मेचीदेखि कालीसम्म पुलको बेहाल, बजेटमा ठेकेदारको मस्ती, जनतालाई सास्ती

मेचीदेखि कालीसम्म पुलको बेहाल, बजेटमा ठेकेदारको मस्ती, जनतालाई सास्ती

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७५

काठमाडौं । संखुवासभा र भोजपुर जोड्न अरुण नदीको लम्सुवाघाटको पुल २५ असार ०७० मै तयार हुनुपर्ने थियो । १३ करोड पाँच लाखमा पुल बनाउन  सम्झौता भएको आठ वर्षसम्म जम्मा सात पिलर ठडिएका छन् । वर्षौंअघि बनेका पिलर खोलाको बहावले काटिएर आफैं रुग्ण बनेका छन् । दुईपटक थपेर सम्झौताको म्याद आठ वर्ष पुर्‍याइएको छ । त्यस्तै, लागत १३ करोड पाँच लाखबाट १६ करोड ६३ लाख पुर्‍याइएको छ ।  पुल कहिले बन्छ निश्चित छैन, तर पुल बने पनि जनताले खोला तर्न नपाउने निश्चित छ । किनकि, खोलाको चौडाइभन्दा पुलको लम्बाइ ८२ मिटर छोटो छ । ‘लम्सुवाघाटमा एक सय ६५ मिटर लामो पुल बन्दै छ, तर नदी फैलिँदै जाँदा दुई सय ४७ मिटर चौडा भएको छ । अहिलेको डिजाइनमा पुल तयार हुँदा नदीको बहावभन्दा ८२ मिटर छोटो बन्छ,’ सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले नयाँ पत्रिकासँग भने, ‘पुल तयार भए पनि प्रयोग सम्भव हुँदैन ।’ थप ८२ मिटर के गर्ने भन्ने अहिलेसम्म टुंगो छैन ।

पश्चिम रुकुमको सानीभेरीमा पुल बनेपछि सदरमुकाम मुसिकोटबाट प्रदेश राजधानी सुर्खेत १६८ किमि टाढा हुन्छ । तर, ०७० मै सम्झौता भएको पुल नबन्दा स्थानीय बासिन्दालाई सुर्खेत पुग्न ३४० किमि यात्रा गर्नुपर्छ । अहिले सुर्खेत जान सल्यान, दाङ, कोहलपुर घुम्नुपर्ने

जुम्लाबाट डोल्पा जोड्न दानसाँघुमा निर्माणाधीन पुल आठ वर्षदेखि अलपत्र छ । ०७१ असारमा सक्ने सम्झौता भएकोमा ०७२ मा डिजाइन गलत भएको पत्ता लागेको थियो । ३ करोडको स्टिमेटमा सुरु गरिएको पुलमा ७ करोड खर्च भइसक्यो, अझै ५ करोड लाग्ने अनुमान छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।