सीताराम नेपाल | साहित्य | श्रावण ३, २०७७
खुट्टी देखियो
बोलिमा स्फूर्ति झनै
बाँझो खेतमा
पिपलु पातै
पहेँलिदै झर्दा त
नेता पो झस्के
उठ्ने बेला यो
घुरेर सुत्नेलाई
समाउ कान
टुट्यो सपना
घात भो विश्वासको
अहङ्कारले
खाल्डो खने थे
शत्रु समन गर्न
खसे रे आफैँ
पलास फूल
सुगन्ध हाल्छु भन्दा
जीवन बित्यो
घुइचो त्यहाँ
हुनेखानेकै फेरि
पुग्दैन दुःखी
सन्तान उता
सन्ताप जति यता
मेरो नियति
निहु नयाँ छ
घरैमा बन्धक छ
जोखाना हेर्छ
ख्यालख्यालैमा
पद दिने र लिने
सामन्ती चाला