो । राति सुत्दा नेपाली र बिहान उठ्दा भारतीय हुने सीमाका नेपालीको पिडा खिच्दै हुनुहुन्थ्यो उहाँ । त्यसबेला भारतीय सीमा सुरक्षा बलले आएर घेरा हालेर बन्दुक तेर्‍स्याए । खुला सीमाका कारण यिनीहरू सोझै हामीसम्म आइपुगे नत्र आइपुग्दैनथे भन्ने लाग्यो उहाँलाई । त्यसपछि सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने सोच पलाएको छ उहाँमा । 

उहाँले अब यसलाई अभियानको रुपमा लाने निधो  गर्नु भएको छ ।  पहिले यसो भन्दा  मान्छेले खिसीट्युरी गरे । तर, अहिले बिस्तारै यो अभियानमा म बाट हामी हुँदै थुप्रै जोडिएकोमा  गर्व महसुस गर्नु हुन्छ ।  

कालापानी, लिपुलेक र लिम्पियाधुरा पछि सीमा जोगाउन अब काँडेतार तथा अध्यागमन कानुन ल्याउनुपर्छ भन्ने राज्यको पनि चेत बिस्तारै पलाएको छ । अहिले पूर्व प्रधानमन्त्रीदेखि बहालवाला मन्त्रीहरूले पनि यसका विषयमा बोलिनुलाई आफ्नो अभियानले बिस्तारै मूर्तरूप लिँदै गएको अनुभूत गरेको बताउनु हुन्छ ।  

यो कोरोना कहरकै बिचमा उहाँ लगायतको टिमले सर्वोच्च अदालतमा यस विषयमा रिट दायर गरेको छ । रिटमा सीमा संरक्षण र सुरक्षा सम्बन्धी कानुन, अध्यागमन सम्बन्धी कानुन र सशस्त्र प्रहरी सम्बन्धी कानुनको माग गरिएको छ । 

भारतले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा लगाए जस्तै यहाँको सशस्त्र प्रहरीलाई पनि कानुन बनाएर सीमा सुरक्षामा लगाउनु पर्‍यो भन्ने अभियानको माग हो । 

यदि राज्यसँग पैसा छैन भने त्यो जिम्मा यसका अभियन्तालाई दिइयोस् र त्यसका लागि हामीसँग भएको पैसा र देशभक्त नागरिकका तर्फबाट श्रमदान समेत गरेर यसलाई सफल बनाउँछौँ भन्ने दाबी निवेदनमा पनि गरिएको उहाँ बताउनुहुन्छ । 

बहसपछि सर्वोच्चले यसका विषयमा सरकारलाई कारण देखाऊ आदेश समेत जारी गरेको छ । सरकारको जवाफको प्रतीक्षामा हुनुहुन्छ अभियन्ताहरू । कमला म्याडमले पहिलो पटक सम्बोधन गरिएको हिरो अब देशकै हिरो हुने अभियानमा निरन्तर बगिरहेको नाम हो नबल खड्का ।